निको भएपछि डा. रोमाले भनिन्- मनोबल उच्च भए कोरोना जित्न गाह्रो छैन

कोरोना संक्रमित भई १४ दिनदेखि आइसोलेसनमा रहकी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत बालरोग विषेशज्ञ डा. रोमा बोरा सोमबार कोरोना संक्रमण मुक्त भएर घर फर्किइन्।

अस्पतालबाट घर फर्किने बेलामा अस्पताल पुगेका आफन्त र शुभचिन्तकसँग आइसोलेसन अनुभव सुनाउँदै आफ्नो मनोबल उच्च राखे सजिलै कोरोनालाई परास्त गर्न सकिने बताइन्।

१४ दिन भेरी अस्पतालको आइसोलेसनमा बसेपछि उनी सोमबार डिस्चार्ज भएकी हुन्। उनले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्, ‘विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमित भइ आइसोलेट भएको पनि आज चौध दिन पूरा भएछ। स्वास्थ्य मन्त्रालयको मापदण्ड पूरा गरी पूर्णरुपमा स्वास्थ भएर म आज घर फर्कदैछु। मेरो स्वास्थ अवस्थाप्रति चासो र चिन्ता गरी प्रत्यक्ष अप्रत्यक्ष रुपमा मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै मेरा आदरणीय व्यक्तित्वहरुमा हार्दिक आभार प्रकट गर्दछु।’

उनी संक्रमित बिरामीको उपचारको क्रममा नै आफू पनि संक्रमित बनेपछि आइसोलेट भएकी थिइन्। आइसोलेसनमा रहँदा मनोबल उच्च राख्न हौसला दिने सबैलाई धन्यवाद दिएकी छन्। ‘सबैले तोकिएको स्वास्थ्य सुरक्षा प्रोटोकल पालना गर्दै मनोबल उच्च राखे कोरोना जित्न गाह्रो छैन’, उनले भनिन्।

आफू संक्रमित भएपछि उनी सुरुमा मेडिकल कलेज शिक्षण अस्पतालले निर्माण गरेको आइसोलेसनमा बसेकी थिइन्। त्यहाँको व्यवस्थापकीय असहजताको कारण भेरी अस्पतालको आइसोलेसनमा पुगिन्। अन्नतः उनले १४ दिनको आइसोलेसन बसाइपछि सहजै कोरोना परास्त गरिन्।
डिस्चार्ज हुँदा डा.रोमालाई भेरी अस्पतालका मेसु डा. प्रकाशबहादुर थापा, सिनियर सर्जन डा. श्यामसुन्दर यादव, मेडिकल विभाग प्रमुख डा. राजन पाण्डे, नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठलगायतले पुष्पगुच्छा दिएर बिदाइ गरेका थिए।

यसैबीच वडा कार्यालयमा नियमित सेवा प्रदान गर्ने क्रममा कोरोना संक्रमित भएका नेपालगञ्ज उप–महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ अध्यक्ष प्रमोद रिजाल पनि सोमबार नै डिस्चार्ज भएका छन्। कोरोना संक्रमण पुष्टि भएपछि सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा रहेका रिजाललाई सोमबार भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, धम्बोझी क्लबका अध्यक्ष देवेन्द्र खडकालगायतले कोरोना जितेकोमा बधाई ज्ञापन गर्दै शुभकामना दिए। रिजालसहित बाँकेका ११ जना निको भइ सोमबार घर फिर्ता भएका छन्।

उनले डिस्चार्ज हुनुअघि आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘बन्द कोठाबाट खुला आकाशमा नयाँ किरणसहित आज ११ बजे घर फर्कदै छु ! सबैमा शुभ बिहानी !’ उनले अघि थपेका छन्, ‘मेरो उपचारमा निरन्तर सहयोग गर्नुहुने मेडिकल टिम, फोन र सामाजिक सञ्जालमार्फत मेरो शिघ्र स्वास्थलाभको कामना गरी कोरोनाविरुद्धको लडाईँमा आत्मबल र हौसला प्रदान गर्नुहुने सम्पूर्ण शुभचिन्तकहरुमा हृदयदेखि आभार तथा धन्यवाद व्यक्त गर्दछु।’

उनले यसका साथै कोरोनाबाट मुक्त हुनको लागि केही सल्लाह समेत सेयर गरेका छन्। ‘नियमित व्यायाम, सन्तुलित र पोषणयुक्त खाना, अनुशासित दैनिकी, प्राकृतिक जीवन पद्धती र दीर्घरोग नियन्त्रण तथा तनाव कम गराउने जस्ता कुराहरुको व्यवहारिक ज्ञान्सहित कोरोना मुक्त भइन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय