गण्डकी प्रदेशभर मंगलबार मध्यरातदेखि निषेधाज्ञा

गण्डकी प्रदेशमा मंगलबार मध्यरातिदेखि निषेधाज्ञा जारी गरिने भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार अपरान्ह बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले गण्डकी प्रदेशका सबै जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

भदौ ७ गतेसम्म प्रदेशमा निषेधाज्ञा गर्ने निर्णय भएको बैठकमा सहभागी प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए।

पोखरामा कडा खालको बन्दाबन्दी गरिने र अरु ठाउँमा मोबिलिटी कम गर्न बन्दाबन्दी गरिने भएको छ।

पोखरामा निषेधाज्ञा गर्ने गरी मेयर मानबहादुर जिसीले प्रसंग उठाए पनि संक्रमण फैलन नदिन प्रदेशभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।

‘कोही काठमाडौं जानुभएको हुनसक्छ। कोही अरु ठाउँमा जानुभएको हुनसक्छ। त्यसैले भोलि एकदिन ग्याप राखेर बन्द गर्ने निर्णय भयो,’ निर्देशक शर्माले भने।

पोखरा महानगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण मूल समितिको बैठकले सोमबार मध्यरातदेखि बन्दाबन्दी गर्ने निर्णय गर्दै जिल्ला सिसिएमसीमा सिफारिस गरेको थियो।

तीज, कुशे औंसीमा भीडभाड हुने र संक्रमण अझ फैलने निष्कर्षसहित महानगरको उक्त समितिले पोखरामा बन्दाबन्दी गरिने जनाएको थियो।
निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन्। त्यसबाहेक  घर बाहिर निस्कन पाइने छैन।

स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन्।

पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको थियो।
पोखराका मेयर मानबहादुर जिसीका अनुसार पोखरा १९ मा तेस्रो कन्ट्याकका व्यक्तिमा कोरोना पुष्टि भएको छ।

पोखरामा सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ सय ४ पुगेको छ। संक्रमितमध्ये १ सय २५ जना निको भएका छन् भने १ को मृत्यु भएको छ।

लकडाउन खुलेयता पोखरामा कोरोना संक्रमितको दर निरन्तर उकालो लागिरहेको छ।

प्रदेशभर १८४ सक्रिय संक्रमित

स्वास्थ्य निर्देशनालय गण्डकीको तथ्यांक अनुसार हाल गण्डकी प्रदेशभर १८४ सक्रिय संक्रमित छन्। कास्की, स्याङ्जा र तनहुँमा सक्रिय संक्रमित बढी रहेको निर्देशनालयले जनाएको छ।

कास्कीमा ८३, स्याङ्जामा ४१ र तनहुँमा ३५ सक्रिय संक्रमित रहेको निर्देशनालयका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए। म्याग्दी, मनाङ र मुस्ताङ संक्रमणमुक्त छन्।

प्रदेशभर १७ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ। तीमध्ये १५ सय ५० संक्रमित निको भएको शर्माले जानकारी दिए।

गण्डकीमा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। स्याङ्जाका २, बागलुङ, कास्की र गोरखाका १÷१ पुरुषको मृत्यु भएको हो।

कोरोना परीक्षण हुँदै आएको क्षयरोग उपचार केन्द्रमा २ साता पहिले अटो एक्स्ट्याक्टर मेसिन जडान भएसँगै गण्डकीमा कोरोना परीक्षण क्षमता बढेको छ। अहिले दैनिक ८ सयभन्दा बढी स्वाब परीक्षण हुँदै आएको छ।

गण्डकीमा अहिलेसम्म ३५ हजार २ सय २४ नमुना परीक्षण भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। गण्डकीका विभिन्न जिल्लाका स्वाब परीक्षणका लागि पोखरा ल्याइने गरेको छ। कतिपय जिल्लाले भने काठमाडौं र अन्त पनि पठाउने गरेका छन्।

कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग केन्द्रमा पिसिआर मेसिन जडान गरिएको छ। कोरोना परीक्षणका लागि दुवै ल्याबमा गरेर २८ प्राविधिक छन्।

क्षयरोग केन्द्रमा पिसिआर जडान गरेर २ महिनाअघि मात्र कोरोना परीक्षण थालिएको हो। क्षेत्रीय अस्पतालको प्रयोगशालामा भने चैत तेस्रो हप्तादेखि परीक्षण हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय