उपत्यकाका २० प्रतिशत संक्रमितमा देखियो लक्षण, थाहै नपाउने स्वाद र गन्ध

पछिल्लो समय कोरोना भाइरसका संक्रमितमा लक्षण धमाधम देखिन थालेको छ।  स्वाद र गन्ध थाहा नपाउने समस्या लिएर अस्पताल आउने क्रम बढिरहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।

‘अस्पताल आएका कतिपय मानिससँग कुरा गर्दा गन्ध र स्वाद थाहा नभएको बताउँदै आएका छन्,’ डा. पुनले भने।  उनका अनुसार स्वाद र गन्धले कुनै पीडा नदिने भएका कारणले पनि मानिसहरू धेरैले यसतर्फ ध्यान दिएका छैनन्।

‘अस्पतालमा आएका अधिंकास मानिसलाई सोधपुछ गर्दा कि त गन्ध वा स्वाद थाहा नभएको भन्छन्,’ डा. पुनले कोरोना संक्रमितले भनेको कुरा सुनाए । पछिल्लो समयमा कोरोना संक्रमितमा यस्तो समस्या बढ्दै गएको उनी मान्छन् ।

कसैलाई गन्ध या स्वाद नै थाहा नभएको अवस्थामा कोरोना संक्रमण छ भनेर शंका गर्नुपर्ने डा. पुन सुझाउँछन्। मौसमी रुघाखोकी र भाइरलको संक्रमण एकैपल्ट भएमा लक्षणहरू कडा हुने उनको तर्क छ। अन्य विभिन्न राष्ट्रको अनुसन्धानले पनि दुवै एकैपल्ट भएको खण्डमा कडा लक्षण हुनसक्ने देखिएको छ,’ डा. पुनले भने, ‘तर, हामीले अहिले कोरोनाका कारणले थप मौसमी रुघाखोकीको छुट्टै परीक्षण गर्न सकेका छैनौं।’

हरेक वर्ष अगस्टको समयमा मौसमी रुघाखोकी बढ्ने हुँदा त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनी बताउँछन्।

उपत्यकाका २० प्रतिशत लक्षणसहित संक्रमित
काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितमध्ये २० प्रतिशतभन्दा बढीलाई कडा खालको लक्षण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताएका छन्।

‘उपत्यकामा लक्षण भएका संक्रमित संख्या बढ्दै गएको देखिन्छ,’ निर्देशक पाण्डेले भने, ‘संक्रमित २ हजारको हाराहारीमा पुगेको अवस्थामा २० प्रतिशतमा कडा लक्षण देखिएको छ।’

फोन गरेर सोध्ने हुँदा अझै आधिकारिक रूपमा तथ्यांक आउन नसकेको महाशाखाले जनाएको छ। ‘हामीले फोन गरेर सूचना लिने गरेका छौं। तर, लक्षण नदेखी अस्पताल जान नपाइने चिन्ताले संक्रमितहरू लक्षण देखिएको छ भन्दै आउनुभएको पाइन्छ,’ उनले हेल्थपोस्टसँग भने, ‘अस्पतालबाट तथ्यांक आएपछि मात्र अझै यकिन हुन सकिएला।’

उनका अनुसार लक्षण देखिएका ४० वर्षभन्दा माथिका रहेका छन्।

संक्रमित आइसियु र भेन्टिलेटरमा जाँदै

यता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल ४८ जना संक्रमितको उपचार भइरहेको छ। त्यसमध्ये १८ जना आइसियु र ६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

उपचाररत अधिकांश संक्रमित दीर्घरोगी रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन्। ‘धेरैजसो प्रेसर, मिर्गौला, दमजस्ता समस्या भएका मानिस संक्रमित रहेका छन्,’ डा. राजभण्डारीले भने, ‘उपत्यकामा संक्रमित बढेसँगै कडा खालको लक्षण भएका केस थपिँदै गएको छ।’

निर्देशक पाण्डेका अनुसार संक्रमितहरूमा स्वाद र गन्ध थाहा नहुनेसँगै खोकी, ज्वरो, रुघाखोकी, श्वासप्रश्वास र झाडापखाला लाग्ने जस्ता समस्या देखिएका छन्।

नेपालमा कोरोना संक्रमित २६ हजार ६ सय ६० पुगेको मन्त्रालयको तथ्यांक छ। हालसम्म १७ हजार ३ सय ३५ जनाले संक्रमण जितेका छन्। १ सय ७ जनाको संक्रमणकै कारण मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय