‘हेल्पिङ बेबी सर्भाइभ तालिम समुदायमा पुग्नुपर्छ’

सिर्जना शर्मा र रेजिना गुरुङ
प्रकाशित
२०७७ साउन ३२ गते १३:४३

नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन् २०३० सम्ममा प्रतिहजार जीवित जन्म १२ र मृत जन्मने शिशुको दर प्रतिहजार जन्मलाई १३ मा घटाउने लक्ष्य अघि सारेकोे छ।

यो लक्ष्य प्राप्तिमा हातेमालो गर्न राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको अगुवाइमा देशका बढी प्रसूति हुने अस्पतालहरूमा हेल्पिङ बेवी सर्भाइभ (एचबिएस) तालिम सञ्चालन हुँदै आएको छ।

एचबिएस तालिमको प्रमुख उद्देश्य अस्पतालअन्तर्गतका मातृ तथा नवजात शिशु स्याहार कक्षमा कार्यरत स्वास्थ्य प्रदायकको ज्ञान तथा सीप अभिवृद्धि गर्दै गुणस्तरीय स्याहार सुनिश्चित गर्नु हो। नवजात शिशुको मृत्युदरमा कमी ल्याउन गुणस्तरीय स्याहारको अपरिहार्यतामाथि विभिन्न अध्ययन अनुसन्धानले प्रकाश पारेको छ।

नेपालमा हरेक वर्ष ६ लाख बच्चा जन्मन्छन्। त्यसमध्ये ११ हजार शिशु मृत अवस्थामा जन्मन्छन् भने करिब १३ हजार नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्छन्। ती शिशुमध्ये करिब १७% जन्मेको पहिलो घण्टामा, ५७% जन्मेको पहिलो दिनमा र ७९% जन्मेको पहिलो हप्तामा मर्छन्।

नवजात शिशुको मृत्युको कारणमध्ये महिना नपुगी जन्मनु (३१%), जन्मनासाथ सास फेर्न नसक्नु (२३%), तथा संक्रमण हुनु (१९%) प्रमुख हुन्। नेपालभित्र पनि प्रदेश ७ मा सबैभन्दा बढी (प्रतिहजार ४१) नवजात शिशुको मृत्यु महिना नपुग्दै हुन्छ। अन्य प्रदेशभन्दा प्रदेश २ र ५ मा प्रतिहजार ३० जना नवजात शिशु मर्ने गरेको नेपाल जनसांख्यिक स्वास्थ्य अनुसन्धान एनडिएचएस २०१६ को तथ्यांक छ।

पहिलो दिन वा पहिलो हप्तामा हुने शिशु मृत्युदरलाई घटाउने साथै पहिलो महिनासम्म हुनसक्ने समग्र मृत्युदर नै घटाउने गरी यस तालिममा विषयवस्तु समावेश गरिएका छन्।

उनी अगाडि थप्छन् ‘यो तालिम वर्थ प्रोसेसमा बढी फोकस छ। यसले जन्मेको पहिलो दिन हुने मृत्युदरमा उल्लेख्य कमी ल्याउने विश्वास गर्न सकिन्छ। नेपाल सरकारले लिएको नवजात शिशुको मृत्युदर कम गर्ने दिगो विकास लक्ष्य प्राप्तिका लागि यो तालिम देशभरका स्वास्थ्य संस्थामा विस्तार हुनुपर्छ।’

प्रसव अवस्थादेखि नै आमाको तथा जन्मेलगत्तै नवजात शिशुको गुणस्तरीय स्याहारका लागि आवश्यक ज्ञान र सीपका विषयवस्तु एचबिएस तालिममा समावेस छन्। यो तालिमको पाठ्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको निर्देशनमा नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) र गोल्डेन कम्युनिटीको सहकार्यमा तयार पारिएको हो।

यसमा अमेरिकन एकेडेमी अफ पिडियाट्रिक्स प्रोग्राममा आधारित विषयवस्तु नेपालको परिस्थिति तथा आवश्यकताअनुरुप समावेश गरिएका छन्।एचबिएस तालिमले जन्मेका बेला शिशुमा कुनै स्वास्थ्य समस्या देखिएमा तत्काल व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई सक्षम बनाउन मद्दत गर्छ।

एचबिएस तालिम पाठ्यक्रममा नवजात शिशुलाई जन्मेको २४ घण्टा र डिस्चार्जपछि घरमा गरिनुपर्ने स्याहार प्रदान गर्ने ज्ञान र सीप, नवजात शिशुमा देखिन सक्ने खतराका चिह्नको समयमै पहिचान तथा तिनको उचित व्यवस्थापन, कम तौल तथा महिना नपुगी जन्मेका शिशुको शारीरिक तामक्रमको व्यवस्थापन गर्ने विभिन्न विधि र शिशुको उचित पोषणका लागि स्तनपान र आवश्यक परेमा विभिन्न वैकल्पिक विधिबाट आमाको दूध खुवाउने विधिबारे ज्ञान तथा सीप प्रदान गरिन्छ।

जन्मिदा निस्सासिएका शिशुको श्वासप्रश्वास तत्काल सुचारु गराउन तथा कालान्तरमा हुने वृद्धिविकासका सुस्तता न्यूनीकरण गर्न जन्मेको एक मिनेट (सुनौलो मिनेट) भित्रै कृत्रिम श्वासप्रश्वास गर्ने विषयमा तालिम र त्यसपछि पनि निरन्तर अभ्यासका लागि सहजीकरण गरिन्छ।

तालिममा सिकेका केही ज्ञान र सीपका कुरा समय बित्दै जाँदा पूर्ण रूपमा स्मरणमा तुरुन्त नआउन सक्छन्। साथै आफूले सिकेका ज्ञान र सीप वार्डमा व्यवहारमा ल्याउँदा ससाना बाधाअडचन आउन सक्छन्। यस पाठ्यक्रमको अन्तिम मोड्युल पिडिएसएले मातृ तथा नवजात शिशुको गुणस्तरीय स्याहारमा बाधाअडचन ल्याउने त्यस्ता समस्याको पहिचान गर्दै कसरी वैज्ञानिक विधिबाट ती समस्या समाधानका लागि समूहगत छलफल (प्लान, डू, स्टडी, एक्ट (पिडिएस) चक्रमार्फत नियमित रूपमा गरिन्छ।

एचबिएसका विभिन्न कार्यमा संलग्न केही विज्ञ तथा अनुभवी व्यक्तित्वसँग हामीले कुराकानी गरेका छौंः

डा. केपी विष्ट बालरोग विशेषज्ञ तथा नेपाल पिडियाट्रिक सोसाइटीका वर्तमान अध्यक्ष हुन्। एचबिएस पाठ्यक्रम विकासमा यो संस्था आबद्ध रहेको थियो। यस तालिमका विषयमा डा. विष्ट भन्छन्, ‘एचबिएस तालिम पाठ्यक्रम अन्तर्राष्ट्रिय क्षेत्रमै मान्यताप्राप्त मोडेल हो। मृत्युको जोखिम बढी भएका शिशुलाई प्राथमिकतामा राखी सेवा दिने सीप र ज्ञान सिकाइने हुँदा यो तालिम महत्त्वपूर्ण छ।’

उनी अगाडि थप्छन् ‘यो तालिम वर्थ प्रोसेसमा बढी फोकस छ। यसले जन्मेको पहिलो दिन हुने मृत्युदरमा उल्लेख्य कमी ल्याउने विश्वास गर्न सकिन्छ। नेपाल सरकारले लिएको नवजात शिशुको मृत्युदर कम गर्ने दिगो विकास लक्ष्य प्राप्तिका लागि यो तालिम देशभरका स्वास्थ्य संस्थामा विस्तार हुनुपर्छ।’

डाक्टर विश्वबन्धु बगाले बालरोग विशेषज्ञ तथा  बकुरलहर रत्ननगर टाँडी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हुन्। उनी एचबिएस तालिमका ट्रेनरसमेत हुन्। बालस्वास्थ्य प्रवर्धनका लागि सञ्चालनमा ल्याइएका यसअघिका तालिम भन्दा यो तालिम केही फरकमात्र हैन महत्त्वपूर्ण रहेको उनी बताउँछन्।

‘बाल स्वास्थ्य संरक्षण तथा सम्वद्र्धनका लागि समुदाय तथा स्वास्थ्य संस्थामा आधारित विभिन्न किसिमका तालिम यसअघि पनि नभएका हैनन्। ती तालिम जन्मेदेखि ५ वर्षसम्मका बालबालिका खोप पोषण, शिशु जन्मेको बेलाको अत्यावश्यक स्याहार, २ वर्षसम्मका शिशुको बिरामी तथा सिकिस्त अवस्थाको उपचार जस्ता सेवामा केन्द्रित थिए। एचबिएस तालिम पाठ्यक्रममा विषयवस्तु थोरै, तर फोकस्ड छन्।

शिशु जन्मेको पहिलो दिन गर्नुपर्ने अति आवश्यक स्याहारका विषयमा केन्द्रित यो तालिम प्रसूति तथा नवजात शिशु वार्डमा कार्यरत सबै स्वास्थ्यकर्मीलाई दिइन्छ। तालिमले सैद्धान्तिक ज्ञान मात्र नथोपरी नवजात शिशु स्याहारसम्बन्धी सीपको विकास समेत गर्ने भएको हुँदा स्वास्थ्यसेवा प्रदायकले तालिममा सिकेका सबै कुरा तुरुन्त प्रयोगमा ल्याउँछन्।

यो तालिममा नवजात शिशुलाई गुणस्तरीय सेवा दिन कक्षमा के कस्ता समस्या छन् तिनको पहिचान र समाधान गर्न पिडिएस विधि अपनाइन्छ। तालिमका यी विशेषताले गर्दा यो तालिम विशेष छ।

डा विश्वबन्धु बगाले भन्छन्, ‘नवजात शिशुको मृत्युदर कम गर्ने अभियान नेपाल सरकारको प्राथमिकतामा रहेको कार्यक्रम हो। ग्रामीण भेगका ठूलो जनसंख्या बर्थिङ सेन्टरमा प्रसूति गराउन जाने हुँदा एचबिएस तालिम हस्पिटल लेभलमा मात्र सीमित नभई कम्युनिटीका वर्थिड सेन्टरसम्म पुग्नुपर्छ। प्रमुख केन्द्रका अस्पतालमा मात्रै सीमित रहँदा नवजात शिशु मृत्युदरमा कमी ल्याउने वास्तविक उद्देश्य पूरा हुन सक्दैन।’

लुुम्बिनी प्रदेश अस्पतालकी मेट्रोन ज्योति पौडेलले एचबिएस तालिम २०७७ असारमा लिएकी थिइन्। तालिमबारे उनी भन्छिन्, ‘एचबिएस तालिम भर्खर जन्मेका शिशुको स्वास्थ्य स्याहारका लागि अत्यन्त प्रभावकारी लाग्यो। तालिमपछि सिकेका ज्ञान र सीपलाई तुरुन्त व्यवहारमा ल्याउन सकिएको छ। जन्मदा नरोएका शिशुलाई कृत्रिम श्वासप्रश्वास गराउन, जन्ममै तौल कम भएका शिशुको स्याहार सम्बन्धी सेवा दिन सजिलो भएको छ। समग्रमा यो तालिमले प्रसूति वार्डको व्यवस्थापनमा राम्रो सहयोग पुगेको छ।’

ज्योति भन्छिन्, ‘लुम्बिनी प्रदेश अस्पतालमा एचविएस तालिम सकिएको २ महिनामात्र भएको छ। सबै कक्षमा हामीले सकारात्मक परिवर्तन महसुस गर्न थालेका छौं। स्टाफहरू हौसलापूर्वक काममा लागेकाले यस अस्पतालमा नवजात शिशुको मृत्युदर उल्लेख्य रूपमा घटाउन सकिन्छ भन्नेमा हामी विश्वस्त छौं।’

सुमित्रा देवकोटा भरतपुर अस्पताल प्रसूति वार्डकी स्टाफ नर्स हुन्। उनी १९ वर्षदेखि नर्सिङ सेवामा कार्यरत छिन्। आफ्नो सेवाकालमा उनले बेसिक लाइफ सपोर्ट, एचबिबी, एमएनसिएच (४७ दिने तालिम जापानबाट) जस्ता तालिम पाएकी थिइन्। गत वर्ष उनले एचबिएस टिओटीसमेत पाइन्।

सुमित्राले आफ्नो सेवाकालमा अनगिन्ती प्रसूति गराइसकेकी छन्। एचबिएस तालिम लिएपछि मात्र उनले करिब १०० जनाको प्रसूति गराइसकेकी छन्। एचबिएस तालिमबारे आफ्नो अनुभव सुनाइन्, ‘समयअनुसार हरेक कुरा परिवर्तन भइरहेको हुन्छ। प्रसूति तथा नवजात शिशु स्याहार सेवामा पनि केही समययता धेरै परिवर्तन आएको छ। यस्ता तालिम पाउँदा हामी रिफ्रेसमात्र हुने नभई स्वास्थ्य सेवामा परिमार्जित भएका सीप र ज्ञानका कुरा सिक्न र व्यवहारमा ल्याउन सक्षम हुन्छौं।’

‘एचबिएस तालिम सैद्धान्तिक मात्र नभएर सीपमूलक ज्ञानमा आधारित भएकाले तालिममा सिकेका कुरा तुरुन्त व्यवहारमा ल्याउन हामी सफल भएका छौं। पहिला हामी जन्मनासाथ शिशु नरोएमा ब्यागिङ, सक्सनिङ, स्टिमुलेसन गथ्र्यो।

यसो गर्दागर्दै लामो समय घर्किसकेको हुन्थ्यो। तालिमपछि हामीले जन्मदा निसासिएका तथा नरोएका शिशुलाई जन्मेको एक मिनेटभित्रै ब्याग एन्ड मास्क गर्न थालेका छौं। स्किन टु स्किन कन्ट्रयाक्ट तथा जन्मेको एक घन्टाभित्रै आमाको दूध चुसाउने विधि पनि व्यवहारमा ल्याएका छौं। यो तालिममा हामीले आफ्नो कार्यकक्षको समस्या पहिचान र सुधार गर्ने पिडिएसए जस्ता आधुनिक विधिबारे पनि जानकारी पाएका छौं।

हाल हामी महिनाको एक पटक पिडिएसए मिटिङ गरी नवजात शिशु स्याहार कक्षभित्र केकस्ता समस्या छन् र तिनको समाधान कसरी गर्ने भन्ने कुरा आफै पत्ता लगाउँछौं। यो विधिले अरुको मुख नताकी सानातिना समस्याको हल आफूभित्रबाट गर्न जान्यौं। यसले हामीलाई सेवा प्रदान गर्न सहज भएको छ। यसको साथै तालिमपछि सेवा दिन केही आधुनिक उपकरण पनि पाएका छौं। यो तालिमपछि गएको ६ महिनायता भरतपुर अस्पतालमा शिशु मृत्युदर तथा मृत जन्मने शिशुदरमा उल्लेख्य कमी आएको छ।’

एचबिएस तालिम हाल ७ प्रदेशका ८ वटा सरकारी अस्पतालमा सञ्चालन भइरहेको छ। यी अस्पताल कोशी अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती अस्पताल र डडेलधुरा अस्पताल हुन्।

सुमित्रा भन्छिन्, ‘जन्मेका दिन गर्नुपर्ने अत्यावश्यक शिशु स्याहरका लागि एचबिएस तालिम हामीलाई अत्यन्त उपयोगी लागेको छ। सरकारी क्षेत्रको एकल प्रयासले मात्र कुनै पनि कार्यक्रम समयमै सफल हुन कठिन हुन्छ। यो तालिमलाई समुदाय स्तरसम्म पु¥याउन सरोकारवालाको पनि निरन्तर प्रयास रहेमा समुदायका आमा तथा नवजात शिशुको अकाल हुने मृत्युदरमा ठूलो कमी आउनसक्छ।’

एचबिएस तालिमबारे आफ्नो धारणा व्यक्ति गर्दै राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. यदुचन्द्र घिमिरे भन्छन्, ‘यस तालिमको अर्को महत्वपूर्ण पक्ष भनेको मातृ शिशु स्याहारमा भएका असहजता हटाउन आफ्नै तह र क्षमताले सम्भव बनाउने पिडिएसए विधि पनि पाठ्यक्रममा रहेको हुँदा यो तालिम राम्रो सावित भएको छ।’

तालिमको प्रभावकारिताका विषयमा डा. घिमिरे भन्छन्, ‘जिल्लाका विभिन्न अस्पतालमा सञ्चालन गरिएका एचबिएस तालिम गुणस्तरीय तथा प्रभावकारी भएको कुरा यस केन्द्रबाट अनुगमनमा गएका प्रतिनिधिबाट थाह भएको छ। यो तालिम टार्गेट भर्सेस आउटकममा आधारित भएकाले राम्रो छ।’

एचबिएस तालिमलाई आउँदा दिनमा राष्ट्रिय तालिम केन्द्रले स्वामित्व ग्रहण गर्ने सोचबारे निर्देशक डा. यदुचन्द्र घिमिरे भन्छन्, ‘नवजात शिशु स्वास्थ्य कार्यक्रम राष्ट्रको प्राथमिकतामा परेकाले तिनको स्वास्थ्य सुरक्षामा कार्यरत स्टाफलाई यस किसिमको तालिम प्रदान गर्दा ठूलो संख्यामा नवजात शिशु लाभान्वित हुनेछन्।

उपयोगिता प्रमाणित सँगै यस्ता तालिमलार्ई सरकारले ढिलोचाँडो ग्रहण गर्नैपर्ने हुन्छ। यस विषयमा हामी सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासँग छलफल गरी अगाडि बढने छौं।’

एचबिएस तालिम हाल ७ प्रदेशका ८ वटा सरकारी अस्पतालमा सञ्चालन भइरहेको छ। यी अस्पताल कोशी अस्पताल, जनकपुर अस्पताल, भरतपुर अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल, प्रदेश अस्पताल कर्णाली, सेती अस्पताल र डडेलधुरा अस्पताल हुन्।

नवजात शिशु तथा मृत शिशु संख्यामा कमी आएको तथ्यांकको आधारमा यो तालिम जिल्लाका अन्य अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र तथा हेल्थपोस्टमा समेत विस्तार हुने आशा राखिएको छ।

लेखिकाहरु गोल्डेन कमिटिसँग आबद्द रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय