अब ३० मिनेटमै कोरोना परीक्षण

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरसको द्रुत परीक्षण सेवा सुरु भएको छ। अस्पतालको आकस्मिक उपचारमा आउने बिरामीलक्षित गरी यो सेवा सुरु गरिएको हो।

नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत उपलब्ध जिन एक्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्सपर्ट एक्सप्रेस सार्स कोभ–टु परीक्षण सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।

द्रुत परीक्षण सेवाको प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले शुक्रबार मेसिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवा सुरु गरे।

यो सेवासँगै अस्पतालमा आउने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका अन्य बिरामीको उपचार सहज हुने उनले बताए। यसले चिकित्सकमा कोरोना संक्रमणसमेत कम हुने बताए।

सेभ द चिल्ड्रेनका वरिष्ठ कार्यक्रम व्यवस्थापक निमबहादुर सिंहले यो विधि निकै प्रभावकारी र गुणस्तरीय भएको बताए।

अस्पतालमा उपचारमा आउने आकस्मिक भर्ना भएका कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका क्षयरोगी तथा एचआईभी संक्रमितको परीक्षणमा प्राथमिकता दिइने उनले बताए।

कार्यक्रममा अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालमा पहिले नै उपलब्ध ल्याबको सेवा विस्तार गरिएको बताए। क्षयरोगीको परीक्षण हुँदै आएको जिन एक्सपर्ट मेसिनको कार्टेजसँगै बायोसेफ्टी क्याबिनेट थप गरेर कोभिड–१९ को परीक्षण सुरु गरिएको उनले बताए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले मेसिनबाट कोभिड–१९ का शंकास्पद बिरामीको रिपोर्ट पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा नै उपलब्ध हुने हुँदा यो धेरै प्रभावकारी भएको बताए।

अस्पतालका बिआर टिभी क्लिनिङ इन्चार्ज सत्यराज शाक्यले क्षयरोगी र एचआईभी संकमितलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिइने बताए।

अन्य मेसिनको तुलनामा यसले छिटो रिपोर्ट दिने हुँदा प्रभावकारी भएको उनले बताए। यो निःशुल्क सेवा भएको हो। कोभिडका शंका भएका मधुमेह, मिर्गौला, क्षयरोगी र एचआईभी संक्रमितलाई प्राथमिकता दिने उनले बताए।

अमेरिकाले बनाएको यो मेसिनले करिब अढाइ महिनाअघि विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय