कोरोना रिपोर्टको चक्करमा पखालाले चुँड्यो कलिलो ज्यान

बारागढी गाउँपालिका–२ का १३ वर्षीय बालक सुशील साहलाई केही दिनदेखि झाडापखाला लागिरहेको थियो।

कोरोना संक्रमणले सन्नाटा छाइरहेको वीरगन्जमा उपचार गर्न कहाँ लैजाने? केही दिन परिवारले कतै लगेन ।

सुशील झाडापखालाले गल्दै गर्दा उनलाई परिवारले वीरगन्ज ल्याए। अस्पताल चाहार्दा चाहार्दा थाकिसकेका उनीहरूले सुशीललाई अन्तिममा नेसनल मेडिकल कलेजको शिक्षण अस्पतालमा पुर्‌याए।

आइतबार राति उनीहरू नेसनल मेडिकल कलेज पुगेका थिए। अस्पतालले सुशीललाई भर्ना त लिने तर, पिसिआर परीक्षण गराएर त्यसको रिपोर्ट आएपछि मात्रै बिरामीको उपचार गर्ने भन्यो।

झाडापखालाले गलिरहेका सुशीललाई स्वाब परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशाला पुर्‌याइयो।

सरकारी अस्पताल नारायणी ३८ जना स्वास्थ्यकर्मीमा संक्रमण भएपछि अहिले बन्द छ। यहाँको प्रयोगशाला मात्रै कोरोना परीक्षणका लागि खुला राखिएको छ।

अब सुशीललाई कहाँ भर्ना गर्नेरु आफन्तले जिल्ला प्रहरी कार्यालयमा फोन गरेर हारगुहार गरे।

जिल्ला प्रहरी प्रमुख गंगा पन्तले नेसनल मेडिकल कलेजमै लैजान भनिन्। त्यहाँ उनले फोनै गरेर बिरामी भर्ना गर्न र उपचार गर्न भनिन्।
सोमबार बिहान नेसनल मेडिकल कलेजले बिरामी त राख्यो तर, ‘रिपोर्ट नआउँदासम्म’ उपचार सुरु नै गरेन।

यो अस्पतालका सञ्चालक बसुरुद्दिन अन्सारीको हो। उनी तत्कालीन नेकपा एमालेका तर्फबाट वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार थिए।

अस्पतालका स्टाफले नाकमा एउटा अक्सिजनको पाइप घुसाएर छुट्टै कोठामा सुशीललाई मात्रै एक्लै राखिदिए।

उनलाई कोही पनि हेर्न गएनन्।

‘हामीले बिरामीलाई त्यसरी एक्लै छुट्टै कोठामा नराख्नुहोस् भन्यौं तर, कसैले सुनेन,’ सुशीलका भिनाजु उपेन्द्र साहले भने, ‘डाक्टर आउनुहुन्छ, आउनुहुन्छ भने तर कोही आएनन्। कसैले हेरेनन्।’

रातभरि पनि कसैले हेरेनन्। सुशीललाई कोठामै थुनिरहे।

सुशीलका आफन्त मंगलबार बिहान कुरिरहेका थिए, उनको कोरोना रिपोर्ट।

तर, धेरै ढिला भइसकेको थियो।

कोरोना रिपोर्ट नेगेटिभ आयो, यता अस्पतालको अँध्यारो कोठामा रातभरि एक्लै छट्पटिएर सुशीलको मृत्यु भयो।

अस्पतालले एकातिर उपचार गरेन अनि पैसा पनि लियो। बिरामीको ज्यान पनि गयो।

‘चेकजाँच गर्दा लगाउनुपर्छ भनेर कलेजले दुई सेट पिपिई किन्न भन्दै हामीसँग पैसा पनि लग्यो’ सुशीलका भिनाजु उपेन्द्रले भने ‘उपचार गरेको भए ऊ बाँच्थ्यो होला, कोरोना रिपोर्ट भन्दै रातभरि एक्लै बिरामीलाई कोठामा थुनेर राखे।’

उनका अनुसार मंगलबार बिहान उनको कोरोना रिपोर्ट नेगेटिभ त आयो तर, सुशील बाँचेनन्।

पत्रकारलाई उल्टै धम्की

झाडापखालाको बिरामीले अस्पतालमै उपचार नपाएर मृत्यु भएको खबरपछि त्यहाँ पुगेका आयोमेल संवाददातासँग प्रशासनले सूचनामात्रै लुकाएन, दुर्व्यवहार पनि गर्‌यो।

घटनाका बारेमा बालकको आफन्तसँग कुराकानी गरिरहेका बेला अस्पतालका केही मान्छे आएर संवाददातालाई नियन्त्रणमा लिएर मोबाइलसमेत खोसिदिएका थिए।

प्रहरी र नेपाल पत्रकार महासंघ पर्साले पहल गरेपछि अस्पताल प्रशासनले मोबाइल फिर्ता त दियो तर, खिचिएका फोटा र भिडियो सबै डिलिट गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय