प्रदेश १मा ६० हजारको काेराेना परीक्षण गर्दा , १५ सयमा संक्रमण पुष्टि

प्रदेश १ मा हालसम्म ६० हजार ६ सय ८० वटा पिसिआर नमुना परीक्षण गरिएको छ।

प्रादेशिक ल्याव विराटनगरका प्रमुख जयवेन्द यादवका अनुसार धरान र विराटनगरका ३ ल्यावमा भएका उक्त परीक्षणमध्ये प्रदेश १ भित्रकै नागरिकको ५६ हजार ४ सय १६ र प्रदेश १ बाहिरका ४ हजार १ सय ७४ नमुुना परीक्षण भएको हो।

यादवका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८ हजार ८ सय ७, कोशी अस्पताल विराटनगरमा २२ हजार ३ सय ५२ र प्रदेश प्रयोगशाला विराटनगरमा १९ हजार ५ सय २१ पिसिआर परीक्षण भएका हुन्। यो तथ्यांक गत चैत १८ गतेदेखि साउन २७ गते सम्मको हो।

परीक्षण गरिएकामध्ये १ हजार ५ सय ६३ को रिपोर्ट पोजेटिभ आएको छ। ५४ हजार ८ सय ५३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

यादवका अनुसार प्रदेश १ मा उपचाररत संक्रमितममध्ये ८ जनाको मृत्यु भईसकेको छ। जसमध्ये २ जना प्रदेश २ का हुन भने प्रदेश २ का ६ जना रहेका छन्।

प्रदेश १ को मोरङमा १६ हजार ९ सय ४२ जनाको पिसिआर परीक्षण गरिएकामा ६ सय ५७ जना संक्रमित फेला परेका छन्।

यो सबैभन्दा बढी तथ्यांक हो। त्यस्तै मोरङकै विराटनगर महानगरपालिका क्षेत्र भित्रका ९ हजार ६ सय ८० को परीक्षण भएकोमा ३ सय ४३ जना कोरोना संक्रमित भेटिएका छन्।

समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख डा.सुरेश मेहताले प्रदेश १ मा रहेका तीनवटा प्रयोगशालाले दैनिक १ हजार ५ सय स्वावको परीक्षण गर्न सक्ने क्षमता रहेको जानकारी दिए।

झापाको मेची अञ्चल अस्पतालको ल्याव सञ्चालनको तयारीमा रहेको उनले बताए।

‘मेचीको ल्याव सञ्चालनमा आएपछि परीक्षण क्षमता अझै बढ्ने छ’ डा. मेहताले भने।

प्रदेश प्रयोगशालाका निर्देशक यादवले प्रदेश प्रयोगशाला विराटनगरमा १ हजार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ९ सय, कोशी अस्पताल विराटनगरमा ८ सय ५० स्वाव होल्डमा रहेको जानकारी दिए।

उनले दैनिक ७ सय स्वाव होल्डमा हुने गरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय