उपचाररत बिरामी निकाल्न जानकी सिटी अस्पतालको दबाब

उपचारको लागि भर्ना भएका एक वृद्धलाई कोरोना भाइरसकाे रिपाेर्ट  पोजेटिभ आएपछि जनकपुरको एक निजी अस्पतालले बाहिर निकाल्न दबाब दिइरहेकाे छ।

धनुषाको रमदैया भवाडीस्थित जानकी मेडिकल कलेजको जनकपुरस्थित सिटी अस्पतालले कोरोना  पोजेटिभ आएलगत्तै भर्ना भएका वृद्धलाई बाहिर जान दबाब दिइरहेको हो।

धनुषाको मिथिला नगरपालिकाका ढल्केबर बस्ने ६० वर्षीय एक वृद्ध उपचारका लागि शनिबार सिटी अस्पतालमा भर्ना भएका थिए। प्रादेशिक प्रयोगशाला जनकपुरमा स्वाब परीक्षण गर्दा सोमबार पोजेटिभ रिपोर्ट आएको छ। कोरोना संक्रमण पुष्टि भएको भन्दै अस्पतालले आइसियूमा भर्ना ती वृद्धका आफन्तलाई तत्काल अन्य व्यवस्था गर्न दबाब दिइएको छ।

वृद्धका आफन्तले प्रदेश सरकारले सञ्चालन गरेको कोभिड अस्पतालमा भर्ना गर्न प्रयास गरिरहे पनि सम्बन्धित निकायले चासो दिएको छैन। बाबुलाई कोरोना पोजिटिभ आइसकेपछि जानकी मेडिकल कलेजको सिटी अस्पतालका प्रशासनले तत्काल अन्य व्यवस्था गर्न दबाब दिइरहेको वृद्धका छोरा जितेन्द्र शर्माले बताए।

‘रक्तचापको समस्या आएपछि उपचारका लागि एम्बुलेन्समा काठमाडाैं लगिरहेका थियौं, बर्दिवास पुगेपछि उहाँ अचेत हुनुभयो,’ जितेन्द्रले भने, ‘त्यसपछि त्यहाँबाट फर्केर सिटी अस्पतालमा भर्ना गर्यौं, उहाँलाई आइसियूमा राखियाे।’

काठमाडाैं लग्न पिसिआर रिपोर्ट जरुरी भएकाले व्यक्तिगत रूपमा आफैंले स्वाब परीक्षण गर्न लगाएको भन्दै  पोजेटिभ रिपोर्टबारे अस्पताललाई जानकारी गराएको बताए। रिपोर्टबारे अस्पताललाई जानकारी गराइसकेपछि आइसियूमा भर्ना बाबुलाई तत्काल बाहिर लैजान दबाब दिइरहेको शर्माले बताए।

अस्पतालले मंगलबार बिहान ६ बजेसम्मको अल्टिमेटम दिएको उनको भनाइ छ। आइसियूमा भर्ना बाबुको स्वास्थ्य अवस्थाबारे अस्पतालले कुनै जानकारीसमेत नदिएको शर्मा बताउँछन् ।

प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा भर्ना गर्नबारे सम्पर्क गर्दा आइसोलेसनमा बेड खाली नरहेको जवाफ सुन्नुपरेको परेको उनले बताए। कोभिड अस्पतालमा भर्ना गरिए पनि त्यहाँ आइसियूको सुविधा नरहेकाले समस्या आउनसक्ने उनको भनाइ छ।

यता सिटी हस्पिटलले आइसियूमा तीनजना अन्य बिरामी भर्ना भएकाले बिरामी र कुरुवाको सुरक्षाका लागि कोरोना पोजिटिभ देखिएका ती वृद्धलाई सार्नुपर्ने तर्क गरेको छ।

कोरोना पोजेटिभ देखिएका ती वृद्धलाई कोभिड अस्पतालमा व्यवस्थापन गर्न पहल गरेका नेपाल तरुण दल धनुषाका उपसभापति राकेश विक्रम साहले यस विषयमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशकलाई सम्पर्क गर्न खोज्दा फोन नउठेको बताए।

कोरोना महामारी सुरु भएको पाँच महिनासम्मपनि  प्रदेश र स्थानीय सरकारले आवश्यक व्यवस्थापन गर्न नसक्नु दुःखद रहेको उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय