‘३ करोड भेन्टिलेटर र आइसियु बनाए पनि सबैलाई जोगाउन सकिँदैन’

मुलुकका विभिन्न जिल्ला र बस्तीमा समूहमा सीमित कोरोना भाइरस संक्रमण उपत्यका भित्रिएसँगै समुदायमा फैलिएको आधार देखिइरहेको छ। संक्रमणको ग्राफ उक्लिए पनि महामारी नियन्त्रणको रणनीति खासै बदलिएको छैन।

संक्रमणको भार बढेसँगै त्यसको सामना गर्ने साधन–स्रोत एवं क्षमता सरकारसँग कति छ, निजी क्षेत्रसँगको सहकार्य र सहभागितामा के काम भइरहेको छ? जस्ता विषयमा स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीसँग हेल्थपोस्टनेपालका लागि पुष्पराज चौलागाईंले गरेको कुराकानी :

कोरोना संक्रमणको अहिलेको अवस्थाबारे सरकारको बुझाइ के हो?

नेपालमा कोरोना संक्रमणको अवस्था पछिल्ला दिनमा बिग्रिँदै गएको छ। संक्रमणको आँकडामात्रै होइन प्रवृत्ति पनि बदलिँदै गएको छ तर हामीले यो समयमा जति संक्रमण हुन्छ भनेर आँकलन गरेका थियांै। त्योभन्दा निकै कम संक्रमण रहेको छ। पहिला बाहिरबाट आउने केसको अवस्थामा थियौं। ती केस बिस्तारै–बिस्तारै क्वारेन्टाइनमा, क्वारेन्टाइनसँग सम्पर्कमा आएका व्यक्तिमा संक्रमण पुष्टि भयो। अहिले पछिल्लो अवस्थामा ठाउँ विशेषअनुसार ‘क्लस्टर’ अफ केसको अवस्थामा रहेका छौं। यसले जुनखालको प्रवृत्ति देखाउँदै छ, अलि समस्या देखाउँदै गएको छ। यसैगरी नै समस्या देखिँदै गयो भने बिस्तारै समुदायस्तरमा जाने अवस्था आउला तर अहिले नै समुदायस्तरको संक्रमणको अवस्थामा पुगेको छैन।

अहिले परीक्षणको दायरा केही फराकिलो बनेको छ। यो काम अलि पहिला गर्नुपर्थ्यो भन्ने लाग्दैन?

परीक्षणलाई हामीले प्राविधिक पक्षबाट हेर्नुपर्दछ। दुई प्रतिशतभन्दा कम पोजेटिभ भेटिएको अवस्थामा परीक्षणको दायरा बढाउनुको अर्थ छैन। १२ प्रतिशतभन्दा बढी परीक्षण गरिएकामध्ये पोजेटिभ हुँदै जाने हो भने त्यसमा हामीले अर्को तरिकाले सोच्नुपर्ने हुन्छ। अहिले हामीकहाँ परीक्षण गरिएका मध्ये चार–पाँच प्रतिशतमा पोजेटिभ भेटिएको छ। जुन एकदमै नराम्रो अवस्था हैन। संक्रमणको मध्यम अवस्थामा रहेका छौं।

हामीले अगाडि नै धेरै परीक्षण गरेको भए, हाम्रो आउने प्रतिशत कम नै हुन्थ्यो। जुन हुँदा स्रोतको दुरुपयोग बढी हुन्थ्यो। एक व्यक्तिले अर्को व्यक्तिलाई सार्ने सम्भावना भनेको १० दिनको समय हो। १० दिनको हिसाबमा हामीले टुक्राटुक्रा पारेर हेर्दा जुन रेसियो छ, प्राविधिक तथा आर्थिक हिसाबले राम्रै छ। पछिल्लो समय सर्वसाधारणले जनस्वास्थ्य मापदण्डको पालना गर्न कठिनाइ भएको देखिन्छ।

संक्रमण रोक्नका लागि परीक्षणमात्र ठूलो कुरा हुँदैन। सबैभन्दा पहिला परीक्षण गर्दा संक्रमण पुष्टि नहुने अवस्था बनाउनुपर्दछ। जसका लागि प्रत्येक नागरिकले जनस्वास्थ्यको मापदण्ड पालना गर्न जरुरी हुन्छ। सबै संक्रमितलाई अस्पताल लगेर उपचार गर्न सम्भव छैन। सबैभन्दा पहिलो प्राथमिकता रोकथाम नै हो। जनस्वास्थ्यको मापदण्ड नै पालना नै मुख्य रोकथामको उपाय हो।

कोरोना कसरी सर्छ, कस्तो व्यक्तिलाई जोगाउनुपर्छ, कसरी बँच्नुपर्छ भन्नेजस्ता ज्ञान चाहिँ थाहा छ। तर, व्यवहारमा अपेक्षा गरेअनुसार कम भइरहेको देखिन्छ। जसको परिणाम संक्रमणको दर बढिरहेको देखिन्छ।

संक्रमणको संख्या घटेर सयभन्दा कम संख्यामा झरिसकेको थियो तर फेरि दैनिक ४–५ सय हाराहारीमा पुगिसकेको छ। यसले के संकेत गर्छ?

बीचको समयमा संक्रमण कम संख्यामा रहेको थियो। त्यसलाई स्वास्थ्य मन्त्रालयले पूरै जोखिम न्यून भयो वा शून्य भइसक्यो भनेका थिएनौं। जोखिम त्यति बेला पनि रहेको थियो। कम संख्या हुँदा पनि यसको ‘पिक’ आउँछ भन्ने हामीले आँकलन पनि गरेका थियौं। सामाजिक, आर्थिक तथा जनजीवनमा मानिसमा आएको कठिनाइको हिसाबले सबै स्थितिलाई विचार गरेर बन्दाबन्दीलाई व्यवस्थित गर्दै खोल्नुपरेको हो।

पछिल्लो समयलाई हेर्दा सर्वसाधारणको बुझाइ कोरोनाको जोखिम पूरै घटेर सरकारले लकडाउन खुला गरेको हो भनेजस्तो देखिन्छ। पहिला–पहिलाका दिनमा चार्डपर्व जसरी मनाउने गरेका थियौं। त्यस्तै अवस्था आइसक्यो भन्ने बुझाइ अलि–बढ्दै गएको व्यवहारमा देखिन्छ। कोरोना कसरी सर्छ, कस्तो व्यक्तिलाई जोगाउनुपर्छ, कसरी बँच्नुपर्छ भन्नेजस्ता ज्ञान चाहिँ थाहा छ। तर, व्यवहारमा अपेक्षा गरेअनुसार कम भइरहेको देखिन्छ। जसको परिणाम संक्रमणको दर बढिरहेको देखिन्छ।

हामीसँग जनधनत्व बढी भएका तराईका जिल्ला, भारतीय सीमा छेउका सहर, नाकामा समुदायस्तरमा नै संक्रमण धेरै भइरहेको छ। त्यस्तो ठाउँमा सरकारले लकडाउन नै गरेर बढी सर्तकता अपनाएको छ। हाम्रो त्यहीसँग रहेका सीमावारिका मानिस जथाभावी हिँडिरहेका छन्। जनस्वास्थ्यका मापदण्ड नअपनाएको प्रवृत्ति भएर समस्या बढी भएको देखिन्छ।

बढी जनसंख्या भएको उपत्यकामै संक्रमण दिनदिनै उकालो लागेको छ। उपत्यका अस्पताल भरिभराउ छन्। अब यसलाई व्यवस्थित गर्न तयारी के छ?

उपत्यकाभित्र संक्रमण केस बढ्दै गएको छ। अहिलेसम्म सबै संक्रमित केसलाई अस्पताल लैजाने टे«न्डमा नै थियौं। समाजमा अलि बढी त्रसित भएको अवस्थामा बिस्तारै मानिसलाई मत्थर पार्नका लागि हरेक केसलाई अस्पताल लैजाँदै गयौं। पछिल्लो समय सबै केसलाई अस्पताल लैजानुपर्दैन। सामान्य लक्षण भएकालाई पनि घरमा सबै मापदण्ड पुग्छ भने स्थानीय स्वास्थ्यकर्मीको निगरानीमा बस्न सक्ने व्यवस्था गर्दै जानुपर्छ। जुन काम हामीले सुरु पनि गरिसकेका छौं।

कोही व्यक्तिको घरमा सबै मापदण्ड पुग्दैन र बस्न सक्ने अवस्था छैन भने सरकारले तोकेका केही आइसोलेसन सेन्टरमा लगेर राख्ने र लक्षण भएका अस्पताल नै लगेर रणनीति बिस्तारै परिर्वतन गर्दैछौं। निजी क्षेत्र अस्पताल र विभिन्न सार्वजनिक निकाय बेडसहितका तालिम केन्द्र छन्। त्यहाँ छुट्टै राख्न सकिन्छन्। जनस्वास्थ्यका सबै मापदण्ड पालना गरेर राख्न सकिन्छ, त्यस्ता ठाउँमा लक्षण भएका र नभएका व्यक्तिलाई स्वास्थ्यकर्मीका निगरानीमा राख्ने ती ठाउँलाई उपयोग गर्ने गरी काम अगाडि बढाएका छौं।

समुदाय स्तरमा संक्रमण फैलिने कुरा धेरै मापदण्ड हेर्नुपर्ने हुन्छ। नेपालमा समुदाय स्तरमा संक्रमण छ भर्नका लागि पोजेटिभहरूको प्रतिशत जुन छ, त्यो धेरै माथि हुनुपर्छ। त्यो हामीले परीक्षण गरेको मध्ये कम नै छ।

निजी क्षेत्रका अस्पताललाई हब अस्पतालको मातहतमा जनशक्ति, उपकरण, बेडहरू कसरी परिचालन गर्ने भनेर छलफल गरेका छौं। निजी अस्पताल क्षमता के–कति छ भनेर पहिचान गरेर राखेका छौं। ती अस्पताललाई नै चाँडै सञ्चालनमा ल्याउँछौं। संक्रमित केस बढ्दै गए स्वास्थ्य संस्थामा रहेका स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना बढी हुन्छ।

स्वास्थ्यकर्मीलाई पनि कसरी जोगाउने र अन्य सेवा नपाएर बिरामीलाई समस्या नहोस् ध्यान दिएर अगाडि बढेका छौं। परिषदमा दर्ता भएका अन्य स्वास्थ्यकर्मीलाई पनि कसरी परिचालन गर्न छलफल अगाडि बढाएका छौं। धेरै जनधनत्व भएको ठाउँमा कोभिडका लागि तोकेका आइसोलेसन बेड, आइसियु, भेन्टिलेटरको बढी प्रेसर पर्दै गएको छ। जसलाई बिस्तारै सुधार गर्दै गरी तयारी गर्दै छौं।

समुदायस्तरमा नै संक्रमण फैलियो भनेर विज्ञहरूले दाबी गर्दै आएका छन्। तर, स्वास्थ्य मन्त्रालयले यो कुरालाई किन मान्न तयार छैन। समुदाय स्तरमा नै संक्रमण नफैलिएको भन्ने आधार के–के छन्?

समुदाय स्तरमा संक्रमण फैलिने कुरा धेरै मापदण्ड हेर्नुपर्ने हुन्छ। नेपालमा समुदाय स्तरमा संक्रमण छ भर्नका लागि पोजेटिभहरूको प्रतिशत जुन छ, त्यो धेरै माथि हुनुपर्छ। त्यो हामीले परीक्षण गरेको मध्ये कम नै छ। निमोनियालगायत लक्षण भएका व्यक्तिहरू अस्पतालमा भर्ना भएका दर बढी हुनुपर्छ। ती लक्षणले मानिसहरूको मृत्यु भएको दर बढेको हुनुपर्छ। अनायासै, कुनै रोग वा कुनै पनि कारण थाहा नभई मानिसहरू छिटोे–छिटो बिरामी भएको दर बढ्छ र समुदाय उमेर समूह तथा लिंगको अनुपात रहेको छ, ठ्याक्कै त्यही अनुपातको केसको पोजेटिभ हुनेको ‘रेसियो’ आउनुपर्दछ। विभिन्न मापदण्ड रहेका छन्। ती सबै मापदण्ड फुलफिल भएपछि मात्र हामीले समुदाय स्तरमा संक्रमण देखिएको भन्न सकिन्छ।

कोरोनालाई ‘रेमिडिसिभिर’ औषधी प्रभावकारी मानिएको छ तर सरकारले ल्याउन किन सकिरहेको छैन किन?

कुनै पनि औषधी तथा खोप कोरोनालाई यही रूपमा हो भनेर आइसकेको छैन। विभिन्न चरण–चरणका क्लिनिकल ट्रायलमा फेजअनुसार केही वारिसम्म आएका छन्। केही सुरुवाती चरणमा रहेका छन्। पछिल्लो समयमा ‘रेमिडिसिभिर’ औषधी प्रभावकारी मानिएको छ। जसको क्लिनिकल ट्रायल गर्ने कुरामा तेस्रो चरणसम्म अनुसन्धानले देखाएको छ।

त्यसैलाई पनि सतप्रतिशत कोरोनाकै औषधी हो भनेर प्रमाणित भएको छैन। कसरी हाम्रो देशमा उपलब्ध गराउने भन्ने सन्दर्भमा मन्त्रालयले निर्णय गरेको छ। कसरी दर्ता गर्ने र कसरी आयात गर्ने सन्दर्भमा औषधी विभागले काम गरिरहेको छ।

ट्रायलमा नै भएको हुनाले राष्ट्रिय अनुसन्धान परिषदले काम गरिरहेको छ। बजारमा ट्रायलको औषधी भएको हुनाले कसरी सर्वसाधारणलाई उपलब्ध गराउने र कसरी स्रोत–साधनले पुर्‌याउने होमवर्क हुँदैछ। सरकारले यो विषयमा विचार नै नगरेको भन्ने चाहिँ होइन।

केही दिनयता मृत्युदरको केस बढिरहेका छन्। व्यवस्थापन तथा समन्वयले मृत्युदर बढिरहेको आरोप लागिरहेको छ नि!

संक्रमित हुनेको पाँचदेखि २० प्रतिशलाई सघन उपचार गर्नुपर्ने अवस्था आउनसक्छ तथा ८० प्रतिशत लक्षण नभएका नै व्यक्ति हुनसक्छन्। विभिन्न देशको संक्रमणको अवस्थाले देखाएको छ। त्यसैको आधारमा हामीले पोजेटिभ हुने संख्या धेरै हुन्छ भनेका थियौं। तर, अहिलेसम्म अनुमान गरेको भन्दा कम नै छ। संक्रमण दर तथा मृत्युदर प्रक्षेपण गरेको भन्दा तल नै रहेको छ। जति भएको छ, त्यो हुनु पनि राम्रो होइन किनभने एउटा व्यक्तिका लागि उसको मृत्यु हुनु भनेको सतप्रतिशत हो। अहिले पछिल्लो समय संक्रमणको दर जोखिमको समूहमा बढ्दै गएको छ। जुन दरले मृत्यु हुने दर प्रतिशत पनि बढ्दै जाने हो कि भन्ने चिन्ता परिरहेको छ। यसलाई रोक्ने प्रयास गरिरहेका छौं।

मैले, हामीले गरेको भूमिकाले कोरोनाविरुद्धको लडाइँ जित्न सक्छौं भनेर व्यवहार गर्‌यौं भने सफलतातर्फ जान सक्छौं। सरकारमा भएको मानिसले काम गरेको छैन वा फलानो सञ्चारमाध्यमबाट बुझ्ने गरी भनिएको छैन, जनप्रतिनिधिले चासो देखाएको छैन, यस्तो भइरहेको छ भन्ने बेला होइन। यो एकदमै जटिल बेला हो।

कन्ट्याक्ट ट्रेसिङ किन प्रभावकारी हुन सकेन?

कोरोना रोकथामका लागि कन्ट्याक्ट टे«सिङ महत्वपूर्ण पाटो हो। जसरी जनस्वास्थ्य मापदण्ड पालना, परीक्षण महत्वपुर्ण हुन्छ। त्यसैगरी नै संक्रमित भइसकेका मानिसका सम्पर्कमा आएका व्यक्तिका पहिचान गर्न आवश्यक हुन्छ। जुन काम हामीले गर्दै आएका छौं। गरेका काम सतप्रतिशत नै ठिक छ भनेर भन्न सकिँदैन। स्वास्थ्य मन्त्रालय र सम्बन्धित तीन तहमा रहेको सरकारले समन्वय गरिरहनुपर्ने हुन्छ।

स्थानीय तहमा बढी सजिलो हुन्छ भन्ने हिसाबले कन्ट्याक्ट ट्रेसिङ, क्वारेन्टाइन राख्ने त्यहाँ समिति बनाएर काम अगाडि बढाएका छौं। केही प्रतिशतको कन्ट्याक्ट ट्रेसिङ सम्बन्धित व्यक्तिले नम्बर गलत दिने, फोन नउठाउने, सम्पर्कमा नआउने हुँदा विभिन्न समस्या झेल्नुपरेको छ। यस्ता कुरा सबैलाई सर्वसाधारणले मिलेर बुझाउनुपर्छ। कोही व्यक्ति शंका लागेर नै परीक्षण गराउन जान्छ नि! जाँदाखेरी केही गरी म पोजेटिभ भए भने राज्यको कुनै पनि निकायले थाहा पाउन सक्ने गरी सबै विवरण दिनुपर्छ भनेर प्रष्ट बुझिदिनुपर्छ।

सर्वसाधारणले अहिले कोरोनाको जोखिमलाई बुझ्न नसकेका हुन्?

कसैले–कसैलाई दोषारोपण, कामप्रति इंगित गरेर ओभानो हुन पाउने अवस्था होइन। कोरोना भाइरससँगको लडाइँ छ। जिम्मेवारीमा भएको व्यक्तिले मात्र गरेर पूरा हुने अवस्था होइन। सञ्चारकर्मी, स्वास्थ्यकर्मी, जनप्रतिनिधिको भूमिका पनि सर्वसाधारणले निभाउनुपर्ने हुन्छ। मैले, हामीले गरेको भूमिकाले कोरोनाविरुद्धको लडाइँ जित्न सक्छौं भनेर व्यवहार गर्‌यौं भने सफलतातर्फ जान सक्छौं।

सरकारमा भएको मानिसले काम गरेको छैन वा फलानो सञ्चारमाध्यमबाट बुझ्ने गरी भनिएको छैन, जनप्रतिनिधिले चासो देखाएको छैन, यस्तो भइरहेको छ भन्ने बेला होइन। यो एकदमै जटिल बेला हो। जबसम्म हामीले व्यवहारमा उतार्न सक्दनौं, तबसम्म जानेर केही अर्थ छैन। हामी चैतदेखि कोरोना सुनिरहेका छौं। विभिन्न सञ्चारमाध्यम, पत्रपत्रिका, अनलाइनबाट संक्रमण कसरी सर्छ, कसरी जोगिनेजस्ता भन्ने कुरा सिक्यौं, तर व्यवहारमा आइदियो भनेमात्र संक्रमणलाई रोक्न सकिन्छ।

व्यवहारमा उतार्न सकिएन भने कोरोनाको चक्र, पोजेटिभ हुने दर बढ्दै जान्छ, अस्पतालमा भएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी पनि जोखिम हुँदै थपिँदै जान्छ। जसको स्वरूप अन्य नियमित स्वास्थ्य सेवामा समेत असर पर्न सक्छ। संक्रमणको चक्र तोड्नका लागि हाम्रो व्यवहार परिवर्तन हुन जरुरी छ।

अब, कोरोना नियन्त्रण गर्ने विकल्प?

सबै देशमा गरिएको विकल्प भनेकै रोकथाम हो। विश्वका स्वास्थ्य सेवा प्रणाली बलियो भएका देश इटाली, बेलायतलगायतमा स्वास्थ्य सेवा प्रणाली कसरी तहसनहस भयो। जहाँ, अस्पतालमा सामान्य औषधी उपचारका लागि जाँदा कोरोना बोकेर आउनुपर्ने अवस्था आयो। त्यो अवस्था नआउनका लागि समुदाय स्तरमा संक्रमण हुन दिन हुँदैन। यतिबेला स्वास्थ्यकर्मी भनेकै सञ्चारकर्मी हो।

सञ्चाकर्मीले व्यवहार सुधार गर्ने खालको सूचना दिन सकियो भने व्यक्तिले व्यवहार सुधार गर्न सक्छ। सर्वसाधारणको व्यवहार नसुधारिकन ३ करोड जनतालाई पुग्ने गरी आइसियु, भेन्टिलेटर राख्यौं भने पनि सबैलाई जोगाउन सक्ने अवस्था हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय