बेपरबाह नागरिक : मास्क र हात धुने जाँगर छैन, हात हेराउने चटारो

पछिल्ला दिनमा उपत्यकामा कोरोना संक्रमितको संख्या प्रत्येक दिन सयहाराहारीमा बढिरहेको छ।

उपत्यका बाहिर जिल्लामा पनि संक्रमित संख्या उसैगरी बढिरहेको छ।

अर्थतन्त्रको दृष्टिले राज्यले तत्काल ‘लकडाउन’ धान्न नसक्ने भन्दै विज्ञहरूले नै विकल्प सुझाइरहँदा जोखिम धेरै छ, भन्न छुटाइरहेका छैनन्।

संक्रमण र जोखिम बढिरहेको छ तर जनतामा भने त्यसको ‘डर’ फिटिक्कै छैन।

बरु आमनागरिक त ‘लकडाउन सकियो’ भन्दै निस्फिक्री भएका छन्।

सरकार ‘केही’ गर्दैन त्यो आफ्नो ठाउँमा छ।

संसारभर महामारी छिट्टै नियन्त्रण गरेका देश र महामारी नियन्त्रण गर्न नसकेका देशका अनुभवबाट सरकारले केही गर्न त सकिरहेको छैन नै, नागरिक पनि सिक्न सकिरहेका छैनन्।

अब सरकार पूरै लकडाउन गर्ने पक्षमा छैन। तर, लकडाउन नहुनु भनेको भीडभाड गर्नु अनि मास्कलाई पनि ‘फेसन’ बनाउनु होइन।

‘यस्तो बेला नागरिक आफैंले मास्कको प्रयोग, भौतिक दुरीको पालना र स्यानिटाइजेसन वा हातधुने बानी फेरि बिर्सिन थालेको हुन् कि जस्तो लाग्छ,’ टेकु अस्पतालका ट्रपिकल मेडिसिन चिफ कन्सल्ट्यान्ट डा। अनुप बास्तोला भन्छन्।

दैनिक जीवन धान्न केही काम गर्ने बाध्यता नागरिकलाई भए पनि अनावश्यक जमघट, भेटघाट वा सार्वजनिक क्षेत्रमा सावधानी छैन।
‘चिया पसलदेखि रेस्टुरेन्टमा समेत भीडभाड छ, सार्वजनिक बसमा ठेलमठेल हुन्छ,’ डा। बास्तोला थप्छन्।

आफ्ना सामान्य जिम्मेवारी पूरा नगर्ने ‘आमनागरिक’ कोरोना नियन्त्रणका लागि उचित कदम नचालेको भन्दै सरकारलाई गाली गरिरहेको भेटिन्छ।

बास्तोलाले भनेजस्तै दृश्य काठमाडौंका धेरै सार्वजनिक ठाउँमा देख्न सकिन्छ।

आइतबार मध्याह्न भद्रकाली मन्दिर परिसरमा मानिस बेपरवाह देखिन्थे।

मास्क त थियो तर ठाउँमा थिएन। कोही छेउमा थन्क्याएर गफिइरहेका त कोही मास्क चिउँडोमा झन्ड्याएका।

नारिएर बसेका युवा मोबाइलमा मस्त थिए।

त्यहीँ भेटिए अनामनगरका श्याम श्रेष्ठ। उनलाई लाग्छ– अब कोरोनाको डर हराइसक्यो।

‘एक– दुईजनालाई देखिँदा पो डर थियो, आजभोलि सयौंंजनामा कोरोना देखिँदा पनि सामान्य लाग्छ,’ उनले थपे।
उनले भाइरस कतिन्जेल रहने हो भन्ने यकिन नभएको र घरमा बस्दा–बस्दा दिक्क लागेर बाहिर निस्किएको बताए।

‘सरकारले सर्वसाधारणलाई बाहिर ननिस्कनु भन्छ, आफूले गर्नुपर्ने कुनै काम गर्दैन,’ उनीसँगै छेउमा बसेका अर्का व्यक्ति सरकारलाई गाली गर्दै थिए, ‘उपत्यका बाहिरबाट आएका मानिसमा संक्रमण बढी देखिएको सुनिएको छ। संक्रमण नियन्त्रण गर्नका लागि खोइ नाकामा कडाइ गर्न सकेको ?’

उनीहरू दुवैजनाको अनुहारमा मास्क थिएन।

मास्क लगाउन नचाहने जस्तै हात धुनसमेत झन्झट मान्नेको संख्या उस्तै छ।

विभिन्न अध्ययनले पूर्णभौतिक दुरी (६ फिट) कायम गर्ने र सबैले मास्क प्रयोग गरेको अवस्थामा मात्रै संक्रमण सर्न सम्भावना शून्यप्रायः हुने देखाइसकेको छ। तर, यति ठूलो महामारीबाट बच्ने आधारभूत कुरा पनि सर्वसाधारणले अपनाइरहेका छैनन्।

केही दिनअघि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सर्वसाधारणको लापरबाहीमाथि टिप्पणी गर्दै भनेका थिए, ‘आफूले २ सयको मास्क किनेर प्रयोग गर्न नसक्ने अनि सरकारले चाँही ५ हजारको परीक्षण निःशुल्क गरिदिनुपर्ने ?’

त्यस्तै, वीर अस्पताल अगाडि सडक छेउमा केही वृद्ध बसिरहेका थिए। उनीहरूको छेउमा दुई–चारवटा पुस्तक र माला थिए। छेउमा सानो बोर्ड राखिएको थियो। बोर्डमा लेखिएको छ– ‘यहाँ हात हेरिन्छ।’

‘हात हेराउने’ को बाक्लो भीड छ। न दुरी न मास्क।

सरकार बारम्बार भनिरहेको छ– ‘अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनू।’

तर, सहरका मानिसलाई लाग्छ ‘हात हेराउनु’ अत्यावश्यक छ।

चीन, कोरियाजस्ता राष्ट्रले मास्क, सामाजिक दुरी कायम गर्दा संक्रमणलाई नियन्त्रणमा लिन सकेका थिए।

तर, अमेरिका, युरोप र छिमेकी मुलुक भारतमा समेत नागरिकले स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमण भयावह बन्दै गइरहेको छ।
नागरिकको यस्तै हेलचेक्र्याँइले भोलि स्थिति भयावह हुनसक्ने डा। बास्तोला बताउँछन्।

‘अहिले तराईमा मात्रै संक्रमण र मृत्युदर बढिरहेको छ, उपत्यकामा मानिस सुरक्षित नै छौं भनेर कोरोनालाई हेलचेक्र्याँइ गरिरहेका छन्,’ डा। बास्तोला भन्छन्, ‘आज तराईको स्थिति भोलि उपत्यकामा हुन्छ, पर्सी टोल वा परिवारमा देखापर्छ।’

डा। बास्तोला कोरोनालाई जित्न प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण हुने बताउँछन्।

‘काठमाडौंको पछिल्लो संक्रमण हेर्दा बाहिरबाट आएका मानिस धेरै छन्,’ डा। बास्तोलाले भने, ‘लकडाउ खुलेसँगै रोजगारीमा फर्किन खोज्ने मानिसमा संक्रमण भएको देखिन्छ। पसल खुलेका वा ग्यारेज चलाइरहेका मानिस संक्रमित भएका छन्।’

‘संक्रमण क्षेत्रबाट आएका व्यक्तिले १४ दिनसम्म पिसिआर पोजेटिभ वा नेगेटिभ आए पनि अनिवार्यरूपमा बस्नुपर्दछ,’ उनी भन्छन्, ‘आज परीक्षण गराएर नेगेटिभ आयो भन्दैमा काममा फर्किन मिल्दैन, त्यसको दुई दिनपछि पनि पिसिआर नेगेटिभ आउनसक्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय