‘सवारीमा जोरबिजोरले संक्रमण जोखिम झन बढी’

अंगदबहादुर सिंह/काठमाडौं
प्रकाशित
२०७७ साउन २६ गते १०:१६

सरकारले साउन ६ गते ‘लकडाउन’ अन्त्यको घोषणा गर्दैगर्दा राजधानीमा कोरोना संक्रमणको ग्राफ चढ्दै थियो।

भोलिपल्ट बिहानैदेखि उपत्यकाका सडक गाडीले जाम भए। सडकपेटीमा मानिसको घुँइचो लाग्यो।

र, सरकारले फेरि साउन २२ देखि उपत्यकामा चल्ने सबै सवारीसाधनमा ‘जोरबिजोर’ प्रणाली लागू गर्‌यो।

यसले सवारीसाधन कम चल्छन् र मानिसको भीभाड कम हुन्छ भन्ने सरकारको विश्लेषण छ।
तर, सडकमा ठ्याक्कै उल्टो भयो।

सार्वजनिक यातायातमा पनि जोरबिजोर भएपछि गाडी थोरै भए, त्यसमा यात्रा गर्ने धेरै भए। अनि कोचाकोच त हुने नै भयो।

निजीसम्ममा जोरबिजोर ठिकै मान्न सकिन्छ तर सार्वजनिक सवारीमा जोरबिजोर?
विज्ञहरू भन्छन्– ‘यो वैज्ञानिक होइन।’

सडकमा सार्वजनिक सवारी कम हुँदा त्यसको प्रयोगकर्ता बढी हुन्छन् किनकि यातायात साधनमा जोरबिजोर गरेर संख्या कम गरिएको हो, सहर निस्किने मानिसमा त नियन्त्रण नै छैन।

यातायात इन्जिनियर आशिष गजुरेल जोरबिजोर’ प्रणालीले कोरोना भाइरस संक्रमण रोक्नुभन्दा झन फैलिने बताउँछन्।
सवारीे चाप कम गर्न जोरबिजोर प्रणाली लागू गरे पनि यात्रु संख्या नघट्दासम्म कुनै असर नपर्ने उनको तर्क छ।

‘जोरबिजोर प्रणाली लागू गर्नुको मुख्य उद्देश्य भीडभाड नियन्त्रण गर्नु भए पनि अहिले अवस्था ठिक उल्टो छ,’ गजुरेल भन्छन्, ‘सवारीसाधन कम हुँदा यात्रुले सास्ती पाउँछन्, सार्वजनिक बसमा कोचाकोच हुन्छ। यसले त झन् जोखिम बढाउँछ।’

उनले संसारमा कतै पनि सार्वजजिक यातायातमा जोरबिजोर प्रणाली लागू नहुने भन्दै जोरबिजोर प्रणाली व्यावहारिक र वैज्ञानिक नभएको तर्क गरे।

‘यो तरिका न उचित छ, न व्यावहारिक,’ उनको सुझाव छ, ‘बरू साना सवारीसाधन माइक्रो र टेम्पो रोक्नुपर्छ र ठूला सार्वजनिक सवारी चलाउनुपर्छ।’

गजुरेलले माइक्रो र ट्याम्पोले झन संक्रमणको जोखिम बढाएको भन्दै त्यहाँ बस्ने सिट नै उपुयुुक्त नभएको बताए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पनि जोरबिजोर प्रणालीले कोरोना संक्रमणको जोखिम बढाएको बताउँछन्।

उनका अनुसार जोरबिजोर गरी सवारी चलाउँदा सवारी संख्यामा कमी भए पनि यात्रुको संख्या उही हुन्छ।


‘त्यहाँ न सामाजिक दुरी हुन्छ न कुनै सावधानी अपनाउन सकिन्छ,’ उनी भन्छन्, ‘यो जोरबिजोरले समस्या समाधान हुँदैन। बरु जोखिम बढाउँछ।’

उनका अनुसार यो जोरबिजोर बजारमा सवारी संख्या कम देखाउने उपायमात्रै हो।

लकडाउन सकिँदै गर्दा सबैलाई काममा फर्किनुपरेको छ। बजारमा मानिसको भीडभाड पनि उस्तै हुन थालेको छ।
सहरको स्थिति असहज हुँदा हुँदै सार्वजनिक सवारी कम हुँदा झनै समस्या थपिने डा. मरासिनीको भनाइ छ।

‘सुरक्षा व्यवस्थाको चुस्त व्यवस्थापन गरी तथ्यलाई आधार बनाउने हो, जोरबिजोर प्रणालीले कोरोना संक्रमण रोक्दैन, यसले त भीडभाड बढी हुँदा झन् जोखिम बढाउँछ,’ डा.मरासिनीले भने।

उनी पनि सहरमा साना सवारी रोक्नुपर्ने बताउँछन्। त्यसको सट्टा सामाजिक दुरी कामय गरेर भए पनि धेरै यात्रु अट्ने सवारी चलाउन उनी सुझाव दिन्छन्।

‘नेपालमा भाइरस संक्रमण बढ्दै गयो। ठूला सवारी सञ्चालन गरिनुपर्नेमा जोरबिजोर लगाउँदा सवारी संख्या कम भयो, यसले यसले झन् जोखिम निम्त्याउँदै छ,’ उनी भन्छन्, ‘यो नियम बनाउनेले थाहा पाउनुपर्ने, यसले फाइदा गर्छ कि बेफाइदा।’

तर, महानगरीय ट्राफिक प्रहरी प्रमुख भीम ढकालको राय अलि फरक छ।

जोरबिजोर प्रणालीले सवारीका साथै यात्रु संख्या पनि घट्ने उनको जिकिर छ।

‘आधा सवारी गुड्नु भनेको भीड कम हुनु हो। सवारी कम भएपछि यात्रु कम आउँछन,’ ढकालले भने, ‘भीडभाड कम हुन्छ भनेर नै जोरबिजोर प्रणाली लागू गरिएको हो।’

जोरबिजोरले गर्दा सवारी चाप कम भएपछि सर्वसाधारण घरमै बस्ने ढकालको तर्क छ।

माइक्रो र ट्याम्पोमा कोरोना जोखिम बढी हुने भएकाले आधा सिटमा मात्रै राख्नुपर्ने मापदण्ड भए पनि साना सवारीले सिटभर यात्रु बोकेका छन्।

‘साना सवारीमा सिट आमुन्ने सामुन्ने भएकाले संक्रमणको जोखिम बढी छ। हामीले सहजीकरण गर्ने हो, त्यसका लागि सर्वसाधारण सबैले सचेत हुनु आवश्यक छ,’ ट्राफिक प्रमुख ढकालले भने।

सूर्यविनायक च्याम्हासिं रुटमा २० वर्षदेखि बस चलाइरहेका राजीव मिजार जोरबिजोरले झन् समस्या बढाएको बताउँछन्।

‘जोरबिजोर गर्दा बसको संख्या कम हुन्छ र यात्रुको भीड हुन्छ,’ मिजार भन्छन, ‘बसमा चढ्ने चढिहाल्छन्, यात्रु बढी भए न सामाजिक दुरी कायम गर्न सकिन्छ न चालकलाई नै सुरक्षा हुन्छ।’

उनले सरकारले जोरविजोर प्रणाली लागु गरेर कोरोना नियन्त्रण नहुने बताए।

उनी भन्छन्, ‘गाडीको संख्या कम देखाएर मात्रै हुँदैन सामाजिक दुरीका साथै स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर सबै बस चलाउनुपर्छ।’

त्यस्तै, सुन्धार–बानेश्वर रुटमा ट्याम्पो चलाइरहेका दिनेश श्रेष्ठ पनि जोरबिजोरमा केही फाइदा देख्दैनन्। बरु त्यसले गाडीमा कोचाकोच बढाउँछ।

उनलाई कुनै दिन यात्रु नहुँदा खर्च उठाउन समस्या हुन्छ भने कुनै दिन यात्रुको भीड हुँदा संक्रमण सर्ने पो हो कि भन्ने पीर पर्छ।

‘आधा यात्रुमात्रै राखौं भने पनि कोही जबरजस्ती चढ्न खोज्छन्, कुनै बेला यात्रु नै पाइँदैनन्,’ चालक श्रेष्ठको भोगाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय