वीरगन्जमा उपचार सास्ती : सरकारी अस्पताल बन्द, निजीले हेर्दै हेर्दैनन्

आरोहण शाह/वीरगञ्ज
प्रकाशित
२०७७ साउन २५ गते १९:१७

गएको शुक्रबार राति वीरगन्ज नगरपालिका छपकैयामा माइतीघर आएकी २० वर्षीया विष्णु लामालाई एक्कासि दम बढ्यो।

अस्पताल लैजान एम्बुलेन्स आएनन्। कसैले फोन उठाएनन्, फोन उठाएकाले आउन मानेनन्।

बल्ल–बल्ल एउटा रिक्सा भेटियो। त्यही रिक्सामा आफन्तले उनलाई अस्पतालहरू चहारे। कम्तिमा सातवटा अस्पताल चहार्दासम्म पनि उनलाई ‘कोरोना नेगेटिभ’ भएको रिपोर्ट माग्दै कसैले भर्ना लिन मानेनन्।

राति १० बजेदेखि सुरु भएको उपचारको गोलचक्कर बिहान २ बजेर १२ मिनेट जाँदा लामाको प्राणसँगै टुङ्गियो।
त्यसअघि वीरगन्ज महानगरपालिका–१३ राधेमाइकी ६२ वर्षीया शारदादेवी रौनियारले पनि मृत्युको त्यही नियति भोग्नुप-यो।

शुक्रबार रातिदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारका सदस्यले शनिबार बिहान वीरगन्जका धेरै निजी अस्पताल दौडाए। उनको आरडिटी परीक्षण नेगेटिभ भए पनि अस्पतालले भर्ना लिन मानेनन्।

अस्पताल चहार्दा चहार्दै नारायणी अस्पतालअघि शारदाले प्राण त्यागिन्।

वीरगन्ज महानगरपालिका–३ की जोखु साह सोनारको बिहीबार राति १२ बजे नेसनल मेकिडल कलेजको इमरजेन्सी कक्षबाट उपचार यात्रा सुरु भए पनि वीरगन्जका कुनै अस्पतालले भर्ना गरेन।

उनको परिवारले बारम्बार गुहार माग्दा पनि अस्पतालले भर्ना लिएनन्।

एम्बुलेन्स पनि नपाएपछि उनले पनि रिक्सामै चक्कर काटिन्।

र, अन्तमा कोभिड अस्पतालको इमरजेन्सी कक्षमा उनले प्राण त्यागिन्।

त्यही दिन वीरगन्ज–११ श्रीपुरका ६० वर्षीय चलितर महतोको पनि नेसनल मेडिकल कलेजको आकस्मिक कक्षअगाडि रिक्साभित्रै मृत्यु भयो। कसैले पनि भर्ना लिन नमानेपछि उनी अस्पताल खोज्दै मेडिकल कलेज अघि पुग्दा उनको पनि ज्यान गयो।

मृतकका भाइ शम्भु महतोका अनुसार उनले त अझ नेगेटिभ नतिजा भएको पिसिआर रिपोर्ट पनि बोकेका थिए।

कोरोना संक्रमणले आकुल व्याकुल भइसकेको छ– वीरगन्ज। एकातिर संक्रमित बढेको बढ्यै छन् भने अर्कातिर मृत्यु पनि उस्तै छ।

त्योभन्दा दर्दनाक मृत्यु त उपचार नपाएरै भएको छ।

दिनदिनै कोरोना भाइस संक्रमित बढेको बढ्यै छन्।

वीरगन्जका स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, जनप्रतिनिधि पनि संक्रमित भइसकेका छन्। वीरगन्ज महानगरका मेयर र उनका सबैजसो परिवारलाई संक्रमण भइसकेको छ।

एकातिर कोरोना संक्रमणको ‘भयावह अवस्था’ अनि अर्काेतिर उपचार नपाउनुको पीडा वीरगन्जवासीले भोगिरहेको छन्।

कोरोना संक्रमितबाहेक अरूको उपचार गर्ने ठाउँ नभएको भन्दै आइतबार बिहानै वीरगन्जवासीले प्रदर्शनसमेत गरे। प्रहरीले लाठी चार्ज नै गर्नु-यो।
उनीहरूले सरकारी अस्पताल नारायणी तोडफोड गरे, त्यहाँ कार्यरत डाक्टरको गाडी फुटाइदिए।

यहाँ अहिले समुदायस्तरमै मास टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङलाई तीव्र्रता दिइएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा अहिले दिनहुँ ४ सयदेखि ५ सयहराहारी परीक्षण भइरहेको छ। जसमध्ये औसतमा दैनिक ४० देखि १ सय जनासम्ममा कोरोना पुष्टि हुन थालेको छ।

साउन पहिलो साताबाट एकाएक वीरगन्जमा कोरोना संक्रमित बढेसँगै १७ जनाको मृत्युसमेत भइसकेको छ।

संक्रमित बढेसँगै आइसोलेसनमा बेड अभाव हुन थालेको छ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। तर, संक्रमितको उचित व्यवस्थापन हुन सकेको छैन।

अहिले नारायणी अस्थायी कोरोना विशेष अस्पताल, वीरगञ्ज हेल्थकेयर र गण्डक अस्पतालमा बेड भरिभराउ छन्।

नारायणी अस्पतालमा कार्यरत ३८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि यो अस्पतालका सबै सेवा बन्द गरिएको छ। प्रयोगशाला मात्रै सञ्चालनमा छ।

भएको एउटा सरकारी अस्पताल पनि बन्द भएपछि सर्वसाधारण उपचार सेवाबाट वञ्चित छन्।

अरू अस्पतालले भर्ना लिनै मान्दैनन्। कोही बिरामी अस्पताल पुग्यो कि पहिला कोरोना छैन भन्ने प्रमाण बुझाउनुपर्ने अवस्था छ।

संक्रमित बढेसँगै अस्पतालमा ठाउँ नभएपछि कति संक्रमित घरमै छन्।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई उपचार गर्न लक्षण भएका बिरामीलाई कोभिड अस्पतालमा र अन्यलाई आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा राखिएको छ।

स्थानीय प्रहरी र वडा समिति कार्यालयको सिफारिस तथा निगरानी रहने गरी संक्रमितलाई होम आइसोलेसनमा बस्ने सुविधा दिइएको थियो। तर, अधिकांश होम क्वारेन्टाइनमा आवश्यक पुर्वाधार पु-याइएको छैन।

कतिपय ठाउँमा संक्रमित होम क्वारेन्टाइनमा बस्नुको सट्टा घरबाहिर निस्किएको पनि पाइएको छ। जसले गर्दा समुदायमा संक्रमण फैलिने जोखिम बढ्दो छ। त्यसलाई रोक्न होम आइसोलेसनको सट्टा सामुदायिक आइसोलेसन सेन्टरको मोडललाई जोड दिएर थप २ सय ८१ बेड क्षमताको सामुदायिक आइसोलेसन सेन्टर सञ्चालन गर्ने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

उनका अनुसार वीरन्ंजको घरिअर्वामा रहेको गोपाल मण्डली धर्मशालामा १ सय ११ बेड, होटल रानीपोखरीमा ५० बेड, राणीसती धर्मशालामा ६० बेड र सिद्धार्थ माविमा थप ६० बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको छ। पर्सामा कोरोना संक्रमित बढदै गएपछि वीरगन्जका होटल र धर्मशालालाई आइसोलेसन बनाउन थालिएको छ।

यसअघि नै करिब २ सय बेड क्षमताका दुईवटा कोभिड अस्पताल र झन्डै त्यति नै क्षमताको सामुदायिक आइसोलेसन सेन्टर सञ्चालनमा थिए। वीरगन्ज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक आइसोलेसन सेन्टरमा नारायणी अस्पतालको सुपरीवेक्षणमा रहने गरी स्वास्थ्यकर्मीको व्यवस्था वीरगन्ज महानगरपालिकाले गर्ने जिल्ला संकट ब्यवस्थापन केन्द्रले निर्णय गरेको छ।

पर्सा जिल्लामा पिसिआर जाँचलाई तीव्रता दिइएसँगै कोभिड–१९ संक्रमित पुष्टि हुने संख्या बढ्दै गएको छ। परीक्षण रिपोर्ट पोजेटिभ भए पनि लक्षण नभएका संक्रमितलाई संघीय स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको कोभिड–१९ केसको आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार वीरगञ्जका केही होटल र धर्मशालालाई आइसोलेसन बनाइएको सहायक प्रजिअ बस्नेतले बताए।

यसैगरी, बैठकले सामुदायिक आइसोलेसन सिद्धार्थ मावि, गोपालमण्डलीमा सञ्चालन गर्ने र जिल्ला प्रहरी कार्यालय, पर्साका थुनुवालाई राणीसति अतिथि सदनमा व्यवस्थापन गर्ने निर्णय गरिएको छ। यहाँको खाना र नास्ताका लागि स्वास्थ्य मन्त्रालय, मन्त्रिपरिषद र मुख्यमन्त्रीको कार्यालयसँग अनुरोध गर्ने र तत्काल जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्ने निर्णय भएको सहायक प्रजिअ बस्नेतले जानकारी गराए।

बैठकले नारायणी अस्पतालको सुपरीवेक्षण रहने गरी सामुदायिक आइसोलेसनमा वीरगन्ज महानगरले स्वास्थ्यकर्मी व्यवस्थापन गर्ने निर्णय गरेको छ।

यसैगरी, जिल्लामा बढ्दो संक्रमणसँगै संक्रमितको उचित व्यवस्थापनका लागि कोभिड विशेष अस्पताल गण्डक र वीरगन्ज हेल्थकेयर पर्याप्त नभएकाले कम्तिमा ३ सय बेडका लागि नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालय र केन्द्रीय संकट व्यवस्थापन समितिसँग अनुरोध गरेको छ।

यसैगरी, संक्रमण बढेसँगै लक्षण भएका संक्रमितलाई मात्र सदरमुकाम वीरगन्जमा ल्याउन र सामान्य संक्रमितलाई स्थानीय तहले आफैं आइसोलेसन तयार गरेर व्यवस्थापन गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय