उपचारका सकस

डाक्टर! बिरामी घर जाने रे! इमर्जेन्सीबाट बिहानै फोन आउँछ। आँखाले भर्खर आराम पाउने मौका पाएका थिए। मीठा सपना त ड्युटीमा कहिल्यै देख्न पाइने कुरै भएन। पेसाको कर्म नै त्यस्तो। रातिको २ बजे भर्ना गरेका बिरामी बिहान ६ नबज्दै घर जान्छु भन्नू अस्वाभाविक लागेर इमर्जेन्सी जान्छु। जाँदा लिफ्ट प्रयोग गर्छु। लिफ्टमा नै क्षणभर आँखालाई आराम दिन पाइने लोभले।

ज्वरो श्वास फेर्न गाह्रो र खोकी लागेर आएका ती बिरामी हालको अवस्थामा कोरोना शंका गर्नु कुनै गल्ती थिएन। शरीरमा अक्सिजन नपुगेर मेसिनले जम्मा ७० प्रतिशत देखाइरहेको थियो। उनको छातीको एक्सरे मा दुवै फोक्सोमा निमोनियाको लक्षण देख्न सकिन्थ्यो। हेर्दा कोरोनाका बिरामीभन्दा फरक थिएन। उनलाई आइसियु स्थानान्तरण गर्ने सोच बनाएको थिएँ। भर्ना भएको ४ घण्टा नपुग्दै घर लिएर जान खोजेको मलाई चित्त बुझेको थिएन।

बिरामीको जहान मुर्मुरिँदै थिइन्। हाम्रो रेखदेख भएन भन्दै कराउँदै थिइन् सिस्टरहरूसँग। तर केही क्षणअगाडि मात्रै प्रेसर आदिको जाँच गरिएको थियो। उनको मनको भँडासको झटारो निस्केको सजिलै बुझ्न सकिन्थ्यो। बिरामीको रगतमा  अक्सिजनको मात्रा कम भएर समस्या थियो।

त्यो बिरामीको नियति के भयो, त्यो मैले देख्न परेन। चिन्ता त केवल उसको रिपोर्टको भयो। रिपोर्ट आउन दुई दिन लाग्छ। रिपोर्टमा कोरोना संक्रमण देखिए फसाद नै पर्ने थियो। धेरैजनालाई कोरोना सरिसकेको हुन्थ्यो।

हालको कोभिडको महामारीमा मास्क लगाउन गाह्रो मान्नेलाई यो बिरामीको श्वास फेरेको देखाइदिन मन लागेर आउँछ। त्यो कोरोना संक्रमण नभएर अरु कुनै निमोनिया पनि हुन सक्थ्यो। ठीक हुनसक्ने सम्भावना भएको बिरामी लागेको थियो मलाई। तर श्रीमतीले बस्दै नबस्ने ढिपी गरिन्। जति सम्झाउँदा पनि मानिनन्। उनको सामाजिक र आर्थिक सकस पोखिएको महसुस गरेँ।

हातमा सानो बेरिएको पैसाको कुटुरो, सानो सानो कुरामा झिझोपना उपचारका लागि दौडधूपमा सुस्तपना सबै केही संकेत गरिरहेका थिए। उपचारमा मन नहुनुको संकेत हो कि मन हुँदाहुँदै असमर्थताले बाध्यताको संकेत हो, त्यो बुझ्न सकिनँ।

कारण बुझ्न खोजिरहेको थिएँ। तर पुष्ट कारण फेला पारिनँ। बल्लतल्ल खर्चले नधान्ने भएर घर फर्किने कुरो गरिनँ। एम्बुलेन्सको १२ हजार भाडा तिरेर आएको बिरामीले थप १० हजार जति जोहो नगरी काठमाडौंसम्म आएको पत्याउन मनले मानेन। आँकलन गर्नु सिवाय कुनै विकल्प थिएन। विकल्प भएकाको नीतिले यस्तो  बिरामी समेट्न सकेन। हेल्थ इन्स्योरेन्सले केही गर्ला भन्ने आश जीवित नै छ मेरो।

दिनभर रक्सीमात्रै पिउने श्रीमानबाट आजित भएकि पो थिइन् कि। उपचार गर्ने बेलाको खर्चले आत्तिएर हो कि। जे भए पनि उनी दृढ थिइन्। रक्सीले उनका श्रीमानको ज्यान त गलाएको थियो। उनको आफ्नो जीवन पनि कतै गल्दै गएको पो थियो कि।

अनुमान मात्रै लगाउन सक्थेँ म। एकजनाको खराब बानीले सम्पूर्ण परिवारलाई धनमन सबैमा क्षति पुर्याउँछ भन्ने दृश्य नजिकैबाट देखिरहेको थिएँ। खराब बानी थाहा हुँदाहुँदै रोगको खाडलमा सबैलाई डोर्याउनु गैरजिम्मेवारी हो। ती पुरुष पक्कै पनि गैरजिम्मेवार थिए। श्रीमतीका कोमल हातले गिट्टी कुटेर आर्जेको पसिनाको मूल्य तीनपानेमा रित्याउनु क्षमायोग्य कदापि हैन। हुनसक्छ देशगालबाट मात्रै जोगिन काठमाडौ ल्याएका थिए कि।

समाजमा फुर्सदिला मान्छे धेरै हुन्छन्। नारदहरूको समूहले उपचार नगरेकाले पापी करार दिने हुन् भन्ने डर त हुन्छ नै। ठूलो ठाउँ पुगेर फर्किएपछि डाक्टरले अब बाँच्दैन भनेर भनेको भने  सबैको सहानुभूति पनि प्राप्त हुने नै भयो। त्यहाँ पुग्दासम्म बोली अर्कै भैसकेको हुन्छ डाक्टरले जे जस्तो भने पनि। समाजमा  पहिचान र अस्तित्वको सङघर्ष लड्नैपर्‍यो!

कारण जे जस्तो भए पनि कोरोनाले संक्रमण गरेको हुनसक्ने प्रबल सम्भावना भएको हुनाले टेस्ट नगरी पठाउन उचित लागेन। त्यसैले टेस्ट गर्ने प्रबन्ध मिलाउन द्रुत गतिमा प्रक्रिया चालेँ। तर उनको ढिपी मेरो गतिभन्दा द्रुत र अटेरी थियो। त्यसैले स्वाब परीक्षण आफैं निकाल्न कर लाग्यो।

आफ्नै इच्छाले बिरामी लगेको कागजमा हस्ताक्षर गरेर आफ्नो श्रीमान् लिएर गइन्। त्यो कागजमा हस्ताक्षर थिएन। त्यो एउटा जीवनलाई आर्यघाट पुर्याउन सबल हस्ताक्षर थियो। मेरो अनुभवले अनुमान गरेसम्म त्यो अवस्थाको बिरामीको नियति सिधै आर्यघाट हो भन्ने कुरामा दुविधा थिएन।

स्वाब निकाल्न गएको बेला बिरामीले ख्वाक्क खोक्दा कोरोनाको भाइरसजति सबै आफैतिर आएजस्तो लाग्यो। आफूलाई सुरक्षित गर्ने पिपिइ लगाएर गए पनि डर भने लाग्छ नै। स्वाब संकलन गरे पनि रिपोर्ट नआउँदासम्म बिरामीलाई पठाउन नमिल्ने हो। नपठाउने प्रयास पनि गरेँ। तर मेरो केही सीप लागेन। ब्यक्तिगत अधिकारका कुराले धम्क्याउन पनि थालिन् उनले। स्वतन्त्रताको प्रयोग अलि बलियो नै छ। समाजदेखि न्यायालयसम्म।

आफ्नै इच्छाले बिरामी लगेको कागजमा हस्ताक्षर गरेर आफ्नो श्रीमान् लिएर गइन्। त्यो कागजमा हस्ताक्षर थिएन। त्यो एउटा जीवनलाई आर्यघाट पुर्याउन सबल हस्ताक्षर थियो। मेरो अनुभवले अनुमान गरेसम्म त्यो अवस्थाको बिरामीको नियति सिधै आर्यघाट हो भन्ने कुरामा दुविधा थिएन।

त्यो बिरामीको नियति के भयो, त्यो मैले देख्न परेन। चिन्ता त केवल उसको रिपोर्टको भयो। रिपोर्ट आउन दुई दिन लाग्छ। रिपोर्टमा कोरोना संक्रमण देखिए फसाद नै पर्ने थियो। धेरैजनालाई कोरोना सरिसकेको हुन्थ्यो।

अर्को दिन थाहा भयो कि त्यो बिरामीको रिपोर्ट नेगेटिभ छ भनेर। बल्ल चयनको श्वास फेर्न सकेको अनुभव भयो। कोरोना संक्रमित भएको भए पनि उनका निम्ति खास औषधिमूलो अझै बनिसकेको छैन। न त ट्रायलको औषधी न त प्रमाणित औषधी नै।

बनेका औषधी धान्न नसकिने मूल्यमा छन्। उनका निम्ति केवल डाक्टर र नर्सिङको हेरचाह मात्रै हुने थियो। चालू सबै भेन्टिलेटरमा कोही न कोही बिरामी जुधिरहेका थिए। कोही एकजनाको अवसान वा कसैले रोगलाई नजितेसम्म उनका निम्ति भेन्टिलेटर पनि उपलब्ध थिएन।

उनको ठाउँमा उपचार गर्न कुनै कसर नछाड्ने आफन्त परे सायद टुलुटुलु हेर्न बाध्य नै हुन्थेँ त होला। के उनको नियति मृत्युवरण नै थियो होला त, भेन्टिलेटरको बढ्दो माग कसरी सम्बोधन होला त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय