लकडाउनबारे मन्त्रिपरिषदबाट केही दिनमा निर्णय हुने : प्रवक्ता डा. खतिवडा

सरकारले लकडाउनबारे केही दिनभित्रै निर्णय हुने बताएको छ।

कोरोना संक्रमतिको संख्या २१ हजार नाघेको अवस्थामा लकडाउनको हल्ला चलिरहेकोमा सरकारका प्रवक्ता तथा अर्थ र सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले यसबारे केही दिनमै निर्णय हुने बताए।

मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा खतिवडाले काठमाडौं उपत्यका र सक्रिय संक्रमितको संख्या २ सय नाघेका जिल्लामा सवारीसाधनमा जोरबिजोर लागू गर्ने निर्णय भएको जनाए।

‘कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन गर्‍यो भने पनि आमनागरिकलाई जीवन धान्न पनि समस्या हुने देखिन्छ,’ उनले भने, ‘त्यसको अध्ययन गरेर लकडाउन गर्ने वा नगर्ने बारे चाँडै निर्णय हुन्छ।’

त्यसअघि कोरोना संक्रमण धेरै रहेका क्षेत्रमा निषेधाज्ञा र अन्यमा खुकुलो बनाउँदै लैजाने उनले बताए।

लकडाउन बारे कोभिड–१९ संकट व्यवसाथन केन्द्रले सिफारि गर्नेछ। त्यसका आधारमा मन्त्रिपरिषद्को अर्को बैठकमा निर्णय हुने उनले जनाए।

केही दिन अघि स्वास्थ्य र आर्थिक क्षेत्रका विज्ञले नागरिकको स्वास्थ्य र आर्थिक जीवन सन्तुलित ढंगबाट अगाडि बढाउनुपर्ने सुझाव दिएको उनले स्मरण गराए।

लकडाउन गर्दा स्वास्थ्यसम्बन्धी अरु कारणले नागरिकको स्वास्थ्य झनै जोखिममा पर्ने भएकाले सन्तुलित भएर मिलाएर गर्नुपर्ने अवस्था आएको खतिवडाले बताए।

खतिवडाले गृह मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र भौतिक दूरी कायम गर्न अनुरोध गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय