निजी अस्पतालले बिरामीको उपचार नगरे कारबाही गरिने

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जको निजी अस्पतालले बिरामी उपचार नगरी फिर्ता पठाएको खण्डमा कारबाही गर्ने भएको छ।

लकडाउन, निषेधाज्ञा जारी भएको ५ महिनापछि कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

वीरगन्ज महानगरपालिकामा कोरोनाको संक्रमण सुरु भएदेखि चैत अन्तिम साताबाट निजी अस्पतालले बिरामी चेकजाँचमा लापरवाही गर्दै आएको थियो।

भनसुन, चिनजानका आधारमा मात्र बिरामीको उपचार गर्दै आएको निजी अस्पतालविरुद्ध संकट व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीको अध्यक्षतामा बसेको बैठकले निजी अस्पताललाई आइसोलेसन बनाएर बिरामीको उपचार गर्न र संक्रमण पुष्टि भएकालाई मात्र कोभिड अस्पतालमा रेफर गर्न निर्देशन गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए।

पर्सा जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको अवस्था र समुदाय स्तरमै संक्रमण फैलिएपछि निजी अस्पतालहरूले बिरामी उपचारमा काखापाखा गर्दै छन्।

वीरगन्जमा दिनहुँ कोरोना संक्रमित थपिरहँदा जिल्लामा सञ्चालित निजी अस्पतालले बिना पिसिआर रिपोर्ट बिरामीलाई भर्ना नगर्ने गरेको गुनासो छ।

प्रदेश २ को ठूलो अस्पतालको रूपमा रहेको नारायणी अस्पतालले दैनिक पर्सा, बारा, रौतहट जिल्लाबाट आउने बिरामीलाई सेवा दिँदै आएको थियो। तर अस्पतालमा रहेका कर्मचारी तथा बिरामीमा कोरोना संक्रमण देखिएपछि अहिले सबै सेवा बन्द भएको छ भने निजी अस्पतालहरूले मनपरी तरिकाले उपचार गर्दै आएका छन्।

बुधबारको बैठकले जिल्लाका सबै अस्पताललाई छुट्टै आइसोलेसन वार्डको व्यवस्था गरी बिरामीको चेकजाँच र उपचारको व्यवस्था मिलाउन निर्देशन दिएको हो। चेकजाँचको क्रममा कोभिड–१९ देखिएका बिरामीलाई मात्र कोभिड अस्पतालमा रेफर गर्न निर्देश गरिएको छ।

अटेर गरी निर्णयको बेवास्ता गरेर बिरामीको स्वास्थ्यमा खेलवाड गरे प्रचलित कानुनबमोजिम कारबाही गरिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए।

वीरगन्जमा नेसनल मेडिकल कलेज, वीरगन्ज हेल्थ केयर, तराई हस्पिटल, गण्डक, बयोधा, प्रभु अस्पताललगायतका एक दर्जन भन्दा बढी निजी अस्पताल छन्।

हाल गण्डक र वीरगन्ज हेल्थ केयर अस्पताल भने नारायणी अस्पतालमातहत रहने गरी कोभिड अस्पतालको रूपमा सुचारु छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय