अनलाइन कक्षा भइरहँदा बालबालिकाको आँखा कसरी जोगाउने?

विश्वभरि फैलिइरहेको कोरोना भाइरसको संक्रमणपछि धेरै विद्यालय बन्द अवस्थामा छन्। करोडौं बालबालिका विद्यालय जान पाएका छैनन्।

यस्तो बेलामा अहिले स्कुले बालबालिका पढाउने माध्यम भनेकै ‘अनलाइन कक्षा’ हो। त्यसका लागि बालबालिकालाई टिभी, ल्यापटप, कम्प्युटर अनि मोबाइलको स्क्रिनअघि रहनुपर्छ।

यसले गर्दा बालबालिकाको आँखामा प्रत्यक्ष असर पर्छ।

स्क्रिनमा कति समय?

बालबालिकाले एक दिनमा २० देखि ४० मिनेटभन्दा धेरै कम्प्युटर, ल्यापटप तथा मोबाइलको स्क्रिनमा लगातार हेर्नुहुँदैन। एकपटकमा बढीमा २० मिनेटमात्रै। तीनदेखि पाँच वर्षसम्मका बालबालिकाका लागि २०–२० मिनेट अनलाइन कक्षा हुनुपर्छ।

पाँच देखि १५ वर्ष समूहका बालबालिकाले पढाई र मनोरञ्जनका लागि दिनमा एक घन्टा समय बिताउँदा खासै फरक नपर्ने भए पनि योभन्दा बढी स्क्रिनमा हेर्नु स्वास्थ्यका हिसाबले राम्रो मानिँदैन।

१६ वर्षभन्दा माथिका किशोर तथा युवालाई स्क्रिनमा हेर्न तथा काम गर्ने कुनै समयसिमा नभए पनि धेरै लामो समयसम्म नबस्दा नै राम्रो।

कोठामा उज्यालो हुनुपर्ने

बालबालिका बसेको कोठामा उज्यालो हुनु जरुरी हुन्छ। अँध्यारो कोठामा बसेर मोबाइल चलाउँदा टिभी हेर्दा वा ल्यापटप चलाउदा आँखामा जोड पर्छ।

आँखामा दबाब नपरोस् भन्नका लागि उज्यालो कोठामा बसेर मनिटर तथा स्क्रिन हेर्नुपर्छ र मनिटरको उज्यालो पनि मध्यमखालको राख्नुपर्छ।

कम तथा न्यून उज्यालोमा स्क्रिन हेर्दा आँखाको रेटिनामा असर पर्छ जसको कारण आँखासम्बन्धी विभिन्न समस्या देखापर्न थाल्छन्।

बालबालिकाको आँखाको सुरक्षाका लागि ३३ सेन्टिमिटरको बदला ५० सेन्टिमिटरको ल्यापटप वा ट्याबलेट दिनु उत्तम हुन्छ।

परेली झिम्क्याउनु

बालबालिकाले ल्यापटप, ट्याबलेट र मोबाइल पाए आँखा नझिम्क्याएर एकोहोरो भएर हेर्ने गर्छन्। यतिसम्म कि उनीहरू आँखामा आँसु आउँदा पनि एकोहोरो हेरिरहन्छन्।

परेली नझिम्क्याइ एकोहोरो स्क्रिनमा हेर्नाले आँखाको पानी सुक्छ। जसको कारण आँखासम्बन्धी विभिन्न समस्या आउन सक्छन्। त्यसैले बालबालिकालाई स्क्रिनमा हेर्दा आँखा झिम्क्याउन सिकाउनुपर्छ।

बीच–बीचमा ब्रेक लिने

लगातार स्क्रिनमा हेर्नु आँखा तथा स्वास्थ्य दुवैलाई घाटा गर्छ। आँखा तथा स्वास्थ्यका लागि भए पनि समय–समयमा ब्रेक लिनु राम्रो मानिन्छ।

२० मिनेट स्क्रिनमा हेरेपछि २० सेकेन्डजति ब्रेक लिएर आँखालाई आराम दिनु स्वास्थ्य तथा आँखा दुवैका लागि फाइदाजनक मानिन्छ।
यदि २० मिनेटमा कक्षा सकिएन भने कक्षापछि ब्रेक लिनुपर्छ।

सन्तुलित आहार

बालबालिकाको शारीरिक र मानसिक विकासका लागि सन्तुलित आहारको आवश्यकता पर्छ। आहारमा पोषक तत्व तथा भिटामिन पाइने भएकाले ताजा र सन्तुलित भोजन सेवन गर्नुपर्छ।

बालबालिकाको स्वास्थ्यका लागि भिटामिन ए, भिटामिन सी, भिटामिन ई, ल्युटिन, जिएनथिनजस्ता शरीरका साथै आँखाका लागि पनि फाइदाजनक हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय