उपत्यकामा कोरोना संक्रमितले भरिए कोभिड अस्पताल, व्यवस्थापनमा चुनौती

काठमाडौं–उपत्यकामा पछिल्लो २४ घन्टामा ७३ कोरोना संक्रमित थपिए। उपत्यकाभर अहिलेसम्म ७ सय २७ जनामा संक्रमण पुष्टि भइसकेको छ।

लकडाउन खुलेसँगै उपत्यकामा कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा तीन ठूला अस्पताल कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल र बलम्बु अस्पताल कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका छन्। केही अन्य अस्पतालमा भने कोरोना संक्रमितको उपचारका लागि केही बेड मात्र छुट्याइएको छ।

संक्रमितको उपचारका लागि छुट्याइएका प्राय सबै अस्पताल बेड भरिभराउ छन्। मंगलबार साँझसम्म टेकु अस्पतालमा ४४ जना संक्रमित उपाररत छन्। तर, अस्पतालको क्षमता ५० बेड मात्रै हो।

पाटन अस्पतालमा पनि कोरोनाका लागि छुटइएका सबै बेड भरिएका छन्।

अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार ६२ जना आइसोलेसनमा तथा ७ जना आइसियुमा उपचाररत छन्।

त्यसैगरी बलम्बु अस्पतालमा १ सय ८ जना आइसोलेसन, १ जना भेन्टिलेटरमा उपचाररत् छन्। अन्य आठजना शंकास्पद विरामी पनि अस्पतालमै छन्।

अस्पतालका प्रवक्ता डा. प्रविन नेपालका अनुसार न्युरो अस्पतालबाट १ र गंगालाल अस्पतालबाट ३ जना संक्रमित त्यहाँ ल्याउन लागिएको छ।

‘भएका सबै बेड भरिभराउ छन्’, डा. नेपालले भने, ‘अब संक्रमित राख्ने बेड नै छैन। थप विरामी आए कहाँ राख्ने होला?’

‘अस्पतालमा बेड अभाव त छदैछ। कोरोना संक्रमितलाई अस्पतालसम्म पु-याउने व्यवस्था सहितका एम्बुलेन्स पनि दुई ओटा मात्रै छन्। ति एम्बुलेन्सबाट विरामीहरूलाई ओसार्न पनि निकै गाह्रो भइरहेको छ’

उपत्यकामा कोरोना संक्रमित बढेसँगै अस्पतालका बेडले धान्न सक्ने अवस्था नरहेको इडिसिडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले जानकारी दिए।

‘अस्पतालमा बेड अभाव त छदैछ। कोरोना संक्रमितलाई अस्पतालसम्म पु-याउने व्यवस्था सहितका एम्बुलेन्स पनि दुई ओटा मात्रै छन्। ति एम्बुलेन्सबाट विरामीहरूलाई ओसार्न पनि निकै गाह्रो भइरहेको छ’, उनले भने।

सोमबार उपत्यकामा ६२ संक्रमित भेटिए। तर, राति ९ बजेसम्म बस्दा पनि आफूहरूले ४८ जना संक्रमितको मात्र व्यवस्थापन गर्न सकेको उनको भनाई छ। अन्य १४ जनाको मंगलबार मात्रै व्यवस्थापन गरिएको कोइरालाले बताए।

‘मंगलबार अहिलेसम्म ७३ जनामा संक्रमण पुष्टि भएको छ। तर, सबैलाई अस्पताल भर्ना गर्न सकिने अवस्था छैन’, कोइराला भने।

अति आवश्यक काम बाहेकका मानिसलाई उपत्यका प्रवेशमा रोक नलगाए भयावह अवस्था हुने उनको भनाई छ।

‘हिजो उपत्यका भित्रिएका मानिसले आज नै फलफूल र तरकारी बेच्न थालेका छन्। जसले गर्दा काठमाडौंमा कोरोनाको जोखिम चुलिँदो छ’, उनले भने।

८–१० परिवारका अधिकांश सदस्यमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। सरकारी तथा नीजि गरी तीन संस्थाका व्यक्तिमा पनि संक्रमण पाइएको छ।

कोरोना नियन्त्रणका लागि सर्वप्रथम काठमाडौंमा उपत्यकामा लकडाउन नै गर्नुपर्ने उनको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय