रात काट्न कहाँ जाने केही ठेगान छैन्

मंगलबार बिहान ११ बजे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा कोरोना परीक्षण गराउने मानिसहरुको लाइन मूल सडकसम्म आइसकेको थियो।

चर्को भदौरे घाममा निकै बेर उभिएर फतक्क गलिसकेका, कोही गोडा गलेर लाइनबीचै टुसुक्क बसेका।

व्यग्र प्रतीक्षा, स्वाव दिनका लागि।

लाममा बसेका अधिकांश मजदुर वर्ग। प्रायः मधेश वा भारतबाट हालसाल काठमाडौं छिरेका। कोही फलफूल, तरकारी बेच्ने त ज्याला मजदुरी गर्ने। ज्याला मजदुर अधिकतर निर्माण क्षेत्रका।

‘यहीँबाट पो कोरोना सर्ला भन्ने डर पो भयो,’ लामबाटै कसैले सुस्केरा हाल्दै भन्यो।

मुखमा कपडाको मास्क, मैलिसकेको। टाउकोमा चिट्चिट् पसिना।
नाम : सोनालाल गिरी
घर : रौतहट
काम : ठेलागढामा तरकारी बेच्ने।

सोनालाल रौतहतबाट आज बिहान मात्र तिलगंगा आइपुगका हुन्।

कोरोना परीक्षण नगरी घरबेटीले कोठामा छिर्न दिएन। छिमेकमा हैला फैलिहाल्यो।

तराईबाट कोरोना लिएर आयो भनेर मानिसहरु रमिता गर्न थाले।

घरबाट ल्याएको पोकोपन्तुरो नै बोकेर उनी सोझै टेकु अस्पतालतर्फ हानिए।

किन काठमाडौं आएको त ?

रेडियो, टेलिभिजनले काठमाडौंमा लकडाउन खुलेको फुक्न थाले।

सोनालालले सोच्न थाले–अब गएर मजदुरी गर्न मिल्ने भो।

‘घर भएको अन्नपात सकियो, अब काम नभए बालबच्चा पाल्न नसकिने भयो, त्यसैले जे त पर्ला भनेर हिँडें,’ उनले दुःख सुनाए।

सोनालालले राजधानीका गल्ली–गल्लीमा ठेलगाडामा तरकारी बचेको वर्षौं बितेको थियो।

कोरोनाका वाछिटा चल्दैमा सरकारले लकडाउन भनिदियो। उनी नगरपालिकाले व्यवस्था गरेको बस चढेर गाउँ पुगे।

गाउँमा केही दिन ताजा हावा र तनावरहित वातावरणले मजा त दियो। तर महिनौं बित्दा पेट नै कसरी पाल्ने भन्ने चिन्ताले पोल्न थाल्यो।

‘कति दिन यसरी चल्छ? कोरोनाको डरले भन्दा पनि खान नपाएर मर्ने बेला भयो। यहाँ केहि काम गर्न सकिए बालबालिकाको पेट त भर्न सकिएला,’ उनी भावुक भए। सोनालाल आइतबार काठमाडौं हिंडेका थिए, पत्नि र एक नाति च्यापेर।

‘काठमाडौं आउनको लागि पैसा थिएन, साथीभाईसँग १५ हजार रुपियाँ सापटी मागेर आएँ,’ गिरीले भने, ‘त्योमध्ये लगभग १० हजार त तीनजनाको काठमाडौंसम्मको एकतर्फी भाडामा सकियो। अब के खाने, कसरी बस्ने केही ठेगान छैन।’

पहिले सामान्य अवस्थामा प्रति व्यक्ति ७ सय रुपियाँमा घर ओहोर–दोहोर गर्ने सोनालाल आज जनही ३ हजार ५ सयका दरले भाडा तिरेर आएका हुन्।  वसवालाका लागि दशैं लागेको छ। व्रह्मलुट छ।

रौतहटबाट चढेको बसले धुलिखेल ल्याएर छोडिदियो। त्यो पनि प्रतिव्यक्ति ३ हजार ५ सय रुपियाँ दबाउँदै। त्यसपछि उनी अर्को बस समातेर काठमाडौं छिरे। त्यसका लागि जनही डेढ सय रुपियाँ। बिहानदेखि पानी सिवाय उनी र पत्निको मुखमा केही परेको छैन।

‘हामीले त केहि खाएका छैनांै, नाति भोक लाग्यो भनेर रुन थाल्यो। उसलाइै एक पुरिया बिस्कोट किनेर दिएँ,’ नातितर्फ हेर्दै उनले भने।  हेल्थपोस्टसँग कुरा गर्दागर्दै सोनालालकोस्वाव संकलनको पालो आयो। स्वाव लिएपछि चिकित्सकले भने–‘आज तपाईको परीक्षणको रिर्पोट आउँदैन, भोलि फोन आउँछ।’

सोनालाल रिपोर्ट नलिई घरभेटी नजिक पर्न सक्नेवाला छैनन। बेलुकी कहाँ बस्ने त? उनीसँग केही हजार बाँकी छ। होटल पनि खुलेका छैनन। होटलै पाए पनि भोलिदेखि अन्नपानी केले चलाउने?

‘अन्त जाने ठाउँ छैन। आफन्तकहाँ जाउँ, रोगग्रस्त ठाउँबाट आएको भनेर झर्को मान्लान्,’ गिरीले भने,‘रिर्पोट नआउँदा सम्म पशुपतिको मन्दिरमा बास होला।’

टेकुु अस्पतालमा पुग्ने अधिंकास मानिसको कथा दारुण छ।

लाममै भेटिएका सलार्हीका मदन शाहलाई सुन्दा सोनालालकै जस्तो मर्म छचल्किन्छ। ५ महिनाअघि काठकाडौंमा काम नभएपछि उनी घर गएका थिए।

‘भएको पैसा पनि सकियो, घरमा श्रीमती सहित ५ जना बालबच्चा छन्,’ शाहले भने,‘ भोक लाग्यो भनेर रुन्छन्। घरमा बसेर काम गरौं भने खेतीपाती छैन।’

उनले बल्खु श्रेत्रमा १५ वर्षदेखि गाडीमा सामान अनलोडको काम गर्दै आएका छन्।

‘रिर्पोट नभई घरबेटीले नआउनु भनेको छ। रिर्पोट नआउँदा सम्म अब गोदाम नै बस्नु पर्ला,’ शाहले भने।

बाध्य भएर अस्पताल आउने सबैमा डर छ–न यहीबाट कोरोना सर्ने पो हो कि ! कोरोना सर्छ कि भनेर दुरी कायम गर्ने प्रयास गर्छन । तर त्यो भिडमा सम्भव भए पो ।

लाइन व्यवस्थापन गर्न ड्युटीमा खटिएका प्रहरीहरु उनीहरुलाई ‘पर–पर सरेर बस्नु’ भन्दै बेला–बेलामा आग्रह गरिरहेका हुन्छन्।

तर, थोरै ठाउँमा धेरै मानिस भएपछि कसरी व्यवस्थापन गर्न सकुन?

लाइनमा बस्नका लागि ३० रुपैँयाको टिकट काट्नुपर्छ। एउटै झ्याबाट टिकट दिने भएकाले ठेलमठेल नै हुन्छ।

अस्पतालको प्राङ्गणमा तीन ठाउँमा स्वास्थ्यकर्मी बसेका छन्। उनीहरुले त्यहिं ज्वरो नाप्छन्। ट्राभल हिस्ट्री सोध्छन्।

कोरोनाको लक्षण भएको वा संक्रमित व्यक्तिको सम्पर्कमा नआएको भए १४ दिन होम क्वारेन्टाइनमा बस्न सल्लाह दिन्छन्।

केहि शंका लागेमा परीक्षणका लागि पठाउँछन्।

टेकु अस्पतालमा दैनिक १२ सय देखि १५ सयको हाराहारीमा परीक्षण गर्न आउँछन्।

पछिल्लो समय भारतको विहार क्षेत्रका मानिसहरु ठूलो संख्यामा परीक्षण गर्नका लागि आइरहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले बताए।

‘अधिंकास बसाईसराइवाला कामदार रहेका छन। घर बनाउने, फोहोरमैला काम, तरकारी बेच्ने मानिसहरु छन्,’ उनले भने,‘ सबै जनाको यहीँ भीड हुँदा हामीले सामाजिक दुरी समेत कायम राख्न सकेका छैनांै।’

उनका अनुसार परीक्षण गर्न आउने नेपालीमा चाहिं अधिंकास रौतहट, बारा, पर्सा, सप्तरी, सलार्हीका छन्।

घरबेटीहरुले काभ्रे तथा सिन्धुपाल्चोकबाट आएका मानिसलाई पनि शंका मानेर परीक्षण गर्न पठाउने गरेका छन्। ‘जोखिममा नभएका लागि पनि घरबेटीले दुख दिने काम गरेका छन्,’ डा. भण्डारी भन्छन्।

दैनिक १५ सय मानिस कोरोना परीक्षणका लागि लाममा बस्छन्। उनीहरुमध्ये करीब ३ सय जनाको मात्र स्वाव लिइन्छ। बाँकीलाई काउन्सिलिङ गरेर फर्काइन्छ। आम मानिस, खास गरी मजदुर वर्ग परीक्षणका लागि टेकु नै जान्छन्।

निजी अस्पतालहरुमा पिसिआर परीक्षणका लागि ५ हजार ५ सय रुपियाँ तिर्नुपर्छ। टेकुमा टिकट शुल्क ३० रुपियाँबाहेक कुनै रकम लाग्दैन।  ‘आजको दिनमा हामीले झैं अन्य अस्पतालले पनि परीक्षण गरेको भए, यो भीड, थप जोखिम नहुने थियो,’ डा. भण्डारी भन्छन्।

‘कराउँदा–कराउँदा बल्ल स्वास्थ्य मन्त्रालयले उपत्यकामा १४ स्थानमा स्वाव संकलन गर्ने निर्णय गरेको छ,’ डा. भण्डारी भन्छन्,‘ हेरौँ अब केही दिनमा भीड अलि नियन्त्रण हुन्छ कि।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय