क्वारेन्टाइनमा आत्मदाह गरेका बस्याल : चौथो पटकसम्म किने रोजे मृत्यु

लकडाउन आंशिक रुपमा खुलेसँगै विद्यालयमा रहेका क्वारेन्टाइन विस्थापन गर्नुपर्ने भएपछि नगरपालिकाले अन्यत्र सार्न थालेको थियो।

सोही क्रममा साउन ११ गते रूपन्देहीको देवदह नगरपालिका-७ शीतलनगरमा कोरोना संक्रमितका लागि नयाँ क्वारेन्टाइन स्थापना गरिएको थियो। नेपाल मगर संघको कार्यालयमा नयाँ क्वारेन्टाइन बनाइएको थियो।

नगरपालिकाका अनुसार त्यहाँ दुई जना सुरक्षागार्डलाई दैनिक ज्यालादारीमा खटाइएको थियो। राति ड्युटी गर्नेलाई एक हजार र दिउँसोकालाई ८ सय रुपैयाँ दिने सर्त थियो।

२४ वर्षीय विपिन बस्याल रातको समयमा काम गर्थे। उनको घर देवदह नगरपालिका-५ हो।

वडाध्यक्ष पदम थापालाई बिहान राति साढे ३ बजे फोन आयो। बाहिर सुरक्षागार्डको शरीर दनदनी बलिरहेको देखेका कोरोना संक्रमितले थापालाई फोन गरेका थिए।

‘लौन, वडाध्यक्षज्यू, गार्ड त जलिरहेको छ, के गरौं,’ गेटभित्र थुनिएका संक्रमितले भने।

रातको बेला आकस्मिक रूपमा अरू कसैले कसले देख्ने त्यो दृश्य!

थापाले पहिले प्रहरीलाई फोन गरे र आफू घटनास्थल हिँडे।

‘म पुग्दा शरीरको ९० प्रतिशत भाग जलिसकेको थियो, प्रहरीले आगो निभाएर गाडीमा हाल्दैथिए,’ थापाले भने।

बस्याललाई तत्काल देवदह मेडिकल कलेजमा लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा उनको मृत्यु भइसकेको थियो।

थापाका अनुसार बस्यालले मट्टितेल खन्याएर शरीरमा आगो लगाएका थिए।

आत्मदाह गरेका युवा डिप्रेसनको सिकारमा परेका व्यक्ति थिए। यसअघि उनले तीन पटक आत्महत्याको प्रयास गरिसकेका थिए।

‘उनी डिप्रेसनको औषधी खाइरहेको व्यक्ति रहेछन्, यसअघि तीन पटक आत्महत्या प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले भने।

युवाले हात काट्ने, घाँटीमा पासो लगाउने र विष सेवन गरिसकेका थिए। यी तीन पटक उनलाई बचाइएको थियो।

बस्याल शरीरमा आगो लगाउनेसम्मको विक्षिप्त अवस्थामा कसरी पुगे भन्ने अनुसन्धान भइरहेको राठौरले बताए।

आत्मदाह गरेका बस्याल अरू कोही नभएर देवदह नगरपालिकाका स्वास्थ्य सह-संयोजक रामप्रसाद बस्यालका छोरा थिए। विपिन रामका एकमात्र छोरा हुन्।

क्वारेन्टाइन स्थापना गरे पनि त्यहाँ सुरक्षा गर्ने मान्छेको खाँचो परेको थियो। तर, आकस्मिक रूपमा कोही नभेटिएपछि रामप्रसादले आफ्नै छोरालाई क्वारेन्टाइनमा खटाएका थिए, दैनिक ज्यालादारीमा।

‘भनेको बेला मान्छे नभेटिएकाले उहाँले आफ्नो छोरालाई खटाउनुभएको थियो,’ वडाध्यक्ष थापाले भने।

क्वारेन्टाइनहरूको व्यवस्थापन अहिले स्थानीय तहहरूले नै गरिरहेका छन्। उनीहरूले आफ्नै स्रोतसाधन प्रयोग गरी क्वारेन्टाइन स्थापना गरेका छन्।

प्रहरीले क्वारेन्टाइनमा बेला-बखत मोबाइल टोली पठाउने गरेको भने थियो। बस्यालले आत्मदाह गरेको ठाउँदेखि एक किलोमिटर टाढा खैरहनीमा प्रहरी चौकी छ।

‘उनी आत्महत्याका लागि प्रयास गरिरहने व्यक्ति रहेको हाम्रो अनुसन्धानले देखाएको छ,’ प्रहरी उपरीक्षक हेमकुमार थापाले भने, ‘यसपटक शरीरमै आगो लगाएर मृत्युको बाटो रोजेको पाइयो। यसबारे हामी विस्तृत अनुसन्धान गरिरहेका छौं,’ थापाले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय