कोरोना तथ्यांकको गलत व्याख्या : डा. ओममूर्ति अनिल

कोरोना भाइरस (कोभिड–१९)को पिसिआर डेढ महिनाअघि दैनिक ५–६ हजारको हाराहारीमा भएको थियो। ६–७ सयको हाराहारीका मानिसमा कोरोना संक्रमण पुष्टि हुन्थ्यो।  जतिबेला देश लकडाउनको अवस्थामा थियो। मानिसहरू अलि सजक देखिन्थे।

त्यतिबेला संक्रमण विदेशबाट आएका र क्वारेन्टाइनमा बसेका व्यक्तिमा मात्रै सीमित थियो । त्यसबाहेक क्वारेन्टाइनमा संक्रमण भेटिएपछि उनीहरूकै कन्ट्रयाक ट्रेसिङका आधारमा मात्रै परीक्षण भयो ।

लक्षणविहीन र लक्षणसहितको अवस्था
जुन बेला क्वारेन्टाइनबाहेकका व्यक्तिको तथ्यांक पनि हामीसँग थिएन। त्यही आधारमा त्यतिबेला अधिकांश लक्षणविहीन केसहरू देखिएका थिए।  खोजी गर्दा भेटिएका संक्रमितमा पनि लक्षण थिएन, उनीहरूलाई अस्पताल भर्ना गर्नुपर्ने वा उपचार आवश्यक पनि देखिएको थिएन ।

अस्पतालका बेड, आइसियु र भेन्टिलेटर प्रयोगमा थिएन। जतिबेला स्रोत नखुलेका केसहरू दैनिक एक–दुई जनाको संख्यामा देखिन्थ्यो।  आजभोलि पनि दैनिक ५–७ हजारको हाराहारीमा परीक्षण कायम रहँदा संख्या घटेको छैन। तर, अहिले क्वारेन्टाइनका व्यक्तिहरूमा कम र बाहिरका व्यक्तिमा बढी परीक्षण भइरहेको छ।

सम्पर्क स्रोत नखुलेका संक्रमण
अहिले जुन पोजेटिभ केसहरू देखिइरहेका छन्, अधिंकाश स्रोत नखुलेका छन्।  अहिले समुदायस्तरका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। उनीहरूमा कडा खालका लक्षण पनि देखिएको छ। यस्ता धेरै संक्रमित अस्पतालमा उपचार चाहिने कारणले भर्ना भइरहेका छन्।

सुरुका दिनमा संक्रमण पुष्टि हुनेबित्तिकै अस्पताल भर्ना हुने गरिएको थियो। तर, अहिलका संक्रमितलाई जटिल किसिमको लक्षण देखिएको हुनाले उपचार चाहिएको छ।  जति अहिले दैनिक २–३ सय संक्रमण भेटिएकामा स्रोत नखुलेका केस बढी छन्।

पहिला ६–७ सय कोरोना संक्रमणको केस पुष्टि हुनु र अहिले २–३ सय कोराना पोजेटिभ आउनु धेरै फरक छ। एक–दुई स्रोत नखुलेको केस देखिनु र अहिले दैनिक १००–१५० स्रोत नखुलेको केस देखिनुले १ सय गुणाभन्दा बढी समुदायमा भाइरस उत्पादन भइहरहेको छ भन्ने देखाउँछ ।

जसले भयावह अवस्था निम्त्याइरहेको छ। अन्य विकसित देशहरूको अवस्था हेर्दा यही भएको थियो। तीन महिना हामीले लकडाउन गर्यौं। देशभित्र कोरोना संक्रमण छिरेको थिएन। तीन महिनासम्म क्वारेन्टाइनबाहेक समुदायमा गएको थिएन।

अब हामी समुदायतिरका मानिसमा परीक्षण गर्न थाल्यौं। अब बल्ल सुरुवाती फेजमा हामी गएका छौं। यसले १–२ महिनाबीचमा समुदायमा विस्फोट रूपमा देखिने सम्भावना छ।

उपचारको अवस्था

अहिले यति थोरै केस हुँदा आइसियु, भेन्टिलेटर नपाएर मानिसहरूको बाटोमा नै मृृत्यु हुने र बेड नपाएर एक अस्पतालबाट अर्को अस्पताल रेफर गर्नुपर्ने अवस्था आइसकेको छ ।  यो अवस्थामा संक्रमण केसहरू बढ्यो भने ती संक्रमितलाई कहाँ भर्ना गर्ने? कसरी उपचार गर्ने? जस्ता लामो समयदेखि सोचेर यो अवस्था नेपालमा आउन सक्छ भने जानकारी थियो। तर, स्रोत–साधन कम भएको हुनाले हाम्रो स्वस्थ्य क्षमताले ध्यान नसक्ने अवस्था छ।

अझै पनि विभिन्न गलत व्याख्या गरिँदै छ। सर्वसाधारणले पहिला ७ सय केस देखिँदा अहिले २ सय केस केही होइन भनेर सोचिरहेका छन्। मेरो नजरले हेर्दा संक्रमणले सयौं गुणा जटिल रूप लिइरहेको छ ।

मृत्युदर र गलत सूचना
विदेशको तुलना गरेर नेपालमा मृत्यदर कम भएको भन्ने गरिएको सुन्न पाइन्छ । स्वास्थ्य मन्त्रालयले हालसम्म स्रोत नखुलेको केस विश्लेषण गरेर भनोस् कि नेपालमा संक्रमणदर बढेको छ कि छैन?

विदेशबाट आएका आयातित केस हजार जनामा संक्रमण देखिए पनि कुनै डर हँदैन। तर, काठमाडौंको टोल–टोल, सहर, गाउँमा देखिन थालेपछि जोखिमको अवस्था पहिलाजस्तो सामान्य रहन्न । म महामारीसम्बन्धी आँकडाहरूलाई नजिकबाट हेरिरहेको आधारमा भन्न सक्छु कि पहिला ७ सय केस हुँदा पूरै सेफ थियौं र अहिले १ सय हुँदा पनि जोखिम छौं।

अहिलेको अवस्था मध्यनजर गर्नेले सतर्कता अपनाउनुपर्छ । सर्वसाधारणलाई केस घटेको हो भनेर भ्रममात्र छरिएको छ। यो महामारीसम्बन्धी सही सूचना एवं तथ्यांक दिने र रोगको वास्तविक अवस्थाबारे सचेत गराउने भन्दा महामारीको वास्तविकतालाई अर्कै तथ्यांक मिथ्यांकको प्रयोग भइरहेको छ ।

(मुटुरोग विशेषज्ञ डा. अनिलसँग हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय