भाइरसले स्वरुप परिर्वतन गर्दै, पर्सामा अहिलेको परीक्षणले पुग्दैन

पर्सामा कोरोना भाइरसको संक्रमण बढ्दो गतिमा छ। पर्सामा शुक्रबार थप ४१ कोरोना संक्रमण पुष्टि भयाे । पर्सामा कोरोना संक्रमण जनस्तरमा फैलिएको दाबी नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले गरेका छन्।

विभिन्न तहका व्यक्तिमा भाइरसको संक्रमण रहेको पुष्टि हुन थालेको छ। सरकारी कर्मचारी, व्यापारी, उद्योगी, अस्पतालका स्वास्थ्यकर्मी र ट्राभल हिस्ट्री नभएका मानिसमा पनि संक्रमण देखिएको छ,’ उनले भने, ‘संक्रमणको स्थिति हेर्दा अब समुदाय स्तरमा फैलिएको भन्न सकिन्छ।’

नेपालमा पहिला ९७ प्रतिशतभन्दा बढी मानिसमा भाइरसको लक्षण देखा परेको थिएन। तर, आजभोलि लक्षण भएका केसहरू बढ्दै गएका छन्। अहिलेको संक्रमणको केस नियाल्दा स्वरुप परिर्वतन भएको आँकलन डा. उपाध्यायको छ।

‘भाइरसको स्वरुप परिर्वतन भएको वा अन्य भाइरस पनि आएको हो यो विषयमा अनुसन्धान हुनुपर्दछ। अहिले कोरोना लक्षण पनि कडा हुँदै गएको छ,’ सुपरिटेन्डेन्ट उपाध्याय भन्छन्, ‘धेरै केस आइसियुमा जान थालेका छन्। यस्ता कारणले गर्दा भाइरसले स्वरुप परिवर्तन गरेको आँकलन गर्न सकिन्छ।’

पर्सामा बिहीबार मात्र ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पर्सामा हालसम्म मृत्यु हुने कोरोना संक्रमित संख्या ९ पुगेको डा. उपाध्यायले जानकारी दिए।

२८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण 

शुक्रबार नारायणी अस्पतालमा कार्यरत २८ चिकित्सक तथा स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। जसका कारण अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव भएको डा. उपाध्याय बताउँछन्।

उनका अनुसार २ जना फिजिसियन, ४ जना अर्थोपेडिक सर्जन, एकजना सर्जन, एकजना मेडिकल अधिकृत हुन्। त्यसैगरी, ६ जना नर्सिङ स्टाफ, ४ जना पारामेडिक्स अहेब, तथा एचए, एकजना एम्बुलेन्स चालक, एकजना प्रशासन तर्फका कर्मचारी, ३ जना कार्यालय सहयोगी र अन्य सरसफाइका कर्मचारी छन्।

ठूलो संख्यामा स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि अहिले अस्पतालका सबै सेवाहरू बन्द गरिएका छन्।

स्वास्थ्यकर्मी अभाव भएपछि अस्पतालले केन्द्र सरकारसँग चिकित्सक र नर्सिङ स्टाफ माग गरेको छ।

‘चारजना फिजिसियन, १० जना मेडिकल अफिसर र १४ जना नर्स र अन्य केही सहयोगी स्वास्थ्य मन्त्रालय तथा स्वास्थ्य सेवा विभागसँग माग गरेका छौं,’ डा. उपाध्यायले भने, ‘हेरौं केही दिनभित्रमा सरकारले जनशक्ति पठाउँछ कि?’

धेरै संख्यामा स्वास्थ्यकर्मीमा संक्रमण कसरी? 

पछिल्लो समयमा समूहमा बस्नेहरूमा संक्रमण बढिरहेको   छ। पछिल्ला दिनमा प्रहरी, स्वास्थ्यकर्मी, जनसम्पर्कमा हुने व्यक्तिमा संक्रमण बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन्।

नारायणी अस्पतालले जनस्वास्थ्यको मापदण्ड फलो नगरेका कारण स्वास्थ्यकर्मीमा कोरोना संक्रमण ठूलो संख्यामा देखिएको डा. गौतमले बताए। सम्पूर्ण स्वास्थ्यकर्मीलाई मास्क, पन्जा र एप्रोन नलगाई बिरामी नहेर्न उनले अनुरोध गरे।

तर, अस्पतालका स्वास्थ्य सुरक्षाकवजले पनि संक्रमण रोक्न नसकिएको डा.उपाध्याय बताउँछन्। ‘जतिसुकै हामीले स्वास्थ्य सुरक्षाकवज लगाए पनि स्वास्थ्यकर्मीलाई संक्रमण बढेको छ,’ उनले भने,‘ हामीभन्दा अन्य विकसित देशमा सुरक्षा सामग्री थियो होला नि, आज दिनमा उनीहरूलाई पनि संक्रमण देखिइरहेको नै छ।’

आइसोलेसन बेडको अभाव, होम आइसोलेसनमा २ सयभन्दा बढी 

नारायणी अस्पतालमा हाल ६२ जना कोरोना संक्रमित उपचाररत छन्। तीमध्ये ४ जना आइसियुमा छन् भने २ जनाको अवस्था गम्भीर नै रहेको अस्पतालले जनाएको छ।

यस्तै, होम आइसोलेसनमा संक्रमित संख्या २ सयभन्दा बढिरहेको डा.उपाध्यायले जनाए। ‘हाम्रो अस्पताल ५० बेडको हो। संक्रमित बढ्नपछि जेनतेन १० बेड थप गरेर ६० पुर्याएका छौं,’ डा. उपाध्यायले भने, ‘अहिले मैले मेरे अस्पतालका कर्मचारीलाई पनि अस्पतालको आइसोलेसनमा राख्न सकेको छैन। अहिले २ सयभन्दा बढी संक्रमित फोर्स होम आइसोलेसनमा हुनुहुन्छ।’

पर्सामा अर्को कोरोना विशेष अस्पताल र सोहीअनुसारको जनशक्ति आवश्यक रहेको उनले बताए।

परीक्षण गर्न चुनौती, मास टेस्टिङ भएन

कोरोना भाइरसको संक्रमणको आँकलन गर्न लगाउनका लागि समुदायस्तरमै धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने डा. उपाध्याय बताउँछन्। पर्सामा लकडाउन भए पनि कोरोना संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन्। पर्सामा कोरोना परीक्षण गर्न चुनौती छ। अस्पतालमा दैनिक ३ सयदेखि ४ सयको हाराहारीमा नमुना परीक्षण हुने गरेको उनले बताए।

अस्पतालमा आएका आशंका गरिएकाको नमुना संकलन गरी परीक्षण भइरहेको छ।

यस्तै वीरगन्ज महानगरपालिका र स्वास्थ्य कार्यालयले पनि कन्ट्रयाक ट्रेसिङका परेकाको नमुना संकलन गरेको छ। तर, समुदायमा परीक्षण गरेर मात्र पर्सामा कोरोना संक्रमित पहिचान र रोग नियन्त्रण हुन नसक्ने उनको दाबी छ।

‘अहिले भइरहेको नमुना संकलन र परीक्षणले मात्र पुग्दैन, दिनमा २ सय, ४ सय ५ सय नमुना संकलन गरेर मात्र हुँदैन,’ उनले भने, ‘मास टेस्टिङ आवश्यक छ।’

वीरगन्जका हरेक वडामा समुदायस्तरमा परीक्षण हुन सकेको छैन। ‘अहिले यहाँ मास टेस्टिङ गर्न जरुरी छ, तर स्थानीय तहबाट सम्भव छैन,’ डा. उपाध्यायले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय