कोरोनाबाट नेपालमा थप ४ को मृत्यु, मृतकको संख्या ५६ पुग्यो

पछिल्ला दिनमा कोरोनाको संक्रमण र जटिलता बृद्धिसँगै मृतकको संख्या पनि बढ्न थालेको छ । शुक्रबार विहान पाटनमा उपचाररत ६५ वर्षे महिलाको मृत्यु भएको छ । उनको काठमाडौं बाहिरबाट रेफर भएर साउन ६ गते पाटनको आइसियुमा उपचार भइरहेको थियो ।

पर्सा जिल्लामा बिहीबार मात्रै कोरोना संक्रमणबाट तीनजनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट ५६ वर्षीय भरतीय नागरिकसहित ३५, र ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

दुई कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने एकजनाको घरमै मृत्यु भएको हो।

वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मेवनाथ शर्माको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ५६ वर्षीय सिइओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो।

यसअघि वीरगञ्ज–१६ नगवाका ३५ वर्षीय पुरुषको गण्डक कोरोना अस्पतालमा उपचारका क्रममा निधन भएको छ। ज्वरो आउने, श्वासप्रस्वासमा समस्या लिएर मंगलबार आइपुगेका उनको स्वाबको नमुना लिएर इमजेन्सीमा भर्ना गरिएको थियो।

उनको उपचारको क्रममा बिहीबार साँझ पौने आठ बजेतिर मृत्यु भएको अस्पतालका चिकित्सक निरज सिंहले जानकारी दिए। ज्वरो आएपछि उनी साउन ५ गते निजी क्लिनिकमा पुगेका थिए। तर, स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई हस्पिटलमा भर्ना गरिएको थियो।

त्यहाँबाट उनलाई सोही दिन कोरोना अस्पतालमा रिफर गरिएको थियो। मृत्युपछि बिहीबार राति उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको डा. सिंहले बताए।

वीरगञ्जमा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ। घरमै मृत्यु भएका उनमा पनि कोरोना पुष्टि भएको छ।

वीरगञ्ज–२ छपकैयाका ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। घरमै मृत्यु भएको जानकारी आएपछि नारायणी अस्पतालको टोलीले गएर दिउँसो स्वाब संकलन गरेको थियो। बेलुका पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको डा. सिंहले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय