प्रहरीका थप १८ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या दुई सय ५०
प्रहरी प्रधान कार्यालयका थप १८ जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ।
प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार बिहीबार साँझसम्म ५४ जनामा संक्रमण देखिएको थियो।
तिनै संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा थप १८ जनामा कोरोना देखिएको कडायतले बताए।
यससँगै देशभर नेपाल प्रहरीमा कोरोना संक्रमण संख्या २ सय ५० पुगेको छ। जसमध्ये १०१ जना निको भएर फर्किएका छन्।
कडायतका अनुसार संक्रमितहरूको उपचारका लागि सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा उपचार भइरहेको छ। सुरूमा चार जनामा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ थालिएको थियो।