देउखुरी आइसोलेसन सेन्टरको खर्च ४० लाख

दाङको देउखुरीमा रहेको राप्ती प्राबिधिक शिक्षालयमा रहेको देउखुरी कोरोना विशेष आईसोलेसन सेन्टरको करिव डेढ महिनाको अवधिमा ४० लाख खर्च गरेको छ।

आइसोलेसन सेन्टर व्यवस्थापनदेखि कोरोना संक्रमितहरूको उपचारका लागि उक्त रकम खर्च गरेको आइसोलेसन सेन्टर व्यवस्थापन समितिले जानकारी दिएको छ।

देउखुरीका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका मिलेर गएको जेठको ३० गतेदेखि सञ्चालनमा आएको थियो। देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टर संचालनको निम्ति संकलन गरिएको रकमको हिसाब खर्च सार्वजनिक गरिएको हो।

जसमा सिसि क्यामेरा र विद्युत् उपकरण खरिद, वायरिङ प्लम्विङमा ७ लाख ९८ हजार ४ सय ७८ रुपैयाँ खर्च भएको जनाएको छ। त्यसैगरी सुरक्षा व्यवस्थापनका लागि पर्खाल तथा टिनको तारवारका लागि २ लाख ४९ हजार ७३ रुपैयाँ, अस्पताल व्यवस्थापन तथा सामाग्री खरिदमा १ लाख २८ हजार ६ सय १५ रुपैयाँ, ल्यापटप प्रिन्टर खरिदमा १ लाख ५० हजार, मेडिकल उपकरण औषधी खरिदमा १ लाख ९२ हजार १ सय २० रुपैयाँ, खाना तथा घर भाडा खर्चमा २ लाख १९ हजार ५० रुपैयाँ, आईसोलेशन खाजा खर्चमा १ लाख ९९ हजार ३ सय २०, इन्धन खर्चमा ३६ हजार गरि कुल ४० लाख खर्च भएको जानकारी दिएको छ।

राप्ती गाउँपालिकाको कोरोना विपद् व्यवस्थापन समितिले थप ३० हजार १ सय ९२ रुपैयाँ बढी खर्च भएको बताएको छ। हालसम्म लमही नगरपालिकाभित्र १५ जना, राप्ती गाउँपालिका २७ जना, गढवा गाउँपालिकाका २९ जना र राजपुर गाउँपालिकाका १५ जना कोरोना भाइरस विरामीहरू निको भएर घर फर्किएको देउखुरी कोरोना आईसोलेशन सेन्टरका प्रमुख डाक्टर पुष्प भुषालले जानकारी दिएका छन्।

उनका अनुसार अव लमहीका ३ जना, राप्तीका ३ जना, गढवाका ७ जना र राजपुरका ३ जना गरि १६ जना कोरोना भाइरसका विरामीहरूको सेन्टरमा उपचाररत रहेका छन्। देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टरले खर्च रकम सार्वजनिक गरेपनि घोराही आइसोलेसन सेन्टर तथा कोरोना विशेष अस्पतालले भने गरेका छैनन्।

तर, देउखुरी कोरोना विशेष आईसोलेशन सेन्टर सञ्चालनका लागि प्रदेश सरकारले उपलब्ध गराउने भनेको दश लाख रुपैयाँ नपठाएको समेत जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय