१० सेनामा कोरोना पुष्टि, जसले संक्रमितको शव व्यवस्थापन गरेका थिए

महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ। महोत्तरीको प्रकौलीस्थित रणभीम गणका दशजना नेपाली सेनामा संक्रमण पुष्टि भएको हो।

केही दिनअघि कोरोना संक्रमणका कारण महोत्तरीको महोत्तरी गाउँपालिका डाम्ही मडईका मृत्यु भएका एकजनाको शव व्यवस्थापनमा उनीहरू खटिएका थिए।

गणका दशजना नेपाली सेनामा संक्रमण पुष्टि भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जनाएका छन्। संक्रमित सबैजना केही दिनअघि कोरोना संक्रमणका कारण मृत्यु भएका एकजनाको शव व्यवस्थापनमा खटेको उनले बताए।

‘शव व्यवस्थापनमा खटिएका २० जना नेपाली सेनाको स्वाब परीक्षण गर्न लगाएका थियौं, १० जनामा संक्रमण पुष्टि भएको छ,’ प्रमुख जिल्ला अधिकारी कटुवालले भने। संक्रमित सबैजनालाई बर्दिवासको किसान नगरस्थित नेपाली सेनाको क्वारेन्टाइनमा पठाइएको उनले जानकारी दिए।

यता, जनकपुरको माछापुच्छ्रे बैंकका एक कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ। मिल्स एरियास्थित माछापुच्छ्रे बैंकको शाखामा कार्यरत एक कर्मचारीमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन्।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बैंकलाई सिल गर्ने विषयमा छलफल भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय