वीरगन्जमा कोरोना संक्रमितको उपचार गर्न ठाउँ अभाव

वीरगन्जमा दिनहुँ कोरोना संक्रमित थपिरहँदा उनीहरूको उपचारलाई ठाउँ अभाव हुन थालेको छ।

पर्सा जिल्लामा पछिल्ला दिन कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढिरहेको अवस्था र समुदायस्तरमै संक्रमण फैलिएपछि मास टेस्टिङ र एक घर एक परीक्षण कार्यलाई तीव्र पारिएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा दैनिक १ सय देखि १५० जनाको परीक्षणमा १० देखि २० जनाबीचमा कोरोना संक्रमण पुष्टि भइरहेको छ।

गत वर्ष चैत महिनाको अन्तिम सातादेखि कोरोनाको संक्रमण देखिएपछि वीरगन्ज हटस्पट बन्यो। सरकारले त्यतिबेला हतारहतारमा नारायणी अस्पताललाई कोभिड अस्पताल घोषणा गर्यो।

प्रदेश २ कै कोरोना संक्रमितलाई नारायणी अस्पतालमा उपचार हुन थालेपछि वीरगन्जवासीले चर्को विरोध पनि गर्यो। नारायणी प्रदेश २ को ठूलो अस्पतालको रूपमा चिनिन्छ। यसले दैनिक पर्सा, बारा, रौतहट जिल्लाका जनतालाई सेवा दिँदै आएको थियो। तर कोभिड अस्पताल बन्दा सबै सेवा बन्द हुन पुग्यो।

वीरगन्जमा कोरोनाको कहर बढेपछि वीरगन्जवासीले सडकमा आएर सरकारको विरोध प्रदर्शन गर्न थालेपछि सरकारले नारायणी अस्पताललाई पुनः जनरल अस्पताल बनायो। महानगरपालिकाले स्थायी कोभिड विशेष अस्पताल बनाउन निजी अस्पतालसँग आग्रह गरे पनि वीरगन्जमा रहेको कुनै निजी अस्पताल तयार भएन। जेठ महिना सुरु भयो। कोरोना संक्रमित भेटिन थाल्यो तर राख्ने ठाउँ भएन।

युवा नेताका रूपमा नेकपा वीरगन्ज महानगर कमिटी अध्यक्षसमेत रहेका गण्डक अस्पताल सञ्चालक रहवर अन्सारीले विषम परिस्थिति मध्यनजर गरेर महानगरपालिकालाई कोभिड अस्पताल सञ्चालन गर्न दिने घोषणा गरेका थिए।

गण्डक अस्पतालमा १० बेडको आईसियू र ३ वटा भेन्टिलेटर छ। अस्पताल र महानगरबीच भएको १३ बुँदे सम्झौता पत्रमा निःशुल्क रूपमा ३ महिनासम्म अस्पतालको भवन, शय्या तथा भवनमा जडित प्रयोग भइरहेको सम्पूर्ण उपकरण उपलब्ध गराउने, अस्पतालको व्यवस्थापन, उपकरणको मर्मत सम्भार खर्च, जेनेरेटर, विद्युत महसुल, खाना खर्चलगायत अन्य सञ्चालन खर्च महानगरपालिकाले बेहोर्ने उल्लेख गरियो।

महानगरले २४ घण्टाभित्र कोभिड अस्पतालमा परिणत गर्नुपर्ने र त्यहाँ रहेको बिरामीको व्यवस्थापन महानगरले नै गर्ने, चिकित्सक तथा अन्य जनशक्तिको व्यवस्थापनका लागि गठन गरिने प्राविधिक समितिका संयोजक नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको निर्देशनअनुसार हुने सम्झौतामा भएको थियो।

गण्डकमा अस्थायी कोभिड विशेष अस्पताल स्थापनाका लागि महानगरसँग गरेको सम्झौता साउन १८ गते सकिँदै छ। तर साउन पहिलो साताबाट एकाएक पर्साको वीरगन्जमा कोरोना भाइरसका संक्रमित बढेसँगै केही संक्रमितको मृत्युसमेत भइसकेको छ। संक्रमित बढेसँगै आइसोलेसनमा बेडसमेत अभाव हुन थालेको छ। समुदायस्तरमा कोरोना संक्रमण फैलिइसकेको स्वास्थ्यकर्मीहरू बताउँछन्। तर संक्रमितको उचित व्यवस्थापन हुन सकेको छैन।

अहिले गण्डक कोरोना विशेष अस्पतालमा बेड खाली छैन। संक्रमित बढेसँगै अस्पतालमा ठाउँ नभएपछि कति संक्रमितहरू घरमै रहने अवस्था छ। तर गण्डक कोरोना विशेष अस्पतालको म्याद सकिनै लाग्दा सञ्चालक रहवर अन्सारीले पुनः तीन महिना अस्थायी कोभिड अस्पतालको रूपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन्।

वीरगन्जमा प्रदेश २ कै ठूला अस्पताल छ तर कसैले कोभिड अस्पताल बनाउन आँट गरेन। गण्डक अस्पतालका सञ्चालक अन्सारीले आफ्नो अस्पताल निःशुल्क रूपमा दिने निर्णय गरेपछि वीरगन्जमा उनको चर्चा सुरु भएको छ।

अन्सारीले आफ्नो फेसबुक वालमा लेखेका छन् ‘ती महिनाअगाडि पर्सा, बारालगायत समग्र प्रदेश २ मै सन्त्रासको अवस्था सुरु भयो। समाज र जनताका निमित्त अधिकतम सहयोग र सद्भाव देखाउने क्रममा गण्डक हस्पिटल स्थानीय सरकारलाई सुम्पियौं।

अनेक बाधा अड्चन, आलोचना र अधिकतम राजनीति बेहोर्नुपर्यो। सम्बन्धित सरोकारवाला निकायसँग न्युनतम जिम्मेवारी बोधसमेत नभएको देखियो। पुनः ३ महिनाका लागि गण्डक अस्पताल स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णयमा पुगेका छौं।’

आफूले कुनै स्वार्थ नराखी नितान्त देश, समाज र जनताको हितका लागि सहयोग गरेको उनको भनाइ छ।

पर्सामा कति संक्रमित

पर्सामा हालसम्म ८ हजार ९ सय ५ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको छ। तीमध्ये हालसम्म २ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसमध्ये १२ जना भारतीय नागरिक, ११ स्वास्थ्यकर्मी, २ जना पत्रकार र एकजना एम्बुलेन्स चालक छन्।

भारतीय नागरिक तथा अन्य जिल्लाका नागरिकसमेत गरी कुल ८ जना कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ। पुष्टि भएका संक्रमितमध्ये हालसम्म १ सय ६२ जना कोरोनामुक्त भएपछि डिस्चार्ज गरिएको छ।

साउन महिनाको १४ गतेसम्म मात्रै १ सय १३ जना संक्रमण पुष्टि भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। संक्रमणमध्ये ५७ जना नारायणी अस्पतालअन्तर्गत गण्डक कोरोना विशेष अस्पतालमा उपचाररत रहेको बस्नेतले जनाए।

उनीहरूमध्ये अधिकांशमा लक्षणयुक्त ६ र ४ जना आईसियूमा छन्। संक्रमण पुष्टि भएकामध्ये अधिकांशलाई होम आइसोलेसनमा राखिएको बताए।

उनले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेट गरिराख्न र लक्षण भएका बिरामीलाई कोभिड अस्पताल र अन्यलाई आइसोलेसन सेन्टर तथा होम आइसोलेसनमा राखिने बताए ।

कोरोना नियन्त्रण गर्नका लागि वीरगन्ज उद्योग वाणिज्य संघमा मंगलबार आयोजित सर्वपक्षीय छलफलमा मुख्यमन्त्री, मन्त्री, प्रदेशका सुरक्षा प्रमुखहरू र राजनीतिक दलका प्रतिनिधिहरू कोभिड अस्पतालको विषयमा छलफल गरे पनि टुंगो लागेन। छलफलमा सहभागी अन्यले वीरगन्जमा कम्तीमा ५ सय बेडको कोरोना अस्पताल आवश्यक रहेको बताएका छन्।

वीरगन्जको स्थिति बिग्रँदै गएकाले यहाँका बासिन्दाको स्वास्थ्यका लागि कोरोना अस्पताल तत्काल बन्नुपर्ने उनीहरूको धारणा थियो। तर वीरगन्जमा कोभिड अस्पताल स्थापनाका लागि ठाउँ छनोट हुन सकेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय