बुवाको कोरोनाबाट मृत्यु, छोरीमा दोस्रोपटक संक्रमण

स्याङ्जाका ५८ वर्षे पुरुषको गत जेठ २६ मा पोखरामा मृत्यु भयो। मृगौला पीडित उनमा सुगर, रक्तचाप, रक्तअल्पता, सेप्टिसिमिया (रगतमा ब्याक्टेरियाको संक्रमण हुने रोग) लगायतको समस्या थियो।

त्यसमाथि पनि कोरोना भाइरस शरीरमा छि-यो। प्रयोगशालाले कोरोना पुष्टि गरेको रातमा उनको अस्पतालको शैय्यामा मृत्यु भएको थियो। उनको हेरचाहमा खटिएका छोरी र श्रीमतिमा पनि एक हप्तापछि कोरोना पुष्टि भयो।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराएपछि आमाछोरी घर फर्किए। तर घर फर्किएको एक महिनापछि मृतक पुरुषकी ३० वर्षीया छोरीमा फेरि कोरोना पुष्टि भएको पोखरा महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ।

पोखरा–१० मा डेरा गरी बस्दै आएकी उनमा सोमबार कोरोना देखिएको हो। संक्रमत युवती नर्ससमेत हुन्। उनी पोखराको गण्डकी मेडिकल कलेजमा कार्यरत छन्। तर उनी एक महिनादेखि अस्पताल गएकी छैनन्।

बुवाको कोरोनाबाटै मृत्यु भएपछि उनी अस्पताल नआएको मेसु डा. टुमाया घलेले बताइन्। उनले भनिन्, ‘उहाँ बिदामा हुनुहुन्छ। अस्पतालमा कुनै जोखिम छैन। उपचारलाई आउन डराउनुपर्दैन।’

पहिलोपटक उनमा भारतबाट फर्किएका बुवाबाट कोरोना सरेको थियो। पोखरा बस्ने गरे पनि ती नर्सको घर स्याङ्जाको वालिङ नगरपालिका ३ हो। गाउँ जानलाई स्वाब परीक्षणका लागि दिएकोमा उनमा सोमबार कोरोना पुष्टि भएको हो।

कोरोनाबाट मृत्यु भएका ५८ वर्षे उनका बुवालाई वालिङ नगरपालिकाले जेठ २२ मा उद्धार गरेर ल्याएको थियो। छिमेकी मुलुक भारतको दिल्लीबाट झन्डै आठ सय ९० किलोमिटरको दुरी पार गरेर बुवा र आमा डेढ महिना पहिले नेपाल छिरेका थिए।

सीमाबाट १ सय २१ किलोमिटरको दूरी पार गरेर गृहजिल्ला स्याङ्जा आएका उनलाई सिधै पोखरा ल्याइएको थियो। वालिङ नगरपालिकाको क्वारेन्टाइनमा रात बिताएर स्वास्थोपचार गर्न भोलिपल्टै झिसमिसे उज्यालोमा पोखरा आएका थिए।

सोमबार नै मनिपाल शिक्षण अस्पतालका एक डाक्टरमा कोरोना पोजेटिभ देखिएको छ। दुवैको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय