एसपीसहित स्याङ्जाका १८ प्रहरीमा कोरोना पुष्टि

स्याङ्जामा १८ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

एसपी विमलराज कँडेलसहित १८ प्रहरीमा सोमबार कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिएका छन्।

साउन ६ गते दुई हबल्दार र एकजना सिपाहीमा संक्रमण पुष्टि भएपछि कार्यालयमा कार्यरत सबैको स्वाब संकलन गरिएको थियो। त्यसपछि प्रहरी कार्यालय सिल गरिएको थियो।

‘दुई पटक गरेर एसपी साबसहित गरेर एक सय जनाको स्वाब पठाएका थियौं। आज पोजेटिभ रिपोर्ट आएछ,’ उनले भने।

प्रहरी र संक्रमितको सम्पर्कमा आएका गरी एक सय जनाको स्वाब पोखरा पठाइएको थियो। त्यसमध्ये १७ पुरुष र एक महिलामा सोमबार पोजेटिभ पुष्टि भएको हो। परीक्षणका लागि पोखरा ल्याइएका स्वाबमध्ये ६० जनाको रिपोर्ट आउन बाँकी छ।

संक्रमित प्रहरी अधिकारीलाई कालिका सामुदायिक अस्पताल र क्वारेनडाँडा आइसोलेसनमा व्यवस्थापन गरिने प्रमुख शर्माले जानकारी दिए। उनले भने, ‘एसपी साब आफ्नै क्वाटरमा बस्न चाहनुभए त्यहीँ राख्छौं। अरुलाई आइसोलेसनमा लैजान्छौं।’

स्याङ्जामा सोमबार प्रहरीबाहेक अरुमा कोरोना पुष्टि भएको छैन। योसहित जिल्लाभर संक्रमितको संख्या २ सय २३ पुगेको छ। संक्रमितमध्ये एक सय ८८ जना निको भएका छन् भने दुईजना पुरुषको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय