उपमहानगरपालिकाकै क्वारेन्टाइनमा हुँदैन परीक्षण

जनकपुरधाम उपमहानगरपालिकाले वडा नम्बर–४ स्थित गोपालधर्मशालामा सञ्चालन गरेको क्वारेन्टाइनमा स्वाब परीक्षण नभएको भन्दै त्यहाँ बसेकाहरू आक्रोशित बनेका छन्।

दुई साताभन्दा बढी भइसक्दासमेत स्वाब परीक्षण नगरेको भन्दै उनीहरू आक्रोशित बनेका हुन्। स्वाब परीक्षणका लागि आलटाल गरिएको भन्दै उनीहरू क्वारेन्टाइन बाहिर निस्केर नारा जुलुससमेत गरेका छन्।

क्वारेन्टाइन बसेको १५ दिन भइसक्दापनि आफूहरूको हालसम्म परीक्षण गर्न स्वाबसमेत संकलन नभएको भारतबाट फर्केर स्वयं क्वारेन्टाइनमा भर्ना भएका जनकपुरधाम–२१ कुर्था बस्ने जिलाजितकुमार साहले बताए।

भारतको हरियाणा राज्यको कुरुक्षेत्रमा इन्जिनियरिङ अध्ययन गरिरहेका उनी १५ दिनअघि जनकपुर फर्केका थिए। निजीमा परीक्षण नभएकोले उनी स्वयं उपमहानगरले सञ्चालन गरेको गोपाल धर्मशालास्थित क्वारेन्टाइनमा भर्ना भएका थिए। तर, अहिलेसम्म उनीसहित कसैको स्वाब संकलनसमेत भएको छैन्।

‘कोरोना परीक्षण गराएर घर जाँदा ठीक हुन्छ भनेर म स्वयं यहाँ आएर बसे, क्वारेन्टाइन बसेको १५ दिन भइसक्यो,’ उनी भन्छन्,‘तर अहिलेसम्म स्वाबसमेत लिएर गएका छैनन्।’ स्वाब परीक्षणको लागि पटक पटकभन्दा पनि सुनवाइ नभएपछि बाध्य भएर बाहिर निस्केर विरोध गर्नु परेको उनले बताए।

‘स्वाब परीक्षणको लागि भनेपछि कहिले आज हुने, कहिले भोलि हुने भन्दै आलटाल गरिरहेका छन्, हामी यहाँ खाना खान बसेका छैनौं,’ साह भन्छन्,‘चाँडै परीक्षण नगरिए आज हामी परिसरभित्रै विरोध गरेका छौं, भोलिदेखि बाहिर सडकमा निस्केर विरोध गर्न बाध्य हुने छौं।’

तीनजना बालबालिकासहित अहिले गोपाल धर्मशाला क्वारेन्टाइनमा २३ जना छन्। २३ जनामध्ये अधिकांश त्यहाँ आएको १५ दिनभन्दा बढी समय भइसकेको छ। क्वारेन्टाइन बसेको १४ दिनभित्र स्वाब परीक्षण गर्नुपर्ने भनिएपनि त्यहाँ स्वाब संकलनसमेत हुनसकेको छैन्।

क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी चन्द्रदेव शर्माले पनि स्वाब परीक्षणमा ढिलाइ भइरहेको सकारे। तोकिएको समयभित्र स्वाब परीक्षण हुन नसकेपछि आक्रोशमा आएर कतिपयले तोडफोडसमेत गरिसकेको शर्माले बताए।

‘हामीले सम्बन्धित निकायलाई खबर गर्ने हो, परीक्षणको लागि हामीले पटक पटक जानकारी गराएका छौं,’ शर्मा भन्छन्,‘तर स्वाब संकलन गर्न नआइदिएपछि हामी के नै गर्न सक्छौं र ?’ समयमा स्वाब परीक्षण हुन नसकेपछि क्वारेन्टाइनभित्र थप जोखिम बढेको उनको भनाइ छ।

‘समयमा परीक्षण भएर रिपोर्ट आइदिँदा निगेटिभ हुनेहरू घर र पोजिटिभ आएकालाई आइसोलेसन पठाउन सकिन्थ्यो , तर, परीक्षण नै नभएपछि बिना काम उनीहरू यहाँ बस्नु परेको छ,’ शर्माले भने।

क्वारेन्टाइनमा बसेकाहरूको स्वाब परीक्षणको व्यवस्था मिलाउन उपमहानगरपालिकाका स्वास्थ्य संयोजक विजय साहलाई पटक पटक जानकारी गराएपनि चासो नलिएको नाम नछाप्ने शर्तमा अर्का एक कर्मचारीले बताए।

‘हामीले हरेक दिनको गतिविधिबारे उहाँलाई जानकारी गराएका छौं, स्वाब परीक्षणको व्यवस्था मिलाउनपनि पटक पटक भनेका छौं,’ ती कर्मचारीले भने,‘तर, उपमहानगरपालिकाको स्वास्थ्य संयोजकले चासो दिनु भएको छैन्। उहाँले चासो नदिएपछि स्वाब परीक्षणमा ढिलाइ भएको हो।’

क्वारेन्टाइनमा खटिने कर्मचारीहरूलाई सेनिटाइजरलगायतका सुरक्षा सामग्रीसमेत उपलब्ध गराउन उपमहानगरपालिका कार्यालयले कन्जुस्याइ गरेको ती कर्मचारीको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय