संक्रमित डाक्टर : जसले कोरोनाबाट मृत्यु भएकी चिनियाँको उपचार गरेका थिए

मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा सोमबार कोरोना भाइरस संक्रमणको पुष्टि भयो। मणिपाल कलेजमा एमडी पहिलो वर्षमा पढ्ने २९ वर्षे उनी मेडिकल वार्डमा कार्यरत चिकित्सक हुन्।

उनलाई सामान्य ज्वरो आएकाले आइतबार स्वाब लिइएको थियो। आइतबार उनको स्वाब क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका लागि पठाइएकोमा संक्रमण पुष्टि भएको हो। संक्रमित डाक्टर अहिले क्षेत्रीय अस्पतालको आइसोलेसनमा छन्।

ती स्वास्थ्यकर्मी रिपोर्ट नआउँदासम्मै बिरामी परीक्षण गरिरहेको मणिपाल स्रोतले जानकारी दिएको छ। कोरोना पुष्टि भएका ती डाक्टरले कोरोना संक्रमितकै उपचार गरेको खुलेको छ। मणिपाल अस्पतालका एक चिकित्सकका अनुसार गत बुधबार मृत्यु भएकी चिनियाँ महिलाको उपचारमा उनी पनि सहभागी थिए।

त्यसैले चिकित्सकलाई तिनै ४९ वर्षीया चिनियाँ महिलाबाट संक्रमण सरेको हुनसक्ने ती स्वास्थ्यकर्मीको भनाइ छ।

चिनियाँ महिलालाई असार ३१ मा बिरामी परेपछि मध्यरात मणिपाल लगिएको थियो।

हृदयघात भएको बताएपछि चिनियाँलाई थप उपचारका लागि काठमाडौं रेफर गरियो। सुरुमा ग्रान्डी अस्पताल पुगेकी उनमा कोरोना पुष्टि भएपछि शिक्षण अस्पताल महाराजगन्ज रेफर गरिएको थियो । उपचारको क्रममा गत बुधबार उनको मृत्यु भएको थियो।

मणिपालको आवास र मेडिकल वार्डलाई स्यानिटाइज गर्ने र पछिल्लो १० दिनयता अस्पतालमा उपचारका लागि आएकालाई ट्रेसिङ गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

चिनियाँ महिलाको मणिपाल यात्रा 

असार ३१ राति लेकसाइडमा होटल गर्दै आएकी चिनियाँ महिलाको स्वास्थ्यमा समस्या देखियो। तीनजना चिनियाँ साथीले राति १२ बजे आसपास मणिपाल अस्पताल पुर्याए। उनलाई हृदयघात भएको मणिपालका डाक्टरले बताए।

स्वास्थ्यमा समस्या देखिनुभन्दा १३ दिन पहिले उनले आफ्ना साथीलाई ‘पार्टी’ दिएकी थिइन्। उनले १९ जनालाई असार १७ गते पार्टी दिएकी थिइन्। पार्टीमा ती महिलासहित १७ चिनियाँ र तीन नेपाली सहभागी थिए। उनी नेपालमा एक्लै बस्दै आएकी थिइन्।

मणिपालले काठमाडौं जान सुझाएपछि उनलाई ग्रान्डी अस्पताल पुर्याइयो। मृतक चिनियाँ महिलाको ‘प्राइमरी कन्ट्याक’ मा आउने अधिकांश चिनियाँ नै छन्।

उनको सम्पर्कमा आएका १७ चिनियाँ र ५ नेपालीको स्वाब संकलन भइसकेको छ। तीमध्ये १२ जना रिपोर्ट नेगेटिभ आएको छ भने बाँकीको रिपोर्ट आइसकेको छैन। रिपोर्ट आएका १२ जनामा कोरोना नेगेटिभ रहेको महानगर स्वास्थ्य महाशाखा स्रोतले जानकारी दियो।

ती चिनियाँ महिलाले आफ्नै होटलमा नभई साथीको होटलमा सबैलाई बोलाएकी थिइन्।

थप उपचारका लागि पोखराबाट ती महिलालाई लिएर उनका भाइ, एक डाक्टर, एक क्याप्टेन र हेलिकोप्टरका स्टाफ काठमाडौं गएका थिए। ग्रान्डीबाट कोरोना परीक्षणका लागि स्वाब लिँदा पोजेटिभ देखियो।

त्यहाँबाट शिक्षण अस्पताल रेफर गरिएको हो । त्यसपछि उपचारको क्रममा त्यहीँ मृत्यु भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय