जनकपुर अस्पतालको आइसियु र आकस्मिक कक्ष सिल

धैर्यकान्त दत्त/जनकपुर
प्रकाशित
२०७७ साउन १२ गते १५:३०

प्रादेशिक अस्पताल जनकपुरको आइसियु र आक्समिक कक्ष सिल गरिएको छ। धनुषाको सहिदनगर नगरपालिका–८ डुमरिया बस्ने ३८ वर्षीय एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएपछि आइसियु र आक्समिक कक्ष सिल गरिएको हो।

ज्वरो, खोकी, श्वास प्रश्वासलगायतका लक्षण देखिएपछि प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका ती युवकको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि आइसियुमा राखिएको थियो।

तर, आइसियुमा राखिएका उनको स्वास्थ्यमा सुधार नदेखिएपछि थप उपचारको लागि प्रादेशिक अस्पतालले धरान रेफर ग¥यो। एम्बुलेन्समा धरान लैजाँदै गर्दा उनको बाटोमा मृत्यु भएको थियो। मृत्यु भएको दुई घण्टापछि उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।

कोभिड आइसोलेसन सेन्टरका संयोजक डा. जामुनप्रसाद सिंहले जिल्ला सुरक्षा समितिको बैठकले प्रादेशिक अस्पतालको आइसियु सात दिन र आकस्मिक कक्ष २४ घण्टा सिल गर्ने निर्णय भएको जानकारी दिए।

डा.सिंहले युवकमा उच्च कोरोना भाइरस पाइएको भन्दै कोरोना संक्रमणकै कारण उनको मृत्यु भएको पुष्टि भएको बताए। भेन्टिलेटरको अभावमा परिवारकै सहमतिमा ती युवकलाई थप उपचारको लागि धरान रेफर गरिएको उनले जानकारी दिएका छन्।

‘आइसियु र आकस्मिक कक्ष सिल भएको छ, कोही भित्र छिर्न पाउँदैनन्, त्यहाँबाट कोही बाहिर आउन पाउने छैनन्,’ उनले भने,‘जो जहाँ छन्, त्यहिँ बस्नुपर्ने छ। दुबै ठाउँलाई सेनिटाइज गर्नुका साथै त्यहाँ रहेका सबैजनाको स्वाब रिपोर्ट आइसकेपछि मात्र अगाडीको निर्णय हुन्छ।’

सिल गरिएको अवधिभर आइसियुमा भर्ना ६ जना बिरामी, १५ स्वास्थ्यकर्मीसहितका कर्मचारी र ३/४ जना कुरुवा बाहिर निस्कन नपाउने डा.सिंहले बताए।

कोरोना संक्रमणका कारण मृत्यु भएका युवकको परिवारका ६ जना, उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको कोरोना परीक्षण हुने बताइएको छ। मृतकका परिवारका ६ जनालाई जनकपुरधाम–४ स्थित गोपाल धर्मशाला क्वारेन्टाइनमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय