कोरोना संक्रमित बरिष्ठ चिकित्सक कार्कीको स्वास्थ्य अवस्था स्थिर

साउन ११– कोरोना संक्रमण पुष्टि भएका विराट मेडिकल कलेजका संचालक एवं बरिष्ठ स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा. ज्ञानेन्द्रमानसिंह कार्कीको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले बताएका छन् ।

कोरोना संक्रमण पुष्टि केहीदिन पछि श्वासप्रश्वासमा कठीनाई भएपछि डा. कार्कीलाई शनिबार हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो । डा. कार्कीको फोक्सोको दुबैतर्फ निमोनिया देखिएको छ । उनलाई अक्सिजन सपोटमा राखिएको छ ।

अस्पताल स्रोतका अनुसार निमोनिया प्रारम्भिक चरणको देखिएको छ । उपचारमा बरिष्ठ चेस्ट फिजिसियान डा. सन्तकुमार दास र आइसियु विशेषज्ञ डा. सुवास आचार्यले संलग्न छन् । डा. कार्कीलाई अहिले निमोनियाको औषधि सुरु गरिसकेको र आइसियुमा राखिएको अस्पतालले जनाएको छ ।

‘अब औषधिले कस्तो रेस्पोन्स देखाउँछ त्यसमा भर पर्छ’ उपचारमा संलग्न एक आवासीय चिकित्सकले भने ।

शुक्रबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनमा निमोनिया देखिएपछि थप उपचारका लागि शनिबार हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो ।

केहीदिनअघि ज्वरो तथा खोकी देखिएपछि साउन ६ गते उनको स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । होम आइसोलेसनमा रहेका कार्की संक्रमण देखिएपछि ज्वरो र खोकी नघटेपछि शुक्रबार धरान पुर्याइएका थिए ।
फर्टिलिटी सोसाइटीद्धारा स्वास्थ्य लाभको कामना
स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको छाता संगठन फर्टिलिटी सोसाइटी अफ नेपालले डा. कार्कीको स्वास्थ्य लाभको कामना गरेको छ । संघले उपाध्यक्ष रहेका डा. कार्कीको समाजले स्वास्थ्य लाभको कामना गरेको अध्यक्ष डा. भोला रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय