क्वारेन्टाइन राख्न छाडेपछि बाँकेमा समुदायस्तरमै कोरोना

हेल्थपोस्ट/नेपालगन्ज
प्रकाशित
२०७७ साउन ११ गते ११:३६

साउन ११-भारतलगायतका तेस्रो मुलुकबाट फर्केकाहरुमा सीमित रहेको कोरोना संक्रमण बर्दिया र बाँकेमा ‘ट्राभल हिड्री’ नभएका मानिसहरुमा समेत देखिन थालेपछि समुदायमा फैलिएको आशंका गरिएको छ । पछिल्ला दिनमा समुदायमा गरिएका परीक्षणमा संक्रमति देखिनेक्रम बढेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले समेत फेसबुकवालमा स्टाटस लेख्दै बन्दाबन्दीपछि बाँकेमा समुदायमै पोजेटिभ केस बढिरहेको उल्लेख गरेका छन् ।

उनले बाँकेसगैं बर्दियाबासी यतिबेला अहिलेसम्मकै उच्च जोखिममा रहेको आफ्नो फेसबुकवालमा उल्लेख गरेका छन् । बाँकेका प्रजिअ कुरुम्वाङ कोरोना भाइरस संक्रमण समुदायमा फैलिएकाले यसबाट बच्न र बचाउन सबैलाई सचेत रहन आग्रह गरे ।

प्रजिअकोको स्टाटसमा प्रतिक्रिया जनाउँदै बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ भारतलगायत अन्य देश र जिल्लाबाट बाँके बर्दिया भित्रिने जो कोहीलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राख्नुपर्ने बताएका छन् ।

उनका अनुसार पछिल्लो समय बाँके बर्दियाका क्वारेन्टिनहरुमा मानिस राख्न छोडिएको छ । बाँकेकै बैजनाथ, कोहलपुर, जानकी लगायतका गाउँपालिकाहरुमा समेत रहेका क्वारेन्टिनमा यसरी कोरोनाको जोखिममा रहेका मानिसलाई राखिएको छैन ।

भारतबाट वा जिल्लाबाहिरबाट आउने नगारिक क्वारेन्टिनमा नबसी सोझै घर जाने र सहजै गाउँघरमा घुमफिर गर्दै आएकाका कारण बाँके बर्दियाका साथै देशभरका जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।

नेपालगन्जमा पछिल्लो पटक शनिवार आएको कोरोना परिक्षणको परिणामअनुसार दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, मिठाई पसल गर्ने ब्यक्ति र एकजना सरकारी जागिरेमा कोरोना देखिएको छ ।

बिहिवार नेपालगन्जको त्रिभुवन चोक क्षेत्रबाट संकलित १ सय ३० स्वाबको नमुना मध्ये ३ जनाको पोजिटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
ती मध्ये एक जना मजदुर, एक जना मिठाई पसल सन्चालक र एकजना सरकारी जागिरे रहेको पाइएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्जमा कार्यरत जुम्ला स्थायी ठेगाना भएका एक जना अधिकृत, बर्दिया घर भई नेपालगन्ज १२ बस्ने मजदुर र नेपालगन्ज ११ का मिठाई पसल संचालकमा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यसैगरी जिल्लामा शुक्रबार कोरोना पुष्टि भएका दुई महिला र दुई पुरुष गरी चारै जना क्वारेन्टिनमा नबसेका व्यक्तिहरु हुन् । नेपालगञ्ज उप–महानगरपालिकाका दुई पुरुष र कोहलपुर नगरपालिका दुई महिला क्वारेन्टिनमा नबसेका व्यक्तिहरु रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

संक्रमण पुष्टि भएका सबैजना क्वारेन्टिनमा बसेका व्यक्ति नभएको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत तथा कोरोना स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य कार्यालयले गरेको ‘¥यान्डम स्याम्पलिङ’ को क्रममा नेपालगञ्जका पुरुषको स्वाब संकलन गरेर परीक्षणको लागि मंगलबार प्रयोगशालामा पठाइएको थियो । शुक्रबार पीसीआर रिपोर्ट आउँदा दुवै जनाको कोरोना पोजिटिभ आएको हो ।

कोरोना पुष्टि भएकाहरुमा नेपालगञ्ज ११ का ४० वर्षिय पुरुष र नेपालगञ्ज १२ का १८ वर्षिय पुरुष रहेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । उनका अनुसार ४० वर्षिय पुरुष एक एनजिओमा काम गर्छन् भने १८ वर्षिय पुरुष विद्यार्थी हुन् ।

एनजिओमा कार्यरत पुरुषले एचआइभी संक्रमितहरुलाई औषधी बाँड्ने काम गर्ने गरेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए । कर्णाली प्रदेशमा घर भएका विद्यार्थी भने केहीदिन अघि नेपालगञ्ज आइपुगेका थिए । शुक्रबार नै कोहलपुर नगरपालिका– ९ मा कोरोना पुष्टि भएका दुई महिला समेत क्वारेन्टिनमा बसेका थिएनन् ।

संक्रमित ४७ र २१ वर्षिय महिला बुधबार भारतबाट फर्किएर क्वारेन्टिनमा नबसेर सिधैं घर गएका थिए । बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले दुवै जनाले बिहीवार बागेश्वरी क्वारेन्टिनमा आएर स्वाब दिएको जानकारी दिए ।

‘कोहलपुरमा संक्रमित दुवै महिलाको बिहीवार मात्र स्वाब संकलन गरिएको थियो’ उनले भने, ‘दुवै जना भारतबाट फर्किएर सिधैं घरमा पुगेको पाइएको छ ।’

बुधबार मात्र घरमै बसेकी नेपालगञ्ज–१८ की २६ वर्षिया महिलामा पनि कोरोना पुष्टि भएको थियो । १२ दिन अघि कैलालीको धनगढीबाट आएर घरमा उनी बसिरहेकी थिइन् । बाहिरबाट आएकाले शंका लागेर जाँच्न जाँदा कोरोना पुष्टि भएको हो ।

पछिल्लो केहीदिनयता आएको रिपोर्टहरुले पनि बाँकेमा समुदायस्तरमा कोरोना पुगिसकेको पुष्टि गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । समुदायस्तरमा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । प्रजिअ कुरुम्वाङको फेसबुक स्टाटसमाथि प्रतिक्रिया जनाउँदै दर्जन बढी नागरिकहरुले समुदाय स्तरमा फैलिएको कोरोना रोकथाम गर्न सबै तह र तप्काका जिम्मेवार ब्यक्तिहरुले जिम्मेवारी बोध गर्नुपर्ने र सबै सजग रहनुपर्ने बताएका छन् ।

उक्त स्टाटसमा प्रतिक्रिया जनाउँनेहरुर्ले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने माग गर्दै समुदाय स्तरमा प्रभावकारी रुपमा टोल,बस्तीमै पुगेर आम नागरिकको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताँउछन् ।

ब्यापारी र स्वार्थी समूहको दवाबमा परेर सरकारले लकडाउन फिर्ता लिएको आरोप लगाउँदै फेसबुक स्टाटसमा प्रतिक्रिया जनाउँनेले तत्काल कोरोना नियन्त्रणका लागि पहल नगरिए आम नागरिक संकटमा पर्ने उल्लेख गरेका छन् ।

सरकारले लकडाउन फिर्ता लिएसगैं बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा बर्दियाको गुलरिया, बाँसगढी, भुरीगाउँ र राजापुर लगायतका सहरबजारमा नागरिकको भीडभाड बढेको छ ।

सवारी साधन निर्धक्क चलेका छन् । नागरिक सामाजिक दूरी कायमविनै खरिदविक्रीको कारोबार गरिरहेकाछन् । बैंक तथा वित्तिय संस्थामा आम नागरिकको भीडभाड छ । यसले पनि विगतको तुलनमा अहिले कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय