कोरोना त हाउगुजी जस्तै!

पुनम बि.सी./सुर्खेत
प्रकाशित
२०७७ साउन ११ गते ८:४१

वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालको आइसोलेसन सेन्टरबाट कोरोना भाइरस संक्रमणबाट निको भई गत जेठ महिनामा घर फर्कने। तस्बिरमा देखिएकाहरु कर्णालीमा पहिलोपल्ट कोरोनासंक्रमण जितेर घर फर्कने हुन्।

साँझको लगभग ७ः३० बजेको हुँदो हो। उनी आफ्नो घरमै थिए। अपरिचित नम्बरबाट उनलाई फोन आयो, ‘तपाईको रिपोर्ट पोजेटिभ आएको छ।’
पिसिआर परीक्षणको नतिजा पर्खाइको दोस्रो दिन आएको कोरोना संक्रमण पुष्टि भएको खबरले भने उनलाई कुनै प्रभाव पारेन।

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारीले समुदायलाई क्रसित बनाइरहेको समयमा उनी भने त्रसित भएनन्। कारण थियो, उनको आत्मबल अनि विश्वास।

हुन त उनका साथीहरूमा पहिले नै कोरोना पुष्टि भइसकेको थियो। सँगै रहने साथीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि आफूमा पनि लाग्नसक्नेमा उनी सचेत थिए।

वीरेन्द्रनगर नगरपालिका निवासी निको भइसकेका ति संक्रमितले ‘सँगै हुने साथीलाई कोरोना लागिसकेको थियो। मलाई पनि भेट्छ भन्नेमा म ढुक्क थिएँ।’
त्यस दिन बिहान उनका साथीहरूको रिपोर्ट पोजेटिभ आएको थियो।

असार २५ गते उनीलगायत सँगैका साथीहरूको स्वाब संकलन भयो। २९ गते संक्रमण रहेको पुष्टि भएको भयो।

तर असार २५ देखि नै उनी होम–क्वारेन्टाइनमा थिए। कारण थियो, त्यो समय पहिले अन्य उनका साथीहरूमा कोरोना पुष्टि हुनु।

घरमा छुट्टै शौचालयको व्यवस्था भएको जानकारी पाएपछि सम्बन्धित निकायका पदाधिकारीद्वारा उनलाई होम आइसोलेसनमा बस्न दिइएको हो।

रात परेपछि उनी घरबाट निस्कन्थे। नजिकै रहेको चौरमा मानिसको चहलपहल घटेपछि शारीरिक तन्दुरुस्तीका लागि साँझपख हिँडडुल गर्नु उनको दैनिकी बनेको थियो।

उनी भन्छन्, ‘८–९ बजे चौरमा निस्कन्थें। चौर वरिपरि दौडन्थें। मानिसहरू कोही हुन्थेनन्। त्यसपछि घर फर्कन्थे।’

कोरोना संक्रमणबारे उनको शरीरले कुनै लक्षण देखाएको थिएन। न त उनलाई खोकी लाग्थ्यो, न ज्वरो नै आएको थियो। सँगै घरमा भएका परिवारका सदस्यसँग भेटघाट नै थिएन। घरका बालबालिकाहरू पनि टाढा भए। कोठाभित्र उनको छुट्टै संसार बनिदियो। कसैसँग भेट भएन उनको । न त कसैसँग भलाकुसारी नै। होम आइसोलेसननै उनको संसार थियो।

उनले भने, ‘मैले मागेका कुरा मैले पाएँ। परिवारको निकै सहयोग भयो, कोरोना संक्रमण पुष्टि हुँदा परिवारले कुनै चिन्ता मानेन।’

रिपोर्ट पोजेटिभ आइसकेपछि उनका घरका अन्य सदस्यहरूले त्यसलाई स्विकारेका भने थिएनन्। उनले भने, ‘कोरोना लागेछ भन्दा पनि घरमा ठट्टा गरेको भन्ठानेछन्। साँच्चै हो ! भन्ने भएपछि कोरोनालाई मेरो परिवारले सामान्य रूपमा नै स्विकार्‌यो।’

होम क्वारेन्टाइनभर बिहानैबाट ज्वानोको झोलबाट सुरु हुने उनको दैनिकी राति ‘सुप’ सम्म चल्थ्यो। उनले भने, ‘मैले सामान्य खाना नै खाएँ। बिहानै ज्वानोको झोल र बेसारपानी खाएँ अनि एक गिलास चिया। खाना र नास्तामा घरमा सधंै बन्ने सामान्य परिकार त्यहीं खाएँ। तर विभिन्नथरीका सुप चाहिँ अनिवार्य बनेको थियो।’

कोठाको ढोका बाहिर खाना आउँथ्यो उनलाई। ‘हटकेस’मा आउने खाना उनी खान्थे र त्यहीं राखिदिन्थे। बिहानको जुठोभाँडा साँझ टिपिन्थ्यो, साँझको भोलि बिहान। उनले भने, ‘परिवारमा संक्रमण नफैलियोस् भनेर सावधानी अपनाएका थियौं। सरसफाइलगायत सबै विषयमा ध्यान पुरायाउँथे।’

सरसफाइ, नियमित, समयमै खानपान पछि सिनेमाहरू हेरेरै केही दिन बितेपछि साउन ७ गते पुनः उनको स्वाब लिइयो। ८ गते बेलुका फेरि उनलाई फोन आयो, ‘तपाईले कोरोना जित्नुभयो। बधाई छ, तपाईलाई।’

उनी भन्छन्, ‘मलाई त कोरोना हाउगुजी झै लाग्यो। सानोमा सुनाइने हाउगुजी झै। बच्चा तर्साउन बताइने तर कहिल्यै नदेखिने डरलाग्दो हाउगुजी।’
आयोमेलसँगको भेटघाटमा उनले भने, ‘लक्षण नदेखिएर पनि होला हाउगुजी जस्तै लाग्दोरहेछ कोरोना।’

अहिले उनी आफ्नो नियमित काम–काजमा फर्किसकेका छन्। तर केही साथीहरूको व्यवहार र समाजका केही व्यक्तिहरूको कोरोनाबारे तर्सिने बुझाइलाई उनी गलत परिभाषित गर्छन्। ‘कोरोना संक्रमण निको भइसक्दा पनि केही व्यक्ति मलाई संक्रमितको नजरले पनि हेर्ने गरेका छन्। उनीहरूलाई पहिले त कोरोना भाइरसकाबारेमा अझै बुझाउन बाँकी छ,’ उनले भने, ‘कोरोनाबाट डराउन आवश्यक छैन, सावधानी मात्रै अपनाए हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय