काँकडभिट्टामा एकै दिन १८ जना सुरक्षाकर्मीमा कोरोना

मुलुकमै पहिलो पटक एकै दिन शुक्रबार झापाका १८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। काँकडभिट्टा माविको होल्डिङ सेन्टरको सुरक्षार्थ खटिएका
अठार जना सशस्त्र प्रहरीका जवानमा संक्रमण पुष्टि भएको हो।

मंगलबार कोरोना संक्रमण पुष्टि भएका सशस्त्र प्रहरी बल काँकडभिट्टाका दुई जना सशस्त्र प्रहरी जवानको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यसबेला ४० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो।

संक्रमित हुनेमध्ये एकजना महिला प्रहरी रहेकी छन्। संक्रमितहरू सबै जवान भएको बताइएको छ। संक्रमित पुरुषहरूलाई मोरङको गोठगाउँ र महिला प्रहरीलाई विराटनगर पठाइएको छ। सीमा र होल्डिङ सेन्टरको सुरक्षामा सशस्त्र प्रहरी खटिदै आएका छन्।

कोरोना संक्रमितहरूको सम्पर्कका कारण उनीहरूमा संक्रमण फैलिएको हुन सक्ने बताइएको छ। सशस्त्र प्रहरी बल काँकडभिट्टामा २ सय प्रहरी रहेका छन्। पहिलो पटक दुई र त्यसपछि १८ जनामा संक्रमण देखिएपछि क्याम्पमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण गरिने सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सूले बताए।

सीमा सुरक्षा र होल्डिङ सेन्टरमा सशस्त्रसँगै जनपद प्रहरी पनि खटिएका छन्। उनीहरूको पनि नमूना परीक्षण गर्ने तयारी भएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए। उनले संक्रमितहरूको सम्पर्कमा आउने सुरक्षाकर्मी सबैको परीक्षण आबश्यक भएको बताए। मंगलबार पूर्वीनाका काँकडभिट्टामा रहेको होल्डिङ सेन्टरमा कार्यरत सशस्त्र प्रहरीका दुईजना जवानलाई कोरोना पुष्टि भएको थियो।

झापामा २० जना सशस्त्र प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो। शुक्रबार झापामा अन्य सातजनामा संक्रमण पुष्टि भएको छ। बाह्रदशी गाउँपालिकाका तीनजना, झापा गाउँपालिकाका तीनजना र बिर्तामोड नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

बिर्तामोड नगरपालिका ४ का पुरुषमा संकमण पुष्टि भएको हो। उनी भारतबाट फर्केका व्यक्ति हुन्। ति पुरुष मेची आँखा अस्पतालको क्वारेन्टाइनमा बसेका थिए।

त्यस्तै झापा गाउँपालिकाका संक्रमित पनि पुरुष हुन्। उनीहरू पनि भारतबाटै आएको र क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्। बाह्रदशीका संक्रमित भने साउदी अरब र कतारबाट आएका हुन्। उनीहरू सबै क्वारेनटाइनमा बसेका व्यक्ति भएको जनाइएको छ।

शुक्रबार २५ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ३४६ पुगेको छ। त्यसमध्ये तीन सय जना निको भएर घर फर्किसकेका छन्।

झापामा एकै दिन १८ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले चिन्ता व्यक्त गरेका छन्। उनले समुदायमा संक्रमण फैलिएको हुनसक्ने बन्दै सबैलाई मास्क लगाउन र सुरक्षा सतर्कता अपनाउन आग्रह पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय