पर्सामा संक्रमण रोक्न भोलीदेखि अनिश्चितकालीन निषेधाज्ञा

पर्साको समुदायस्तरमा फैलिएको कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले वीरगन्जमा साउन १० गते शनिबार बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेकोे छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बृहत् सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो।

संक्रमण समुदायस्तरमा देखिन थालेपछि स्थानीय प्रशासनले रजानीतिक दल, व्यवसायीसहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको छ।

बैठकले संक्रमण देखा परेको ठाउँ सिल गर्ने र संक्रमित भएका व्यक्तिहरूसँग भेटघाट गरेकालाई कन्ट्रयाक ट्रेसिङ गर्ने र होम क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरेको निर्णय भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी गराए।

प्रजिल अधिकारी बस्नेतले नेपाल–भारत सीमानाका कडाइसाथ निगरानीमा राख्ने र कोही त्यस्ता व्यक्ति फेला परेमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको बताएका छन्।

‘कोरोनाको संक्रमणलाई रोक्नका लागि मानिसको आवागमन र घुमफिर नियन्त्रण गर्नैपर्छ। योसँगै परीक्षणको दायरा बढाएर संक्रमितलाई समाजबाट अलग राख्न सक्नुपर्छ,’ उनले भने।

त्यसका लागि स्थानीय प्रशासन र स्थानीय सरकारले आमनागरिकसँग सहयोग गर्न अपिल गरेको छ। समुदाय स्तरमा संक्रमण फैलिएको आशंका बढेको छ। चिकित्सकले समुदायस्तरमा संक्रमण फैलिएको बताइरहेका छन्। संक्रमणलाई थप फैलिन नदिनका लागि मानिसको आवागमन रोक्नका लागि निषेधाज्ञा लगाइएको उनले जानकारी गराए।

‘मानिसको आवागमन र घुमफिरमा रोक लगाउन नसक्दा कोरोना संक्रमण रोकिने अवस्था छैन। सीमानाकाबाट लुकिछिपी मानिसहरू प्रवेश गरेको गुनासो आएको छ। शंकराचार्य हुँदै आउनेलाई क्वारेन्टाइनमा राख्ने र त्योबाहेक अन्य ठाउँबाट आउन जान आम मानिसलाई रोक्ने गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ,’ उनले भने।

यसबीच बढीभन्दा बढी परीक्षण गरेर संक्रमितलाई आइसोलेट गर्ने तयारीमा आफूहरू लागेको प्रजिअ बस्नेतले बताए। द्रूत र बढी परिक्षणका लागि समुदायमा टेस्टिङ गर्ने गरी स्रोतसाधन र जनशक्ति व्यवस्थापनमा ध्यान दिइने उनले बताए।

बैठकमा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी, प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, नेपाली सेनाका सेनानी मदनजंग राणा, नेकपाका अध्यक्ष प्रभु हजरा, नेपाली कांग्रेसका जिल्ला सभापति अजय दुवेदी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गंगा पन्त, सीमा सुरक्षा बलका प्रहरी उपरीक्षकलगायतको उपस्थित थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय