वीरगञ्जमा एकैदिन पाँच थुनुवासहित ३२ जनामा कोरोना पुष्टि

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा ५ थुनुवासहित ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये ९ महिनाका बालकदेखि ६० वर्षकी बृद्ध महिला समेत रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए।

उनका अनुसार सर्लाही र बाराका एक-एक जना तथा भारतका ५ जना थुनुवामा कोरोना पुष्टि भएको हो। बाँकी संक्रमित पर्साका रहेका छन्।

संक्रमित हुनेमा २५ जना पुरूष र ७ जना महिला छन्।

५ जना थुनुवा संक्रमित विभिन्न मुद्दामा पक्राउ परेर वडा प्रहरी कार्यलय श्रीपुर वीरगञ्जको थुनुवा कक्षमा रहेका थिए।

गत साउन ६ र ७ गतेको स्वाब संकलन गरी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको डा. उपाध्यायले जानकारी दिए। अन्य संक्रमितमध्ये केही कन्ट्याक्ट ट्रेसिङमा परेका हुन्, भने केही आफैं शंका लागेर जाँच गराएको र केही पेड पिसिआर गराउनेहरू छन्।

संक्रमितलाई नारायणी अस्पताल अस्थायी विषेश कोरोना अस्पताल गण्डकको आइसोलेसन वार्डमा ल्याउने तयारी भइरहेको छ।

बुधबार राति पर्सामा चिकित्सक र औषधी उत्पादन कम्पनीका कामदारसहित १७ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो।

अस्पतालमा आकस्मिक सेवा मात्र खुल्ने
पर्साका चिकित्सकले समुदायस्तरमा कोरोना भाइरस देखिएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गर्न अस्पताललाई आग्रह गरेका छन्।

नेपाल चिकित्सक संघ नारायणी शाखा विरगञ्जले बिहीबार विज्ञप्ति जारी गर्दै आकस्मिक सेवा बाहेक अस्पताल, मेडिकल कलेज, नर्सिङ होम, निजी क्लिनिक लगायतका स्वास्थ्य संस्था शुक्रबारबाट बन्द गर्न आग्रह गरेको छ।

निषधाज्ञाकाे तयारी
पर्साको समुदाय स्तरमा फैलिएको कोरोनाभाइरसको संक्रमण रोकथामका लागि आवश्यक निर्णय लिन स्थानीय प्रशासनले शुक्रबार ११ बजेका लागि बैठक बोलाएको छ।

बैठकले कोरोना भाइरसको संक्रमणको रोकथामको निर्णय लिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए। बैठकमा निषेधाज्ञा,लकडाउन वा कफ्र्यू के लगाउने भन्ने बिषयमा बृहत बैठक मार्फत निर्णय लिइने उनले बताए।

सुन चाँदी पसल बन्द
पर्सा सुन चाँदी व्यवसायी संघले कोरोना संक्रमण नियन्त्रण गर्न संघमा आवद्ध व्यवसाय साउन ९ गतेदेखि १४ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष निरज कुमार सर्राफले शुक्रबार विज्ञप्ति जारी गर्दै संघमा आवद्ध व्यवसायीलाई तोकिएको अवधिसम्म व्यवसाय बन्द गरी सहयोग गर्न र सुरक्षित बस्न अनुरोध गरेको छ।

पर्सामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको आशंका उत्पन्न भएपछि स्थानीय त्रसित बनेका छन्। पछिल्लो २ दिनमा संक्रमितको संख्या वृद्धि भएसँगै एक जनाको मृत्यु भएपछि स्थानीय त्रसित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय