प्रदेश नमूना विद्यालयमा ‘स्टाफ नर्स’ राखिँदै

कृष्ण मल्ल/बुटवल
प्रकाशित
२०७७ साउन ८ गते १७:४५

प्रदेश ५ सरकारले नमूनाको रुपमा विकास गर्न लागेको विद्यालयहरूमा स्टाफ नर्स र खेलकुद प्रशिक्षक राख्ने तयारी थालेको छ।

प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७६/७७ देखि नमूना विद्यालयको कार्यक्रम अगाडी बढाएको छ। स्थानीय सरकारको २० प्रतिशत लागत सहभागीता रहनेगरी प्रदेश सरकारले १२ वटा नमूना विद्यालयको कार्यक्रम अघि सारेको छ। नयाँ आर्थिक वर्षमा थप १२ वटा विद्यालयका लागि बजेट विनियोजन गरिसकेको प्रदेश सरकारले जनाएको छ।

प्रदेश सरकारले एक जिल्लामा एक वटाका दरले विकास गर्न लागिको प्रदेश नमूना विद्यालयमा विद्यार्थीको स्वास्थ्य रेखदेख र परीक्षणका लागि स्टाफ नर्सको व्यवस्था गर्न थालेको जनाएको छ। प्रदेशनको नमूना विद्यालयको रुपमा छनौटमा परेको बुटवलको नवीन औद्योगिक कद्दर बहादुर रीता माविले स्टाफ नर्स र खेलकूद प्रशिक्षक राख्ने प्रक्रिया सुरु गरेको छ।

विद्यार्थीहरूको स्वास्थ्य रेखदेख एवं परीक्षण गर्न र विभिन्न खेलहरू प्रशिक्षण गराउनका लागि स्टाफ नर्स र खेलकूद प्रशिक्षक राख्न लागिएको विद्यालयका प्रधानाध्यापक प्रेम बस्नेतले जानकारी दिए। उनले प्रदेश र स्थानीय सरकारबाट आएको बजेट ९ कोठे भवन निर्माण, ग्राउण्डमा टायल राख्ने, कम्प्युटर ल्याबमा थप ३० वटा कम्प्यूटर थप्ने काम र सिसि क्यामेरा जडानका काम भएको बताए।

रोल्पाको परिवर्तन गाउँपालिकाको राङ्सीमा रहेको जनसेवा माविका प्रधानाधयपक भिमप्रसाद पुनले नमूना विद्यालयको कार्यक्रमले चारकोठे छात्राबास निर्माण गरेको बताए।

मुख्यगरी पहाडी जिल्ला भएका कारण कक्षा १०, ११ र १२ का विद्यार्थीलाइ डेरा खोजेर बस्ने बाध्यताको अन्त्य गर्नका लागि छात्राबास बनाइएको उनको भनाई छ। उनका अनुसार उक्त बजेटबाट विज्ञान प्रयोगशाला, शौचालय, फुलबारी निर्माण र विद्यालयको वेभसाइटसमेत बनाइएको छ। उनले ग्रामीण क्षेत्रको विद्यालयका लागि प्रदेश सरकारको नमूना विद्यालय कार्यक्रमले सहयोग पुगेको बताए।

सामाजिक विकास डिभिजन कार्यालय, प्यूठानका प्रमुख विष्णु भुसालले प्रदेशको नमूना विद्यालय कार्यक्रमले विद्यालयहरूले आफूलाई परिवर्तन गर्ने जोड गरेको देखिएको बताए।

‘बजेट र कार्यक्रम अभावका कारण माथि उठ्न नसकेका विद्यालयका लागि निकै सहयोग पुगेको छ’, भुसालले भने, ‘विद्यालयको वातावरण सुधार, भौतिक पूर्वाधार विकास र शैक्षिक क्रियाकलापलाई सहयोग पुग्ने गरी काम सुरु भएको छ।’ उनले नमूना विद्यालयहरूले स्टाफ नर्स र खेलकूद शिक्षक राख्ने तयारी गरेको जानकारी दिए।

प्रदेश ५ का शिक्षा तथा सामाजिका विकास निर्देशनालयका निर्देशक मनोज कुमार गैरेले आर्थिक वर्ष २०७६/७७ मा एक जिल्लामा एक वटा पर्ने गरी १२ वटा नमूना विद्यालय छनौट गरिएको जानकारी दिए।

प्रत्येक पालिकामा एक विद्यालयलाई नमूनाको रुपमा विकास गर्ने नीति प्रदेश सरकारले लिएको त्यस अनुसार कार्यक्रम सुरु गरेको उनको भनाइ छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ मा पनि थप १२ वटा नमूना विद्यालयको कार्यक्रम रहेको उनले बताए।

नमूना विद्यालय छनौटका लागि प्रदेश सरकारले सार्वजनिक सूचना जारी गरी प्रस्ताव आह्वान गर्ने र मापदण्ड अनुसार विद्यालयले पेश गरेको प्रस्तावनाको अध्ययन गरी छनौट गर्ने गरेको उनले बताए।

उनले प्रदेश सरकारले नमूना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७६ बनाई त्यस अनुसार काम अगाडी बढाएको जानकारी दिए। निर्देशक गैरेका अनुसार छनौटमा परेका विद्यालयलाई प्रदेश सरकारले ७५ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ भने त्यसको २० प्रतिशत अर्थात १५ लाख रुपैयाँ स्थानीय सरकारले उपलब्ध गराउनुपर्नेछ।

छनौटमा परेका विद्यालयले नमूना विद्यालय विकास एवं सञ्चालन निर्देशिका २०७६ मा उल्लेख भएका ३० वटा सूचकमा रहेर विद्यालय सुधारका कामहरू गर्नुपर्ने हुन्छ। दोश्रो वर्षमा भने ति विद्यालयहरूले प्रदेश सरकारबाट थप २५ लाख रुपियाँ पाउने व्यवस्था गरिएको छ।

गत आर्थिक वर्षमा ७५ लाख रुपैयाँ पाएका प्रदेशका १२ नमूना विद्यालयहरूले आर्थिक वर्ष २०७७/७८ मा २५ लाख रकम पाउनेछन्। त्यसैगरी यस आर्थिक वर्षमा प्रदेश ५ मा १२ वटा थप नमूना विद्यालयका लागि विद्यालयहरू छनौट गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय