विदेश जान पिसिआर परीक्षणका लागि पाँच हजार पाँच सय शुल्क
सरकारले विदेश जानेहरूको पिसिआर जाँच गर्न सरकारीसँगै निजी अस्पताललाई अनुमति दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सरकारले तोकेका सरकारी र निजी अस्पतालबाट सशुल्क पिसिआर परीक्षण गरेर विदेश जान पाइनेछ।
निजी अस्पतालमा ललितपुरको स्टार अस्पताल र काठमाडौंको काठमाडौं मेडिकल कलेज छन्।
प्रवक्ता गाैतमका अनुसार विदेश जानेहरुकाे पिसिआर जाँच गर्न अनुमति पाएका अस्पतालले पाँच हजार पाँच सय रुपैयाँ शुल्क लिन पाउने छन्।
यसैगरी, उपत्यकाका तीनसहित ९ अस्पताललाई पनि विदेश जानेहरुको पिसिआर परीक्षण गरी रिपोर्ट जारी गर्न अनुमति दिइएको छ।
काठमाडौं उपत्यकामा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पताल छन्।
प्रदेश तहमा कोसी अस्पताल, नारायणी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, कर्णाली जनस्वास्थ्य प्रयोगशाला र सेती प्रादेशिक अस्पताल रहेका छन्।
डा गौतमले तोकिए बाहेकका अस्पतालले विदेश जानेहरूको पिसिआर परीक्षण गरेर रिपोर्ट जारी गर्न नपाउने बताए।
त्यसैगरी, केही निजी अस्पताल र संघसंस्थाले पनि रिपोर्ट जारी गर्ने गरेको सुन्नमा आएकाले त्यसो नगर्न उनले अनुरोध गरे।
सरकारले कोरोनाका कारण गत चैतदेखि वैदेशिक रोजगारसहित विदेश जान बन्द गरेको थियो। तर, पछिल्लो समय खुकुलो बनाइएको छ।