समुदायमा कोरोना फैलिएको आशंका, भोलिदेखि राजविराजमा निषेद्याज्ञा

सप्तरीको राजविराजमा कोरोना संक्रमण समुदायमा फैलिएको छ। बुधबार थप १३ जना संक्रमित भेटिएसँगै राजविराज नगरपालिकामा समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएको हो।

स्वास्थ्य कार्यालय सप्तरीले समुदायमा कोरोना फैलिएको पुष्टि गरेको छ। कार्यालय प्रमुख दुनीयाँलाल यादवले बुधबार सप्तरीमा १४ जना संक्रमित भेटिएकोमा १३ जना राजविराजको रहेको जानकारी दिए।

प्रमुख यादवका अनुसार राजविराज–७ का एकै परिवारका चार जनामा संक्रमण पुष्टि भएको छ। ‘संक्रमणको प्रकृति हेरेर कोरोना समुदायमा छिरिसकेको बुझ्न सकिन्छ,’ आयोमेलसँग कुरा गर्दै उनले भने, ‘आजपनि एकै परिवारका चार जनामा संक्रमण पुष्टि भएको छ।’

यसअघिपनि कोरोना संक्रमणका कारण मृत्यु भएको राजविराजका एक पसलेका परिवारका पाँचजना सदस्यमा संक्रमण भेटिएको थियो। यसका साथै उनका पसलमा काम गर्ने कामदारका परिवारका चारजना सदस्यमा समेत कोरोना पुष्टि भएको थियो।

प्रमुख यादवले बुधबार संक्रमण पुष्टि हुनेहरू कोरोनापछि मृत्यु भएका ती पुरुषको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गरिएका व्यक्तिहरू रहेको जनाए।

बुधबार संक्रमण पुष्टि हुनेमा गजेन्द्रनारायण सिंह अस्पतालका एकजना नर्स र स्वीपरसमेत रहेको उनले जानकारी दिए। ‘गजेन्द्रनारायण सिंह अस्पतालका एक नर्स र स्वीपरमा समेत संक्रमण पुष्टि भएको छ,’ उनले भने,‘दुबैजनामा संक्रमण देखिएसँगै अस्पतालभित्र सुरक्षाका उपायहरू अपनाइएको छ।’

संक्रमणको दर वृद्धि भइरहेपनि चाँडै नियन्त्रणमा आउनेमा आफूहरू विश्वस्त रहेको उनले बताए। ‘संक्रमणको दर बढ्दै गएको छ, नियन्त्रण गर्न हामी जुटेका छौं,’ उनले भने,‘भीटीएमको अभाव भएको छ, चाँडै उपलब्ध भइदिने हो भने परीक्षणको दायरा बढाउन सहज हुनेछ।’

निषेद्याज्ञा आदेश

कोरोना संक्रमणको दर बढ्दै गएपछि नगरपालिकाले अनिश्चितकालीन लकडाउन घोषणा गरेको एकदिन नबित्दै राजविराजमा निषेद्याज्ञा आदेश जारी गरिएको छ। कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय सप्तरीले विहिबार बिहान ५ बजेदेखि अर्को निर्णय नभएसम्म राजविराज नगरपालिका क्षेत्रमा निषेद्याज्ञा आदेश जारी गरेको हो।

निषेद्याज्ञा अवधिभर औषधि पसल, खाद्यान्न, फलफूल, तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसमान ओसारपसार, निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैकिंङ्ग सेवा, आन्तरिक सुरक्षा, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानीजस्ता आवश्यक सेवाबाहेक अन्य सेवा÷स्थलहरूमा अनावश्यक आवतजावत तथा हिँडडुल बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय