डा. सत्यनारायण महतो : हैजा रोक्न गाउँ गए, उतै अस्ताए

चाहेको भए उनले जनकपुरमा बसेर पनि चिकित्सिकीय अभ्यास गर्न सक्थे। जनकपुरमै पनि आफ्नो घर छ, उनको। तर, डाक्टर बनेर उनले कर्मक्षेत्र गाउँलाई नै बनाए।

ती डाक्टर थिए धनुषाको सबैला नगरपालिका वडा नम्बर ८ ठिल्ला का सत्यनारायण महतो।

डा.महतोको पाँच दिनअघि ८१ वर्षको उमेरमा निधन भएको छ। देह त्याग गर्नुभन्दा पाँच दिन अघिसम्म बिरामी जाँच्न छोडेका थिएनन्, उनले।

उमेरले साथ नदिइरहँदासमेत बिरामीसँगकको लगावले कर्मप्रति उनको लगन कस्तो थियो प्रष्ट हुन्छ।

मिलनसार र मृदुभाषी स्वभावका डा.महतो सवैला क्षेत्रमा समाजसेवीको रुपमा समेत परिचित छन्।

राजनीतिमा पनि चाख राख्ने स्वभाव थियो, उनको। नेपाली कांग्रेसबाट प्रभावित महतोको कम्युनिस्ट नेताहरुको संगतपनि कम थिएन्। प्रजातान्त्रिक स्वभावका महतोलाई २०३६ सालको जनमतसंग्रहमा २१ दिन हिरासतमा बस्नु परेको थियो।

यसैगरी, त्यतिबेलाका पञ्चायती नेता हेमबहादुर मल्लले महतोको बढ्दो ख्याती देखेपछि खुनी मुद्दाको झुटो आरोप लगाएर १५ दिन थुनामा बसाउन लगाएका थिए।

नेपाल मेडिकल काउन्सिलबाट २०६ दर्ता नम्बर पाएका डा.महतो २०२७ सालमा भारत बिहारको दरभंगा मेडिकल कलेजबाट एमबीबीएस पढेर आएलगत्तै चिकित्सिकीय पेशा सुरु गरेका थिए। सरकारी जागिर पाएपनि गाउँमै बसेर सेवा गर्ने चाहनाले उनलाई त्यसतर्फ जान दिएन्।

‘उहाँले सरकारी जागिर पाउनु भएको थियो, तर गाउँमै बसेर काम गर्ने चाहना थियो,’ डा.महतोसँग २०३२ सालदेखि सहयोगीको रुपमा काम गर्दै आइरहेका महन्थी साह भन्छन्, ‘खान बस्न समस्या थिएन्, उहाँका बाबुले पनि गाउँमै बसेर सेवा गर्न जोड दिनु भएको थियो।’

महतो डाक्टर बनेर आएको बेला जनकपुरमा दुईजना डाक्टरमात्र थिए महन्थी सम्झन्छन्। महन्थीका अनुसार त्यतिबेला जनकपुरमा डा.जयबल्लभ दास र डा.बैद्यनाथ झा दुईजना मात्र डाक्टर थिए। गाउँघरमा त डाक्टर हुने कुरै भएन।

‘पढेर आइसकेपछि उहाँको बाबुले जनकपुरबाहिर डाक्टर रहेकोले गाउँमै बसेर काम गर्न भन्नु भयो,’ महन्थी भन्छन्, ‘२०२७ सालदेखि गाउँमै बसेर काम सुरु गरेपछि उनी कहिल्यै बाहिर जान मान्नु भएन्।’

‘त्यतिबेला हैजाको प्रकोप फलिइएको थियो, गाउँघरमा डाक्टरपनि थिएनन्,’ उनी भन्छन्, ‘हैजाले ठूलो समस्या निम्त्यिाएको देखेपछि गाउँमै बसेर काम गर्न उहाँलाई जाँगर चलेको थियो।’

२०२७ सालमा बिरामीबाट उनले जाँच शुल्क पाँच रुपैयाँ लिने गरेको उनले बताए। ‘बिरामीबाट पाँच रुपैयाँ जाँच शुल्क लिएर काम सुरु गर्नु भएको थियो, पैसा नहुने गरिब विपन्नलाई पैसाबिनै चेकजाँच गरिदिने उनको बानी थियो,’ महन्थीले बताए।

डा.महतोको ख्यातिका कारण सबैला वरिपरीमात्र नभएर उत्तर पहाडदेखि सिरहा, सप्तरीका साथै भारतबाट समेत जाँच गराउन बिरामीहरु आउने गरेको महन्थी बताउँछन्।

पेशा र कर्मप्रति निष्ठावान डा.महतो देह त्याग गर्नुेबेलासम्म बिरामी जाँच्न बन्द नगरेको उनको भनाइ छ। ‘खुट्टा चिप्लिएर लडेपछि ढाँडमा चोट लागेको थियो,’ महन्थी भन्छन्,‘उपचारको लागि जनकपुर जानु भएको थियो। पाँच दिनपछि फर्केर आएपछि उनको निधन भयो।’ उपचार गराउन अन्तिम समय जनकपुर गएकोबेलामात्रै बिरामी जाँच्न नसकेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय