जोखिम भत्ता नपाएपछि कपिलवस्तुको सबैभन्दा बढी प्रभावित पालिकाका स्वास्थ्यकर्मी आन्दोलित

कपिलवस्तु जिल्लामै सबैभन्दा बढि कोरोना संक्रमित भेटिएको यशोधरा गाँउपालिकाका स्वास्थ्यका कर्मचारी जोखिम भत्ता नपाएपछि चरणबद्द आन्दोलनमा उत्रिएका छन्।

कोरोना संक्रमणका बेला काममा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएपछि गाँउपालिकाका स्वास्थ्यका कर्मचारीले आन्दोलन थालेका हुन्। यशोधरा गाउँपालिका कपिलवस्तुको सबैभन्दा बढी कोभिड १९ बाट प्रभावित गाउँपालिका हो।

पालिकाभरका स्वास्थ्य कर्मचारीहरुको बैठकले कर्मचारीले जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ मा उल्लेख भए अनुसार स्वास्थ्यकर्मीले पाउने जोखिम भत्ता नपाए स्वास्थ्य केन्द्रबाट प्रवाह गरिने सेवा ठप्प पार्ने निर्णय गरेका छन्।

त्यसैगरी स्वास्थ्य शाखाले गत आर्थिक बर्ष २०७६÷७७ मा ससर्त कार्यक्रमको बजेटका करिब ८० प्रतिशत कार्यक्रम गर्न नसक्ने स्वास्थ्य संयोजकको भुमिका माथी प्रश्न उठाउदै स्वास्थ्यका कार्यक्रम समयमै सम्पन्न हुनु पर्ने तथा गत आबमा स्वास्थ्यकर्मीले फिल्ड कार्यक्रम सञ्चालन गरे बापत पाउनु पर्ने फिल्ड भत्ता समेत समयमै उपलब्ध गराउन माग गर्ने बैठकको निर्णय छ।

बैठकमा पालिकाका ८ वटा वडाका स्वास्थ्यचौकी मध्य अधिकांस स्वास्थ्य चौकीका प्रमुख र प्रतिनिधीको उपस्थिती थियो।

त्यस्तै साउन ४ गतेको बैठकले आफना मागहरु पुरा नभए चरणबद्ध आन्दोलनमा जाने निर्णय गरेको छ। आफनो माग सम्बोधन हुनुपर्ने निर्णय गरेका स्वास्थ्यकर्मीले गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकाललाई ज्ञापनपत्र बुझाएका छन।

कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न जनशक्तिको जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ को दफा ७ को उपदफा (ग) मा हेल्प डेस्कमा खटिने जनशक्तिलाई दोहोरो नपर्ने गरि नेपाल सरकारले तोकेको शुरु तलब स्केलको ५० प्रतिशत भत्ता उपलब्ध गराउने व्यवस्था रहेको छ।

यशोधरा गाँउपालिकाले हाल सम्म कोरोना संक्रमण सचेतना, राहत र व्यवस्थापन सम्बन्धि कार्यक्रमकै लागी २ करोड २८ लाख बढि रकम खर्च गरेको बताइएको छ।

“घरबाटै खाना ल्याएर ख्वाईएका क्वारेन्टिनका व्यक्तिको नाममा समेत फर्जि बिल बनाएर रकम निकाशा गरिएको स्वास्थ्यकर्मीको आरोप छ। तर कार्यक्षेत्रमा खटिएर काम गरेका स्वास्थ्यका कर्मचारीलाई सरकारले देउ भनेको सुबिधा समेत खोसिएको छ।” एक स्वास्थ्यकर्मीले गुनासो गरे।

पालिका र वडाले कोभिड १९ संक्रमणका बेला पालिकाका क्वारेन्टाईन र आईशोलेशनका नाममा तयार पारेको खानादेखी मास्कका बिलसम्म फर्जि भएको स्वास्थ्यकर्मीहरुकै आरोप छ।

“३० रुपैया देखी २ सय रुपैयामा खरिद गरिएको मास्कलाई समेत ५÷७ सय रुपैयाको बिल बनाएर रकम निकाशा गरिएको छ। तर संक्रमणको जोखिममा काम गरेका स्वास्थ्यकर्मीलाई सरकारले तोकेको सेवा दिईएको छैन।” अर्का स्वास्थ्यकर्मीको आरोप छ।


यशोधरा गाउँपालिकाका प्रमुख गिरीजेश कुमार पाण्डेले बजेट अभावका कारण जोखिम भत्ता दिन नसकिएको बताए। उनले नयाँ बजेटबाट स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ताको व्यवस्था गर्ने जानकारी दिए।

नयाँ बजेटबाट भत्ता दिने कुरा भएको छ अध्यक्ष पाण्डेले भने, गाउँपालिकाले निर्णय गरी भत्ताको व्यवस्था गर्छु। तर के कति प्रतिशत दिने भन्नेमा भने अहिले नै भन्न नसकिने उनले बताए।

जोखिम भत्ताको व्यवस्थापन गर्न १५ देखि २० दिनसम्म लाग्नसक्ने पाण्डेले बताए।

उता छिमेकी मायादेवी गाँउपालिकाले स्वास्थ्यकर्मीलाई नेपाल सरकारले तोकेको शुरु तलब स्केलको ५० देखी १ सय प्रतिशत जोखिम भत्ता दिएको छ।

त्यसैगरी शुद्धोधन गाँउपालिकाले स्वास्थ्यकर्मीलाई जोखिम भत्ता मात्रै नभई सुरक्षाकर्मीलाई समेत खाजा र ईन्धनखर्च उपलब्ध गराएको प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवाली बताउछन।

कपिलवस्तु नगरपालिकाको कार्यपालिका बैठकले नै जोखिम भत्ता व्यवस्थापन आदेश २०७७ आउनु पुर्व नै फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीलाई ३५ प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए।

महाराजगंज नगरपालिकाले काममा खटिएका स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय