कोरोना जोखिम भत्ताका लागि ७२ करोड निकासी, सबै स्वास्थ्यकर्मीले पाएनन्

सरकारले सबै स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउने प्रतिवद्धताविपरीत  कोरोना जोखिम भत्ता निकासा गरेको छ।  कर्मचारी व्यवस्थापन, भत्ता लगायतका औषधीजन्य सामग्री व्यवस्थापनको लागि सरकारले ७२ करोड २० लाख ४३ हजार ५ सय रुपैयाँ निकासा गरेको हो।

मन्त्रालयका अनुसार यो रकम भत्ता पाउनुपर्ने सबै स्वास्थ्य संस्थामा पठाइसकेको छ। सुरुमा जोखिम भत्ता निर्देशिका जारी हुँदा नै प्रत्यक्ष रुपमा खटिएकाले मात्रै भत्ता पाउने व्यवस्थाप्रति स्वास्थ्यकर्मीका संगठनहरुले विरोध जनाएका थिए।  त्यसपछि सरकारले जोखिम भत्ता निर्देशिका परिमार्जन गर्ने प्रतिवद्धता गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत कोभिड—१९ उपचार गरिरहेका १४ वटा सरकारी अस्पताल तथा प्रतिष्ठान, ७ वटै प्रदेश सरकार र १७ वटा निजी अस्पताललाई सो रकम निकासा गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

‘मन्त्रालय अन्तर्गत रहेका स्वास्थ्यकर्मीलाई जोखिमपुर्ण कामको आधारमा ५०, ७५ र १०० प्रतिशतसम्म भत्ता विनियोजन गरिएको छ, डा. गौतमले भने,‘निजी अस्पताल तथा प्रतिष्ठानहरूमा संक्रमितको केसको आधारमा रकम उपलब्ध गराएका छांै।’

डा.गौतमका अनुसार दैनिक आइसियूमा खटिनेलाई १५ हजार, लक्षण देखिएका संक्रमितको उपचारमा खटिएकालाई ७ हजार, समान्य संक्रमित ३ हजार ५ सय आइसोलेसन कक्षमा मात्र बसेका संक्रमितको २ हजारको दरले अस्पतालमा रकम विनियोजन भएको छ।

निजी अस्पताल तथा प्रतिष्ठानमा उपलब्ध गराएको रकमबाट संक्रमितको उपचारमा लागेको खर्च तथा स्वास्थ्यकर्मीको जोखिमभत्ता त्यहीँबाट उलब्ध हुने डा. गौतमले बताए।

७ प्रदेशमा १२ हजार ८ सय ८८ जना संक्रमितको दैनिक ३ हजार रुपैयाँका दरले ९८ दिनको खर्च स्वरुप ६३ करोड, १५ लाख, १२ हजार रुपैयाँ निकासा भएको छ।

१४ वटा सरकारी अस्पताल तथा प्रतिष्ठानले १ हजार ६ सय ९० जना संक्रमितको उपचार गरेको र सो वापत ८ करोड ४१ लाख ८६ हजार भत्तास्वरुप निकासा भएको छ।

१७ वटा निजी अस्पतालले २ सय ५१ जना संक्रमितको उपचार गरेको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेश गरेका थिए। ती संक्रमितको उपचार गरेवापत उनीहरुलाई ६३ लाख ४५ हजार ५ सय निकासा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले असार १७ गते संक्रमितको अवस्था हेरेर जोखिम भत्ता दिने निर्णय गरेको थियो। निकासा गरिएको रकम असार मसान्तसम्म प्राप्त विवरणअनुसारको भएको डा. गौतमले बताए।

जोखिमभत्ता विभेदपूर्ण भयो : स्वास्थ्यकर्मी संगठन

सरकारले विनियोजन गरेको जोखिमभत्ताले सबै स्वास्थ्यकर्मीलाई समेट्न नसकेको स्वास्थ्यकर्मी सगंठनका अगुवाहरुले बताएका छन्।  जोखिम भत्तामा विनियोजन गर्दा मन्त्रालयलको ‘असली रुप’ देखिएको नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे बताउँछन्।

‘अधिकांस स्वास्थ्यकर्मीले नपाउने गरी जोखिम भत्ता निर्देशिका बनेको छ’, घिमिरे भन्छन्, ‘अस्पतालमा रहेका संक्रमितको उपचारमा रहेका स्वास्थ्यकर्मीले मात्र जोखिम भत्ता पाउने तर, फिल्डमा खटेका स्वास्थ्यकर्मीले नपाउने यो कस्तो न्याय हो।’

क्वारेन्टाइन, आइसोलेसन, कन्ट्याक ट्रेसिङमा, कोभिड अस्पतालमा काम गर्न, सीमा नाकामा काम गर्नले आदिले जोखिम भत्ता पाउने निर्देशिकामा उल्लेख गरिएको छ।

स्वास्थ्यकर्मी संगठनका पदाधिकारीले काममा खटिएका जोकोहि स्वास्थ्यकर्मी जोखिममा रहेर काम गरेको हुनाले सबैले भत्ता पाउनुपर्ने माग गर्दै आएका थिए।

‘निर्देशिकामा उल्लेख भएका ५–६ वटा ठाउँमा काम गर्न स्वास्थ्यकर्मी भन्दा हेल्थपोस्टमा काम गर्ने स्वास्थ्यकर्मी बढी जोखिममा रहेका छन्, उनले भने,‘हेल्थपोस्टमा रहेका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री समेत पुगेको छैन।’

मन्त्रालय भन्छ– सबैले जोखिम भत्ता पाउँदैनन्

कोरोनाका संक्रमितको आशंकामा प्रत्यक्ष रुपमा काम गरेका स्वास्थ्यकर्मीले मात्र जोखिम भत्ता पाउने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम बताउँछन्।

‘सबै स्वास्थ्यकर्मीले जोखिमभत्ता पाउँदैनन्। सरकारले दिनसक्ने हुनपर्यो नि’, डा. गौतमले उल्टै प्रश्न गरे ‘स्वास्थ्यका ३२ हजार कर्मचारी छन्। ती सबैलाई दिन सकिन्छ?’

सबै स्वास्थ्यकर्मीलाई समेट्न नसकेको भन्दै स्वास्थ्य मन्त्रालयले निर्देशका परिमार्जनको तयारीमा रहेको बताउँदै आएको थियो।

निर्देशिका परिमार्जनको विषयमा डा. गौतमले हेल्थपोस्ट नेपालसँग कुरा गर्दै भने ‘परिमार्जन हरेक कुराको हुन्छ। पैसा दिनलाई परिमार्जन गर्न होइन होला नि?’

2 thoughts on “कोरोना जोखिम भत्ताका लागि ७२ करोड निकासी, सबै स्वास्थ्यकर्मीले पाएनन्

  1. जोखिम भता सबै स्वास्थ्यकर्मिले पायुनु पर्छ

  2. स्वास्थकर्मि भन्दैमा घरमा बस्ने, नियमित काम गर्नेले भत्ताको लोभ गर्नु दुखदायि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय