नेकपा नेता हुँ भन्दै डाक्टरलाई ज्यान मार्ने धम्की

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन ६ गते १४:३९

(डा.राजुराज जैसी फेसबुकबाट)

सोमबार बिहान १० बज्नै लागेको थियो। कोल्टी (बाजुरा) प्राथमिक स्वास्थ्य केन्द्र बिरामी जाँचिरहेको थिएँ।  एक महिला र पुरुष ओपिडी जँचाउन आउनुभयो। महिलाको अनुहार परिचित नैे थियो। तर, पुरुषसँगको भेट पहिलो थियो।

यहाँ आउनुभन्दा पहिला जिल्ला अस्पताल बाजुरामा थिएँ। त्यसपछि सरकारले मलाई कोरोना नियन्त्रण तथा उपचारको लागि १४ बैशाखमा केन्द्रमा काजमा खटायो।

केन्द्रमा आएको केही दिनपछि महिला चेक जाँचको लागि आउनुभएको थियो। उहाँले क्षयरोगको औषधी ६ महिना सेवन गरिसक्नु भएको रहेछ।

लगातार ६ महिनाको औषधी सेवनपछि पनि उहाँको खकारमो किटाणू रहेको थियो। त्यसैबेला मैले एक पटक जिन एक्स्र्पट गरेर थप उपचार गर्न भनेको थिएँ।

यो उपचार हाम्रो केन्द्रमा छैन। थप उपचारको लागि वयलपाटा रिफर गरेको थिए।

तर, बिरामीको आग्रहमा पुन औषधी थप गरिदिन भनेपछि मापदण्ड अनुसार थप औषधी दिएर पठाएको थिए।

३ महिनाको औषधी खाँदा पनि उहाँलाई सञ्चो नभएर हिजो(सोमबार) आउनु भयो। फेरि उहाँहरुलाई पहिला भनेकै कुरा दोहाराएँ। तर, उहाँहरुलाई मेरो कुरा चित्त बुझेन।

‘अरु औषधी दे’ भन्नुभयो। पुनः ३ महिना थप औषधी खाँदा पनि उहाँको खकार किटाणू पोजेटिभ नै देखियो।

औषधीले खासै काम नगरेपछि थप एक पकट जिन एक्स्र्पट गर्नको लागि अनुरोध गरेँ।

उहाँहरुले मैले भने, जिन एक्स्र्पट गरेपछि औषधी बढाउने वा घटाउने थाहा हुन्छ, औषधिले काम गर्यो भन्ने जानकारी हुन्छ। त्यसै अनुरुप औषधी चलाउनुपर्छ।

मैले बारम्बार चार–पाँच पटक सम्झाएँ, ‘केन्द्रमा तपाईंको उपचार सम्भव छैन। थप उपचारको लागि वयलपाटा जानुस्।’

युवक बिरामीको नजिकको आफन्त भन्ने थाहा पाएको छु। बारम्बार सम्झाउँदा पनि उहाँले बुझ्नु भएन।

युवकले भन्नुभयो, ‘तिम्रो चेकजाँच गरेर औषधी दिने काम हो, देऊ।’

मैले भनेँ ‘अहिले औषधी आवश्यक छैन।तपाईंहरू बाहिर जानुस्। अरु बिरामी कुरेर बस्नु भएको छ।’

हामी अहिले यहाँ २ जनाले काम गरिहेका छौँ। दैनिक ८०–९० जना बिरामी ओपिडी सेवा लिनआउनुहुन्छ। बिरामीलाई चेकजाँच गर्न भ्याइनभ्याई नै हुन्छ।

मैले औषधी दिन मिल्दैन भनेपछि ती युवक (मेखराज शाही)ले भन्नुभयो, ‘मलाई सबै कुरा थाहा छ। म यहाँको स्थानीय हुँ। मेरो पावर थाहा छ? तिमीजस्ता डाक्टरलाई म हत्केलामा खेलाउन सक्छु, तिमीलाई एककलमा सरुवा गराईदिन सक्छु। हेर्दैजाउँ तिमीलाई टिक्न नसक्ने वातावरण बनाउनसक्छु। केटा लगाएर पनि ज्यान मार्न मलाई बेर लाग्दैन।’

मैले उहाँको कुरा सुनिरहेँ। अन्तिममा भनेँ, ‘तपाईंले के–के गर्न सक्नुहुन्छ, गर्नुस्। मैले आफ्नो क्षमता अनुसार उपचार गर्ने हो। अरु कुराले केही फरक पर्र्दैन।’

अरु बिरामी बाहिर कुरेर बसिरहेको हुनाले उहाँलाई बाहिर पठाए। बाहिर रहनु भएको सिस्टरहरुलाई पनि, ‘म नेकपाको नेता हुँ। मेरो पावर थाहा रै’नछ’ भन्दै जानुभएको रहेछ।

घटनापछि आफू असुरक्षित भएको र, काम गर्ने वातावरण नभएको भन्दै जिल्ला प्रशासन अधिकारी, केन्द्रका निमित्त प्रमुख, डिसपी, सम्बन्धित पालिकाका प्रमुखलाई फोन सम्पर्क गरेर जानकारी दिएको छु।

जिल्ला प्रशासन अधिकारीले उहाँ प्रकाउ गर्न आदेश दिएको भन्नुभएको थियो। तर, अहिलेसम्म पक्राउ परेको थाहा पाएको छैन। हेरौँ उहाँहरुले थप के गर्दै जानुहुन्छ।

कोरोनाको महामारीमा आफ्नो ज्यान जोखिममा राखेर बिरामीको सेवामा दिनरात लागिपरेको छु। तर, बिरामीबाट नै दुव्र्यवहार अनि ज्यान मार्ने धम्की दिँदा मन दुख्दो रहेछ।
(कोल्टी  प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा.राजुराज जैसीसँग  हेल्थपोस्टकर्मी पुष्पराज चौलागाईंले गरेको  कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय