प्रदेश ५ मा भोलीबाट समुदायस्तरमै कोरोना परीक्षण थालिने

समुदाय स्तरमा कोरोना सक्रमण भए नभएको पत्ता लगाउनका लागि प्रदेश ५ सरकारले अधिक जनसम्पर्क हुने स्थानमा रहने व्यक्तिको पिसिआर परीक्षण सुरु गर्ने जनाएको छ ।

त्यसरी परिक्षण गर्नका लागि प्रदेश ५ का ६ जिल्लाबाट स्वाब संकलन गरिने प्रदेश ५ का सामाजिक विकास मन्त्रालयले जनाएको छ। परीक्षण भोलि ९मंगलबार० देखि सुरु हुनेछ ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले कोभिड(१९ महामारीको प्रभाव समुदायस्तरसम्म फैलिएको वा नफैलिएको पत्ता लगाउनका लागि अधिक जनसम्पर्क हुने स्थानमा रहेका व्यक्तिबाट नमूना संकलन गरिने जानकारी दिए।

नमूना संकलन बैंक तथा वित्तीय संस्था, अत्यावश्यक सामग्री बिक्री वितरण गर्ने पसल, स्वास्थ्यकर्मी र जनसमुदाय स्तरका १ हजार २ सय व्यक्ति रहनेछन्।

नमूना संकलन गर्ने जिल्लामा अर्घाखाँची, नवलपरासी पश्चिम, रूपन्देही, बर्दिया, कपिलवस्तु र दाङ रहने मन्त्री बरालले बताए। यसबाट समुदायस्तरमा जोखिमको स्तर जानकारी हुने मन्त्रीको तर्क छ ।

त्यसरी आउने तथ्यांक र सूचनाले प्रदेश सरकारलाई आगामी दिनमा महामारी न्यूनीकरण र महामारीले उत्पन्न गरेको प्रभावलाई यथोचित सम्बोधन गर्न आवश्यक योजना बनाउनसमेत सहयोग पुग्ने उनले बताए।

प्रदेश ५ मा ४ हजार ९९ जना कोभिडबाट संक्रमित भएकोमा ३ हजार ७ सय ७१ जना निको भई घर फर्किइसकेका छन्। प्रदेशमा ३ सय १५ जना आइसोलेसनमा उपचार गराइरहेका छन् भने १३ जना संक्रमितको मृत्यु भइसकेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय