‘आफैंदेखि थाकेँ, समायोजनदेखि थाकेँ’

रेखा बिक

सलार्हीको सौरेना स्वास्थ्य चौकीमा अनमी हुन्, रेखा बिक।

‘कर्मचारी समायोजन’को लहरोमा नाम पाँचथरको चुम्लेवा गाउँपालिकामा गाँसियो। अर्थात् पालिकाको स्वास्थ्यचौकीमा उनको पदस्थापन भयो।

तर, उनी त्यहाँ जान सक्दिनन्।

कारण उनको एउटा खुट्टाले काम गर्दैन। हिँड्नका लागि खुट्टामा टेको लगाउनुपर्छ।

विकले धेरैपटक ‘गुनासो निवेदन’ दर्ता गरिसकेकी छिन्।

मन्त्रालयका कोठा–कोठ धेरै चाहारीसकेकि छिन्।

तर, कसैले उनको केही गुनासो सुनेको छैन, सुन्न चाहेको पनि छैन।

पाँचथर होइन, उनी चाहन्छिन् मोरङ कानेपोखरी गाउँपालिका। किनकि उनलाई त्यही घरपायक पर्छ।

सरकारले कर्मचारी समायोजन गर्नुपछिको एउटा मर्म के थियो भने, ‘कर्मचारीहरु पनि आफूलाई पायक पर्ने ठाउँमा परुन्, स्थानीय वा संघीय सरकारलाई पनि कर्मचारीको बाँडफाँड समानुपातिक होस्।’

यद्यपि त्यसका लागि तमाम शर्त र आधारहरु तय गरिएका छन्।

गत बर्षमा भएको समायोजनमा पहिलो पटक उनलाई फार्जिलमा नै राखियो।

उनी पहिलो पटक उनले मन्त्रालयमा घरपायक पर्ने ठाउँमा पदस्थापन गर्नको लागि गुनासो दर्ता गरेकी थिइन।

मन्त्रालयले गाउँपालिकाको सिफारिस लेर आएपछि समायोजन गरिदिने आवश्वासन दिएको थियो।

त्यसै अनुरुप उनी गाउँपालिको सिफारिस लिएर मन्त्रालय पुगिन्। तर दोस्रो पटक समयोजन हुँदा पाँचथरको चुम्लेवा गाउँपालिकामा पदस्थापन भयो।

‘तर, गुनासो लिएर पटक–पटक जाँदा पनि मेरो समस्या बुझिदिने कोही भएन’ हेल्थपोस्टसँग उनले भनिन्, ‘पहाडमा हिँड्नका लागि मेरो खुट्टाले साथ दिदैँन। एक खुट्टाले काम गर्दैन।’

बुढाबुढी, अशक्त, अपांगता भएका, साना बाच्चा भएका महिलालाई राज्यले नै पायक पर्ने ठाउँमा समायोजन गर्ने नीति पनि छ।

‘घर सिढीँको चढ्नका लागि त, मलाई धौधौ पर्छ, खुट्टामा टेको लगाउनुपर्छ। पहाडको त्यो उकालो–ओरालो कसरी गर्नु?’

उनले मन्त्रीलाई भनिन्। मन्त्रलयका ‘हाकिम’हरुलाई पनि भनिन्। तर, कसैले सुनेन।

‘कसैको मन पग्लिएन’ उनले भनिन् ‘आफैंदेखि थाकेँ, समायोजनदेखि थाकेँ।’

अहिले उनी जुन ठाउँमा छिन्, त्यहाँ पनि उनलाई मानसिक दबाव छ।

घुमाईफिराई अरु कर्मचारीहरु उनलाई समायोजन गरिएकै ठाउँमा जाओस् भन्ने चाहन्छन्।

‘यहाँ तपाईंलाई तलव खुवाउन सक्दैनौँ भन्छन्। समायोजन गरेकै ठाउँमा जानुस् भन्छन्’ हेल्थपोस्टसँग उनले भनिन् ‘सबैले यसैगरी हेप्न थालेका छन्।’

मोरङको कानेपोखरी गाउँपालिका पद उनको पद खाली छ। तर, पनि त्यहाँ पदस्थापन गरिएको छैन।

धेरैजसो कर्मचारी समायोजन भएर आआफ्नो ठाउँमा गइसकेका छन्।

अहिले उनलाई एकातिर परिवारको दबाव छ, अर्काेतिर जागिरको।

परिवारले भन्छन्, ‘सबै मान्छे मिलाएर गइसके, तँ किन त्यहीँ बसेकी, कि जागिर छोड्, कि मिलाएर यतै आइज।’

सरकार भन्छ ‘जहाँ पदस्थापना भएको छ, त्यहीँ जा।’

उनी भन्छिन् ‘अब के गर्नु? एकातिर खुट्टा छैन। अर्काेतिर परिवार छ। कति संघर्ष गरेर खाएको जागिर हो। कसरी छोड्नसक्छु?’

चार वर्षदेखि उनी घर परिवार देखि टाढा बसेर जागिर खाइरहेकी छिन्।

एकपटक सबै कर्मचारीको समायोजन भएको र त्यसमा चित्त बुझ्न नसेका केही संख्याको गुनासो सम्बोधन हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका सह–सचिव रधुराम विष्ट बताउँछन्।

कोरोना भाइरस (कोभिड १९) संक्रमण रहेसम्म हाल कार्यरत स्थानमै रहनको लागि मन्त्रालयले आग्रह गरेको उनले बताए।

‘कर्मचारीले आफूलाई पायक नहुजेञ्लसम्म समायोजन नटुगिंएको भनिरहन्छन्’ सह–सचिव विष्टले भन्छन्, ‘उहाँहरुलाई जब चित्त बुझदैन तबसम्म विभिन्न गुनासो आइरहन्छ।’

सबैको एकपटक समायोजन भएको उनले दाबी गरे। केही कर्मचारीको गुनासो अझै पनि सम्बोधन हुन नसकेको सहसचिव विष्टले स्वीकार गर्छन। समायोजनले गर्दा मर्कामा परेका १ हजार ५ सयको हाराहारीमा अझै गुनासो सम्बोधन हुन नसकेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय