‘फेससिल्ड’ भित्र लुकेको डाक्टर फेस

पुष्पराज चौलागाईं/काठमाडाैं
प्रकाशित
२०७७ साउन ४ गते १८:२९

डा. रोशिना थापा

पेसाले उनी डाक्टर हुन्।

डाक्टर भन्नासाथ पिपिई लगाएर कोरोना उपचारमा खटिइरहेको एउटा चित्र आउँछ।

हुन पनि उनका अग्रज एवं दौतरीको दैनिकी यस्तै छ।

तर डा. रोशिना थापा यो उपचार गर्नेको भीडबाट अलि पर र यिनै सहधर्मीको सेवा–कामलाइ प्रभावकारी पार्ने र जीवन बचाउने अभियानमा छिन्।

विश्वमा अंग्रेजी नयाँ वर्षको ह्याङओभर नसकिँदै कोभिड–१९ को पारो चढ्न थालिसकेको थियो। चीन, अमेरिका, युरोपेलीलगायत देशमा कोरोना भाइरस प्रभावबारे समाचार बेग्रल्ती आइसकेका थिए।

नेपाली पात्रोअनुसार गएको चैत पहिलो साता थियो। महामारी त्रास बढिरहेको थियो तर नेपालमा यो सुरु भइहाल्दा के गर्ने भन्ने तयारी थिएन।

चिकित्सा क्षेत्रका अग्रज र दौंतरी यो प्रश्न गरिहन्थे। सामाजिक सञ्जालमा गरमागरम बहस हुन्थ्यो। तर, रोशिना यो बहससँगै आफैंलाई प्रश्न गरिरहेकी थिइन्– ‘हामीले केही गर्न सकिन्नँ?’

संक्रमण बढ्दै जाँदा चिकित्सक र स्वास्थ्यकर्मी प्रभावित बनिरहेका थिए। तर, धेरै देशमा एउटै समस्या देखिएको थियो– ‘व्यक्तिगत सुरक्षा सामग्र अभाव’। यस्ता समाचारले रोशिनाको मन बेचैन बनाइरहेको थियो।

कोरा क्लिनिकल प्राक्टिभन्दा मेडिकल शिक्षा, अभियान र अनुसन्धानमा रुची राख्ने डा. रोशिना पनि कोभिड–१९ सम्बन्धी व्यक्तिगत सुरक्षा सामग्री कसरी बनाउने भन्ने अनुसन्धानमा जुटिन्।

विश्वका शक्तिशाली राष्ट्रहरूमा कोभिड–१९ ले आतंक मच्चाइरहँदा यसको प्रभाव नेपालमा झनै ठूलो पर्छ भन्ने बुझाइ उनको मनमा त्यतिबेलै बनिसकेको थियो।

विकसित मुलुकमा ‘टेक्नोलोजी’ को उच्चतम प्रयोग गरेर सुरक्षा सामग्री बनाइरहेको तथ्य ‘रिसर्च’ बाट फेला पारिन्।

‘व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्री (पिपिई) उत्पादनका लागि नेपालमा कस्तो–कस्तो ‘टेक्नोलोजी’ छ?’

उनी पुनः अर्को रिसर्चमा जुटिन्।

इन्टरनेटमार्फत विभिन्न माध्यमबाट उनले आफ्नो खोज अघि बढाइन्।

यही क्रममा उनले एउटा प्रविधि भेटिन– ‘थ्रिडी प्रिन्टर’।

‘थ्रिडी प्रिन्टर’ एउटा मेसिन हो, त्यहाँबाट पहिल्यैदेखि विभिन्न उपकरण बन्ने रहेछन्।

चिकित्सा क्षेत्रमा अध्ययन गरिरहँदा पनि यस मेसिनबारे डा. रोशिनालाई थाहा थिएन।

तर, कोभिड–१९ का कारण भेटिएको यो मेसिनले गर्ने काम उनको समाजसेवाको नयाँ पाइला बन्यो।

नेपालमा यसको प्रयोगबारे उनले अध्ययन थालिन्। नेपाल भर १०० भन्दा बढी रहेको र लकडाउनमा बेलमा तत्कालै काम गर्न सकिने १० लगभग  प्रिन्टर भएको पत्ता लगाइन्। मेकानिकल इन्जिनियर कति छन्? भन्ने खोज्दै गर्दा उनले एकजना मेकानिकल इन्जिनियर भेटिन्।

रामचन्द्र थापा ।

थापाले अटोस्कोप, ‘थ्रिडी प्रिन्टर’ मास्क, विदेशमा बनाएको अनुभव लिइसकेका रहेछन्।

उनलाई झनै सहज भयो। र, उनीहरूको यात्रा त्यहीँबाट सुरु भयो। आ–आफ्नो अनुभव र लक्ष्यबारे चासो भएपछि उनीहरू ‘फेससिल्ड’ बनाउन लागे।

चैतबाट निरन्तर अध्ययनमै जुटेकी डा. रोशिनाले केही दिनमै यसलाई ठोस कार्यान्वयनमा लैजान सुरु गरिन्। एउटा थ्रिडी प्रिन्टरबाट १ सयवटा ‘फेससिल्ड’  निकालनको लागि मेकानिकल इन्जिनियर  मनिष अर्यालको साथ उनले लिइन।

नेपालमा अझै लकडाउन सुरु भएको थिएन।

विश्वमा द्रुत गतिमा संक्रमित बढिरहेका थिए। नेपालमा पनि यसको जोखिम उच्च थियो।

सरकारले लकडाउन सुरु गर्नुअघि नै उक्त प्रिन्टरबाट सयवटा फेससिल्ड उत्पादन गरेर बाँडेको उनले सुनाइन्। ‘सुरुमा हामीले घरबाट सुरु ग-यौंं। त्यसपछि हामीले विभिन्न अस्पतामा बाँड्यौं।’

सुरुवाती समयमा मानिसलाई यो प्रिन्टरबारेमा बुझ्न र बुझाउनसमेत गाह्रो भएको अनुभव उनीसँग छ।

सुरुमा आफ्नै गोजीबाट २० हजार रुपैयाँ खर्च गरेर सयवटा फेससिल्ड बनाएको उनले बताइन्। थ्रिडी प्रिन्ट धेरै महँगो भएकाले र लकडाउन कडाइसाथ लागू भएकाले सु

रुवाती काममा आफूलाई असहज भएको उनको अनुभव छ।

अहिले रोशिनाहरूको अभियान सुद्धृढ हुँदैछ। यति ठूलो महामारीमा एउटा चिकित्सकले थालेको अभियानले यति ठूलो भरथेग पु¥याउँदा सरकार उनीहरूको कामप्रति कृतज्ञ बन्न सकेको छैन।

जब सहयोगी मनहरुले पछ्याउन थाले

सुरक्षा सामग्री हाहाकारबीच रोशिनाको यो अभियान चिकित्सा समुदायमा आशाको दियो बनेर उदायो।

केही अस्पतालमा यसको प्रयोग सुरुवातसँगै सहयोगी मनले त्यो दियोमा तेल थप्न थाले। सहयोगी मनहरुले पछ्याउन थाले।

डा. रोशिनाले मेडिकल सपोर्ट र कोअर्डिनेटर थापाको सहयोगले काम सहज बन्दै गयो। सुरुमा एउटै प्रिन्ट गर्न तीन/चार घन्टा लाग्ने भए पनि सोचेजस्तो काम गर्न उद्योगै खोल्नुपर्ने देखियो।

उनीहरूले हरेस खाएनन्।

१ सयबाट सुरु भएको उनीहरुको यात्रा अहिले १५ हजारसम्म उत्पादन गर्न सक्नेमा पुगेको छ।

प्रोटेक नेपालको नाम
कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्य सामग्री अभाव भइरहँदा उनीहरूले फेससिल्ड उत्पादनमात्र गरेनन्, विभिन्न संघसंस्था र कार्यालयमा निःशुल्क उपलब्ध गराउन थाले।

यो अभियानमा २५ भन्दा बढी सहयोगी संस्था जोडिइसकेका छन्।

अनि उनीहरूले ‘प्रोटेक नेपाल’ को नाम दिए।

व्यक्तिबाट संस्था बन्यो।

महामारी चपेटामा परिरहेका बेला सहयोगी मन झनै उत्साही भएर सहभागी हुन थाले। सुरु–सुरुमा स्वास्थ्य सुरक्षाका सामग्री अभाव भइरहेको अवस्था ध्यानमा राख्दै उनीहरू सेवा विस्तारतर्फ लागे।

अहिले बालाजुमा दुईवटा उद्योगबाट फेससिल्ड उत्पादन भइरहेको डा. थापाले सुनाइन्। उनका अनुसार अहिले पनि १५ जनाले रोजगारी पाएका छन्।

उत्पादन र मागको चाप बढेको समयमा ३० जनासम्म कामदार खटिएका थिए।

सरकारले सहयोग गरेन
महामारीको मुखमा भएको बेलामा कोरोनासँग जुध्न उनीहरूले ल्याएको यो कार्यक्रमबारे तीव्र प्रचार भइरहेको छ।
‘यसको अवधारणा किन ल्याइयो?’

‘हामी यो विषयका व्यावसायिक मान्छे हैनौं, हामीसँग इच्छा थियो तर सुरुवात निकै कठिन थियो किनकि हामीसँग कच्चापदार्थ पर्याप्त थिएन,’ डा. रेशिना भन्छिन्, ‘पछि धेरै कुरा जुट्दै गयो।’

अहिले रोशिनाहरूको अभियान सुद्धृढ हुँदैछ। यति ठूलो महामारीमा एउटा चिकित्सकले थालेको अभियानले यति ठूलो भरथेग पु-याउँदा सरकार उनीहरूको कामप्रति कृतज्ञ बन्न सकेको छैन।

‘हाम्रो कामको बारेमा सरकारसमक्ष कुरा पनि राख्यौं तर कुनै सहयोगको तत्परता पाइएन,’ उनको आत्मविश्वास जगाउँदै भन्छिन्, ‘र, हामी आफैंले पैसा हालेरै काम जारी राख्यौं।’

२० लाखको सुरुवाती पुँजीबाट ५ हजार फेससिल्ड र ५ हजार गगल्सको लक्ष्य लिएर थालेको डिजाइन उत्पादन र व्यवस्थापनका लागि जेनरटेक्नोलोजी तथा प्रो मेकमाइन्ड एण्ड इन्जिनियार्रिङ कम्पनीको लगानी र अगुवाईमा प्रो—टेकनेपाल परियोजना सुरु भएको थियो ।

अभियानसँग देशभरका ५० भन्दा बढी स्वयंसेवक जोडिएका छन्। जसमा चिकित्सक, जनप्रतिनिधिसमेत छन्।‘सरकारले सहयोग गरेन भनेर चुप बसेको भए अझै यो काम सम्पन्न गर्न गाह्रो हुने रहेछ,’ उनी सुनाउँछिन्।

राष्ट्रिय तहमा पहिला काम हुन थालेपछि अहिले सरकारका केही अधिकारीहरूले आफ्नो कामबारे चासो लिन लाएको उनको अनुभव छ।

‘प्रो-टेकनेपाल’ नामक संस्था केही समयमै दर्ता गरेर अझै प्रभावकारी काम गर्दै अघि बढ्ने उनीहरूको लक्ष्य छ।

‘सफा मन भएका दाताहरू पनि हुनुहुँदो रहेछ,’ काम गर्दै जाँदाको खुसी साट्न खोज्दै डा. थापा भन्छिन्, ‘यो प्रोजेक्टका लागि धेरै डाक्टर आफैं डोनर बन्नुभएको छ।’

‘रेडजोन’ मा रहेकालाई प्राथमिकता
काठमाडौंका २८ अस्पतालमा कोभिड–१९ महामारीबीच काम गर्ने फ्रन्टलाइनरलाई सुरुवाती चरणमा फेससिल्ड वितरण गरियो। पछि उनीहरूको संक्रमण दर, सामग्रीको उपलब्धताजस्ता आधारमा आफैं ‘रेडजोन’ निर्धारण गर्ने र सामग्री सहयोग गर्न थाले।

वास्तविक फ्रन्टलाइनरसम्म सामग्री पुगोस् भन्नका लागि स्थानीय स्वयंसेवक पहिचान गर्न रोशिनाको अभियानलाई नेपाल चिकित्सक संघले संस्थागत रूपमै सहयोग ग-यो।

विभिन्न सहयोगी मन र आफ्नो सुरुवाती पहलका कारण यो काम गर्न आफू सक्षम भएको उनको भनाइ छ।

‘वैशाखतिर ६ सयथान फेससिल्ड बाँड्यौं,’ उनले भनिन्, ‘संस्थाहरूसँग मिलेर झन्डै ३ हजारथान त्यही बेलामा बाँड्यौं।’

महामारी रेडजोनमा परेका जिल्लामा भएका फ्रन्टलाइनर नर्सहरूलाई ‘फेससिल्ड’ बाँडेको उनले बताइन्। अहिलेसम्म १३ देखि १४ हजार फेससिल्ड निःशुल्क बाँडिसकिएको छ।

त्यस्तै, महामारी रेडजोनमा परेका जिल्लामा भएका फ्रन्टलाइनर नर्सहरूलाई ‘फेससिल्ड’ बाँडेको उनले बताइन्। अहिलेसम्म १३ देखि १४ हजार फेससिल्ड निःशुल्क बाँडिसकिएको छ।

मनकारी डा. थापा
डा. थापाले डेड वर्षअघि काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस सकिन्। सामाजिक अभियानसँगै उनी अहिले एमडी पढाइको तयारीमा छिन्।

काठमाडौं पेप्सीकोलामा जन्मिएकी रोशिनाले ट्रिनिटी कलेज डिल्लीबजारबाट प्लस टु र काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरिन्।

ब्याचलर सकेको एक वर्ष उनले महाराजगन्जस्थित शिक्षण अस्पतालको ‘इमर्जेन्सी’ मा काम गरिन्। त्यहाँको कोर्स सकाएर बसेको केही समयमा नै लकडाउन भयो।

खासमा डा. थापा एक दशक अघिदेखि नै सामाजिक काममा सक्रिय छिन्।

भूकम्प, बाढी, पहिरो हुँदै कोभिड–१९ महामारीसम्म आइपुग्दा विभिन्न प्रकारका सामाजिक काममा नै आफूलाई सक्रिय बनाइरहेकी छिन्।

आगामी दिनमा धेरैभन्दा धेरै संघसंस्थासँग जोडिएर देशैभरि देखिने गरी काम गर्ने उनको लक्ष्य छ। फ्रन्टलाइनमा काम गरेका २ हजारभन्दा बढीलाई फेससिल्ड र मास्क पनि बाँडिरहेकी छिन्।

‘रेडजोड’ मा रहेका फ्रन्टलाइनर्सलाई लक्ष्य गरी काम अघि बढाइएको उनले बताइन्।

फेससिल्डका फाइदा
चिनियाँ कच्चापदार्थबाट बन्ने फेससिल्ड पुनः प्रयोग गर्न मिल्ने छ। यो अटोक्लेप गर्न सकिने, प्लास्टिक पनि पुनः प्रयोग गर्न सकिने, स्पन्ज (फोम) मा जस्तो इन्फेक्सन यसमा नबढ्ने विशेषता छ।

नेपालमै बनेको र नन–रियुजेबल भएकाले यसको प्रयोग बढाउनुपर्नेमा उनले जोड दिइन्। यसको उत्पादनबाट रोजगारी सिर्जना भएको उनको भनाइ छ।

‘मानिसले कुनै विजनेस पो हो कि भनेर भनिरहेका छन्। तर, हाम्रो यो विशुद्ध नन–प्रोफिट (गैरनाफामूलक) अभियान हो, र उत्पादित सामग्री पनि निःशुल्क बाँडिरहेका छौं,’ उनले भनिन्।

डा. रोशिनाको सार्थक अभियानलाई देखेर अग्रज चिकित्सकहरूले उनलाई ‘महामारीले जन्माएकी समाजसेवी चिकित्सक’ भन्न थालिसकेका छन्।

कुनै संस्थाले लिँदा त्यसमा लाग्ने खर्चमात्र लिने गरी ‘नन–प्रोफिट वे’ मा अघि बढेको उनले बताइन्। केही समयमै आफूहरूले ‘प्रोटेक नेपाल’ लाई ‘नन–प्रोफिट अर्गनाइजेसन’ का रूपमा दर्ता गर्ने योजना रहेको उनले बताइन्।

साथै, अहिले उनीहरूले कोभिड–१९ कै रोकथामका लागि चस्मा पनि निकालेका छन्। राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा अहिले कोभिड–१९ लाई आवश्यक स्वाब स्टिक पनि बनाउने तयारी भइरहेको उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय