पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले थाल्यो स्नातकोत्तरको पढाइ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी/एमएस (स्नातकोत्तर) तहको पढाइ सुरु गरेको छ। खुलातर्फका १२ र सरकारी तर्फबाट पाँच जना गरी १७ डाक्टरको पहिलो ब्याचको पढाइ थालिएको प्रतिष्ठानका उपकुलपति प्राडा. बुद्धिबहादुर थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान तथा शुक्रराज ट्रपिकल अस्पतालसँगको समन्वयमा विभिन्न ६ विभागमा पढाइ हुने उनले जानकारी दिए। उपकुलपति प्राडा. थापाका अनुसार जनरल सर्जरी चार, प्रसूति तथा स्त्रीरोग चार, हाडजोर्नी दुई, जनरल मेडिसिन दुई, बालरोग दुई, एनेस्थेसियोलोजी तीन गरी १७ सिट स्वीकृत भएको छ।

‘निकै लामो संघर्षपछि प्रतिष्ठानमा पढाइ सञ्चालनमा आएको छ,’ उपकुलपति प्राडा थापाले भने, ‘प्रतिष्ठानको उद्देश्य अनुसार अस्पताल सञ्चालन, जनशक्ति उत्पादन र अनुसन्धानमूलक कार्यमा निरन्तरता दिनेछौं।’

पढाइ सञ्चालन अनुमति पाएपछि प्रतिष्ठानले गत वर्ष पुस ७ गते भर्नाका लागि एक महिने सूचना निकालेको थियो। प्रतिष्ठानले फागुन १० गते प्रवेश परीक्षा लिए पनि प्रश्नपत्र बाहिरिएपछि दोस्रोपटक परीक्षा लिनुपरेको थियो। प्रश्नपत्र बाहिरिएको भन्दै डाक्टरहरुले प्रवेश परीक्षा नै वहिष्कार गरेका थिए।

फागुन २५ गते लिइएको पुनः परीक्षाबाट आठ सय ४० मध्ये १७ जना छनोट भएका हुन्। बिहीबार सबै डाक्टरलाई अभिमुखीकरण गरेर स्वागतसमेत गरिएको छ।

आइतबारदेखि सबै डाक्टरले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आ–आफ्नो ड्युटी सुरु गर्नेछन्। हाल प्रतिष्ठानको प्राज्ञिक जनशक्तिमा प्राध्यापक १०, सहप्राध्यापक १३, सहायक प्रध्यापक आठ र लेक्चरर ४६ गरी ७७ जना छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय