गण्डकी सरकारले खोल्यो सरुवा रोग अस्पताल

गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्याएको छ। पोखरा–३० मोहरियास्थित लेखनाथ लायन्स सामुदायिक अस्पतालको स्वामित्व ग्रहण गरेर प्रदेश सरकारले सरुवा रोग अस्पताल बनाएको हो।

अस्पताल व्यवस्थापनले बिहीबार आयोजित कार्यक्रमका बीच प्रदेश सरकारलाई स्वामित्व हस्तान्तरण गरेको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमानाथ पौडेल र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले १० बुँदे सम्झौता पत्र साटासाट गरे।

सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष पौडेल र प्रदेश सरकारका तर्फबाट सामाजिक विकास मन्त्रालयका निमित्त सचिव तेजप्रसाद काफ्लेले हस्ताक्षर गरेका छन्।

सम्झौतामा अस्पतालको कुनै एउटा कक्षलाई लायन्सको नामबाट नामाकरण गर्न सकिने, अस्पतालको चल/अचल सम्पत्तिको स्वामित्व प्रथम पक्ष (प्रदेश सरकार) ले ग्रहण गर्ने, सम्झौता कार्यान्वयनका क्रममा कुनै समस्या भए प्रथम पक्षले निर्णय लिनेसहित १० बुँदा छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशले स्वामित्व ग्रहण गरे पनि तत्काल अहिलेकै कर्मचारीबाट अस्पतालको सेवा उपलब्ध हुने बताए। उनले भने, ‘भोलिका दिनमा पद सिर्जना गरी लोकसेवा आयोगबाट पदपूर्ति नहुँदासम्म उहाँहरूले नै काम गर्नुहुन्छ, काम गरिरहेकैले पनि लोकसेवाबाट नाम निकाल्न सक्नुहोला। आवश्यकता अनुसार कर्मचारी करारमा पनि राख्न सकिन्छ।’

प्रदेश सरकारले अस्पताल विकास समिति गठन नगर्दासम्म अहिलेकै सञ्चालक समितिबाट काम हुने जानकारी पनि मुख्यमन्त्री गुरुङले दिए। ‘मूलभूत कुरा सरकारले भरथेग गरेर व्यवस्थापन राम्रो भयो भने अस्पताल राम्रो चल्छ,’ उनले भने, ‘व्यवस्थापन त्यही क्षेत्रका बुद्धिजीवीलाई दिनुपर्छ।’

मुख्यमन्त्री गुरुङले अस्पतालको भौतिक संरचना तयार भए पनि प्रभावकारी सेवाका लागि प्रदेश सरकारले जिम्मा लिने जानकारी दिए। उनले प्रदेशका जनतालाई सर्वसुलभ, आधुनिक र व्यवस्थित सेवा सञ्चालन गर्न सामूहिक रुपमा अगाडी बढ्ने प्रतिबद्धता जनाए।

२०६० सालको फागुनमा महायज्ञ गरेर डेढ वर्षपछि सञ्चालनमा ल्याइएको उक्त अस्पतालमा हाल ६० शड्ढया छन्। अस्पतालमा सबै गरेर ४२ कर्मचारी छन्। ती सबै कर्मचारीलाई करारमा नियुक्त गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय