हाम्रो आन्दोलन सरकारविरुद्ध नभई नीति विरुद्ध हो : औषधी उत्पादक संघ

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ साउन १ गते १७:३६

नेपाल औषधी उत्पादक संघले आफ्नो आन्दोलन देशलाई औषधीमा आत्मनिर्भर बनाउनका लागि भएको बताएको छ।

आइतबार पत्रकार सम्मेलन गरी संघले सरकारको नीति स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकता दिने भए पनि बाह्य उत्पादलाई प्राथमिकता दिइएको पाइएकाले आफ्ना उद्योगहरू धरासायी बन्दै गएको उसको आरोप छ। केहि औषधीको उत्पादनमा नेपाल आत्मनिर्भर भइसकेको अवस्थामा सरकारले बाहिरबाट आयात गरिरहेको भन्दै संघले सरकारको विरोध गरेको हो।

सरकारको नीति स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भनिए पनि व्यवहारमा कार्यान्वयन नभएको उसको आरोप छ। ‘नेपालभित्र उत्पादन हुने औषधी बाहिरको भन्दा सस्तो पनि हुन्छ’, संघका अध्यक्ष जी नारायण बहादुर क्षत्रिले भने, ‘औषधी उत्पादक संघको आन्दोलन सरकारका विरुद्ध नभई नीतिका विरुद्ध हो।’

‘हामी औषधी पुगाउन सक्षम छौं भनिरहेका छौं। तर, सरकार त्यो कुरा सुन्न तयार छैन। जसले गर्दा स्वदेशी उद्योग समस्यामा परेका छन्। बाहिरबाट औषधी आउँदा उपभोक्ता पनि चर्को मूल्य तिर्न बाध्य बनेका छन्’, उनले भने।

कोरोना भाइरसको महामारीको समयमा बजारभर गुणस्तरहीन स्यानिटाइजर आएको भन्दै सरकारले गुणस्तर परीक्षण गरेर मात्रै बिक्री वितरण गर्ने व्यवस्था गर्नुपर्ने क्षेत्रीले बताए।

‘स्वदेशमै उत्पादन हुने औषधीको आयातमा रोक लगाई सरकारले स्वदेशी उद्योगको चावी बुझाउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ। बिना परीक्षण स्यानिटाइजरको विक्रि वितराण् गर्न पाइदैन, बरु अनुमति र प्रोत्साहनका लागि सहयोग गर्नुपर्छ।’

संघले औषधी अभाव महशुस हुन दिन ठूलो भूमिका खेलेको जनाएको छ। संघले स्यानिटाइजरमा नेपाली औषधी उद्योग आत्मनिर्भर बनिसकेको दावी गरेको छ।

३० वटा उत्पादनले मात्रै कच्चा पदार्थ आयात गर्ने निर्णय कार्यान्वयन हुनुपर्ने, स्वदेशी उद्योगलाई उत्पादन अनुमति र प्रोत्साहन गर्नुपर्ने, स्वदेशी औषधी र उद्योगलाई प्राथमिकता दिनुपर्ने, समयमै औषधी प्रमाणिकरण गरिनुपर्ने, आयातलाई भन्दा स्वदेशी औषधीको प्रयोग गर्ने वातावरण सिर्जना गर्नुपर्नेलगायतका माग उनीहरूका छन्।

औषधी उत्पादन संघ असार २९ गतेदेखि माग सम्बोधनका लागिभन्दै आन्दोलित छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय